१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कुखुरा अनुसन्धान इकाईको स्तरोन्नति गरी राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम

शंकर आचार्य

पर्सा — कृषि अनुसन्धान निर्देशनालय परवानीपुर मातहतमा सञ्चालित कुखुरा अनुसन्धान इकाई अब राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमको रुपमा स्तरोन्नति भई सञ्चालन हुने भएको छ । संघीय राजधानी काठमाडौंको खुमलटारमा सञ्चालनमा रहेको यो कार्यक्रम आर्थिक वर्ष २०७९/०८० देखि परवानीपुरमा स्थानान्तरण गरी सञ्चालन हुने भएको हो । 

कुखुरा अनुसन्धान इकाईको स्तरोन्नति गरी राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम

विसं. २०१८ सालमा तत्कालीन कृषि विभागअन्तर्गत सेन्ट्रल ह्याचरीको रुपमा स्थापित भएको यो ह्याचरीको उद्घाटन तत्कालीन राजा महेन्द्र शाहले गरेका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि सेन्ट्रल ह्याचरी तत्कालीन क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको मातहतमा रहने गरी कुखुरा अनुसन्धान इकाई नामकरण गरी सञ्चालनमा रहेको थियो ।

६ दशक अनवरत रुपमा सञ्चालनमा रहेको यो ह्याचरीले देशका विभिन्न भेगका किसानलाई कुखुरा, हाँस, टर्की, बट्टाईलगायत पन्छीका चल्ला निःशुल्क तथा सशुल्कसमेत बिक्रीवितरण गर्दै आएको छ । गत वर्ष कृषि अनुसन्धान परिषद् (नार्क) ले कुखुरा अनुसन्धान इकाईलाई राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमको रुपमा स्तरोन्नति गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कुखुरा अनुसन्धान इकाईका वैज्ञानिक अजीतकुमार झाका अनुसार आउदो साउन १ देखि स्वायत्त कार्यालयको रुपमा राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम सञ्चालनमा आउने छ । ‘अब यो कार्यक्रमको स्वायत्त कार्यालय, बजेट तथा कर्मचारी समेत हुनेछन्,’ उनले भने, ‘त्यसपछि गिरिराज, न्यु हेम्पसायर, अस्ट्रेलो जातका कुखुराहरू, टर्की, बट्टाईलगायत ग्रामीण पन्छीहरूमा देशव्यापी अनुसन्धान र प्रसार गरिने छ ।’

प्रकाशित : असार १, २०७९ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?