१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

भारतबाट थप ३ चेली स्वदेश फर्काइए

शंकर आचार्य

पर्सा — भारतको २ वटा अर्केष्ट्राबाट तीन महिनाअघि उद्धार गरिएका १० नेपाली चेलीहरुमध्ये थप ३ चेलीलाई स्वदेश फिर्ता ल्याइएको छ । माइती नेपाल वीरगन्ज आवधिक गृह र पर्सा प्रहरीको संयुक्त टोली भारतको मोतिहारी पुगेर ३ चेलीहरुलाई बिहीबार साँझ वीरगन्ज फिर्ता ल्याएको हो ।

भारतबाट थप ३ चेली स्वदेश फर्काइए

माइती नेपाल वीरगन्ज आवधिक गृहकी निमित्त प्रमुख गोमा पौडेलका अनुसार, बिहीबार फिर्ता ल्याइएका चेलीहरुमध्ये काभ्रेकी १४ वर्षीया, सिन्धुली र झापाका १८/१८ वर्षीया किशोरीहरु छन् ।

उनीहरुलाई आवश्यक प्रकृया पुरा गरेर अभिभावकको जिम्मा लगाइने पौडेलले बताइन् । उनीहरु मार्च १ देखि मोतिहारीस्थित बाल कल्याण समाजको गृहमा आश्रित थिए । तीन साता अघि पनि मोरङ र झापाका १९ वर्षीया २ चेलीहरुलाई यसरी नै स्वदेश फिर्ता ल्याइएको थियो ।

हाल फिर्ता ल्याइएका चेलीहरुलाई स्वदेश फिर्ता जान दिने मोतिहारी अदालतको आदेश पछि स्वदेश फिर्ता ल्याउने बाटो खुलेको हो । फेब्रुअरी १४ मा मोतिहारीको मुफसिलस्थित एक अर्केष्ट्राबाट नेपाल प्रहरी र भारतीय सुरक्षा फौज एसएसबीको संयुक्त टोलीले ५ नेपाली र १ बंगाली गरी आधा दर्जन चेलीको उद्धार गरेको थियो । नेपाली चेलीहरुमध्ये १ इलाम र ४ झापाका थिए । त्यसैगरी, मार्च १ मा बिहारकै पलनवास्थित २ वटा आर्केष्ट्राबाट ८ चेलीको उद्धार गरिएको थियो । तीमध्ये २ दोलखा, १/१ ओखलढुंगा र मोरङ, २/२ झापा र सिन्धुलीका थिए ।

२ फरक मितिमा उद्धार गरिएका कूल १३ नेपाली चेलीमध्ये ३ बालिग र १० नाबालिक थिए । बालिग चेलीहरु उद्धार लगत्तै स्वदेश फिर्ता ल्याइएका थिए । नाबालिकाहरु भने भारतीय कानून अनुसार सोझै नेपाललाई हस्तान्तरण गर्न नमिल्ने भएकाले उनीहरुलाई मोतिहारी अदालतको आदेशले मार्च २७ मा त्यहाको बाल कल्याण गृहको जिम्मा लगाइएको थियो ।

उद्धार गरिएका चेलीहरु ६ महिनाअघि पर्सा र बाराको ग्रामिण भेगको नाकाहरु भएर भारत पुगेका थिए । उनीहरुलाई अर्केष्ट्रा सञ्चालकहरुले आकर्षक तलब र सुविधा दिने प्रलोभन दिई आफैं नेपाल आएर आफूसँगै भारत लगेका थिए ।

यसरी अर्केष्ट्रामा पुग्ने नेपाली चेलीहरुलाई भारतकै विभिन्न स्थानमा पठाई उनीहरुको इच्छा विपरीत अशोभनीय पोशाकमा बिना पारिश्रमिक नाचगान गराई शारीरिक तथा मानसिक यातना दिएर श्रमशोषण र बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने समेत गरिन्छ ।

अर्केष्ट्रा सञ्चालकहरूले सामाजिक सञ्जालबाट तथा प्रत्यक्ष रुपमै नेपाल आएर पनि नेपाली चेलीहरुलाई आकर्षित गर्ने काम गर्छन् । भारत पुगेपछि नेपाली चेलीहरुको मोबाइल खोस्ने, कहिले रात भरि, कहिले दिन भरि विभिन्न पार्टीहरुमा नचाउने, भने जति पारिश्रमिक नदिने गरिन्छ । उनीहरुले नेपालमा आफन्तसँग कुरा गर्न खोज्दा गर्न नदिने, स्वदेश फर्केर आउन समेत नदिने, कुटपिट गर्ने, घर जाने कुरा गरेमा ज्यान मार्ने धम्की समेत दिने गरेर बन्धक बनाएर राख्छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?