सिराहाको सखुवानन्कारकट्टीमा समाजवादीका केदारनाथ र कांग्रेसकी निलम विजयी- मधेस - कान्तिपुर समाचार

सिराहाको सखुवानन्कारकट्टीमा समाजवादीका केदारनाथ र कांग्रेसकी निलम विजयी

भरत जर्घामगर

सिरहा — सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका केदारनाथ यादव पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका शत्रुघन प्रसाद साहलाई २६ मत अन्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा यादव नेकपा एमालेबाट अध्यक्ष निर्वाचित भएका थिए ।


यादव ३ हजार ४ सय ७ मत सहित विजयी भएका हुन् । कांग्रेसका साहले ३ हजार ३ सय ८१ मत प्राप्त गरे ।

गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसकी निलम यादव ३ हजार ४ सय ६२ मत सहित विजयी भएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एसका प्रमिला यादवले ३ हजार २ सय २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अनन्त पौड्यालले जानकारी दिए ।

पलिकामा कांग्रेसले २, नेकपा एसले २ र जसपाले एउटा वडा जितेको छ । वडा नम्बर १ र २ मा क्रमशः कांग्रेसका संजय कुमार यदव र तनुकलाल यादव विजयी भएका छन् ।

नेकपा एसका तर्फबाट वडा नम्बर ३ मा भोगेन्द्र यादव र वडा नम्बर ५ मा विशेश्वर प्रसाद यादव निर्वाचित भएका छन् ।

वडा नम्बर ४ मा भने जनता समाजवादी पार्टी नेपालका रमेश कुमार यादव विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्

गोलाप्रथाबाट धादिङको नीलकण्ठ-६ मा कांग्रेसका श्रेष्ठ विजयी

सरिता श्रेष्ठ

धादिङ — नीलकण्ठ नगरपालिका ६ का वडाध्यक्षका प्रत्याशीहरू दुई जनाको बराबरी मत आएपछि गोलाप्रथा गरिएको छ । गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र श्रेष्ठ विजयी भएका छन् । मतगणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठ र नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेल दुवैको बराबर ७ सय ५८ मत आएको थियो ।

वडाध्यक्षमा बराबर भए पनि ४ वटा वडा सदस्यहरूमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । नामको वर्णानुक्रमअनुसार पहिले भुपेन्द्रले गोला छनोट गर्दा विजयी भएको बताइएको छ । यो वडामा २०७४ सालमा नेकपा एमालेका उद्धव रिजाल विजयी भएका थिए । यसपटक एमाले तेस्रो स्थानमा पुगेकाे छ ।

गत वैशाख २८ गते राति नेपाली कांग्रेसका उम्मेदवारहरूलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेल प्रहरी हिरासतमा छन् भने उक्त घटनामा गम्भीर घाइते भएका कांग्रेस उम्मेदवार भुपेन्द्र श्रेष्ठ भने टाउकोको अपरेसन गरेर काठमाडौं अस्पतालमा उपचाररत रहेका छन् ।

गोला झिक्नका लागि रम्तेललाई प्रहरी हिरासतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिएको थियो भने भुपेन्द्रको तर्फबाट कांग्रेस धादिङका पार्टी सभापति रोहबर बसेका थिए ।

२८ गतेको आक्रमणमा संलग्न भएको आरोपमा ४ जना माओवादी कार्यकर्ताहरू प्रहरी हिसासतमा पुगेपछि उनीहरूले मतदान गर्न पाएका थिएनन् । ४ जनाले मतदान गर्न नपाउनु नै माओवादीलाई अभिसाप बन्न पुगेको थियो ।

गम्भीर घाइते अवस्थामा नै भुपेन्द्र एम्बुलेन्स चढेर मत हाल्न आएका थिए भने लक्ष्मणलाई भोट हालेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७९ १२:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×