कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

गलत परिणाम सुनाएपछि रौतहटको ईशनाथमा मतगणना रोकियो, दलका प्रतिनिधिले लगाए ताला

जेष्ठ ४, २०७९
गलत परिणाम सुनाएपछि रौतहटको ईशनाथमा मतगणना रोकियो, दलका प्रतिनिधिले लगाए ताला

रौतहट — निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गर्दा त्रुटि देखिएपछि भएको बिवादका कारण रौतहटको ईशनाथ नगरपालिकामा गएरातिबाटै मतगणना रोकिएको छ । अहिले ठुलो सख्यामा मतगणना स्थलमा स्थानीयबासी भेला भएका छन् । विवाद बढेपछि नेकपा (एकीकृत समाजबादी), नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिले मतगणना स्थलको कोठामा ताला लगाएका छन् ।

मतदान अधिकृतको कार्यालय इशनाथले मंगलबार राति वडा नं. ३ को मतगणना सकिएपछि मतपरिणाम सुनाउने क्रममा त्रुटि गरेपछि दलका कार्यकर्ताले बिरोध गरेका हुन् । त्यसपछि मतगणना रोकिएको हो ।

सो वडामा लोसपाका वडाअध्यक्ष रामचन्द्र राउत सहितको प्यानलले जितेको दाबी गरिएको छ । उक्त वडाको दलित महिला सदस्यमा बिजयी भएको एउटा, तर नाम अर्कोको सुनाइएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

अहिले मतगणनास्थल बाहिर ठुलो सख्यामा स्थानीय भेला भएर होहल्ला गरिरहेका छन् । निर्वाचन अधिकृत कृष्णबहादुर उप्रेतीले मतपरिणाम सार्वजनिक गर्ने क्रममा दलित महिला सदस्यको हकमा प्राविधिक त्रुटि भएको स्वीकार गरे ।

वडा नं. ३ को दलित महिला सदस्य पदकी लोसपाका उम्मेदबार कौशल्या देबी र नेकपा एमालेका गायत्री देबीको मतपरिणाम लेखाइमा त्रुटि गरे पछि बिबाद बढेको अधिकृत उप्रेतीले बताए ।

‘कम्प्यूटरमा अपडेट गर्ने साथीले त्रुटि गरेछन् । यसलाई सच्याउने प्रयास गरेका छौँ,’ उनले भने, ‘समस्या समाधान गर्न सर्वदलीय बैठक बस्न भनेका हौँ । तर सहमति हुन सकेको छैन ।’ बिबाद बढेपछि निर्वाचन अधिृकत उप्रेतीले तत्कालै निर्वाचन आयोगको कार्यालय काठमाडौँलाई जानकारी गराएका थिए ।

बिबाद मिलाउन जिल्लाबाट प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही लगायतका सुरक्षा अधिकारीको टोली ईशनाथ पुगेका छन् । तर, अहिलेसम्म बिबाद साम्य हुन सकेको छैन । लोसपाले तत्कालै मतगणना सुचारु राख्न माग गरेको छ । यहाँ लोसपाका नगर प्रमुख पदका उम्मेदबार कौशल्या देबीले अग्रता लिएकी छन् ।

बिबाद बढ्दै गएपछि ठुलो सख्यामा मतगणनास्थलमा स्थानीय भेला भएका छन् । उनीहरुले मतगणना सुचारु राख्न माग गर्दै नाराबाजी गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:१७
x
×