विवाद भएपछि महोत्तरीको बलवामा प्रहरीद्वारा हवाई फायर- मधेस - कान्तिपुर समाचार

विवाद भएपछि महोत्तरीको बलवामा प्रहरीद्वारा हवाई फायर

सुनिता बराल

काठमाडौँ — महोत्तरी बलवा नगरपालिकाको महावीरस्थित मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ । मतदान केन्द्रमा खटिएका प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरुबीच विवाद बढेपछि स्थिति नियन्त्रण लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ ।

मतदान केन्द्रमा अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गर्न नरोकेको विषय राजनीतिक दलका प्रतिनिधिहरुले प्रश्न उठाएपछि विवाद सरु भएको थियो ।

शुक्रबार औरही, बर्दिवास, गौशाला नगरपालिकाको एक-एक वटा मतदान केन्द्रमा विवाद हुँदा केही समय मतदान समेत अवरुद्ध भएको थियो । गौशालामा बिसहरपुर मतदान केन्द्रमा निर्वाचन अधिकृतले जनता सामाजवादी पार्टी (जसपा)का समर्थकलाई दोहोरो मतपत्र दिएको भन्दै विवाद भएको थियो । विवाद सुरु भएपछि मतदान स्थगित गरिएको थियो ।

बर्दिबासमा पानी परेपछि कोठाभित्र मतपेटिका लैजाने विषयमा विवाद हुँदा केही समय मतदान स्थगित भएको थियो । त्यसैगरी औरही नगरपालिका २ मा श्रीपुर मतदान केन्द्रमा कांग्रेस उम्मेदवारले मतदातालाई धम्क्याए भन्दै विवाद भएको थियो ।

शुक्रबार दिउँसो महोत्तरीमा हावाहुरी र पानी परेपछि केही समयमा केन्द्रमा मतदान रोकिएको थियो भने केहीमा कोठाभित्र मतपेटिका राखेर मतदान गरिएको थियो ।

अहिले पनि यहाँका केही स्थानीय तहमा मतदान जारी छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

मुस्ताङमा ७० प्रतिशतभन्दा बढी मत खस्यो 

घनश्याम खड्का

म्याग्दी — हिमालपारीको मुस्ताङमा करिब ७० प्रतिशत बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अनुसार कुल १० हजार ४ सय ८५ मतदातामध्ये ७ हजार ४ सय ९५ मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत रुमानाथ ज्ञवालीका अनुसार मुस्ताङका सबै पालिकामा राति ८ बजेसम्म सबै बुथबाट मतपत्र आइपुग्ने र राति १० बजेभित्रबाट मतगणना सुरु गर्ने कार्यतालिका छ ।

लोमन्थाङका निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार लोमन्थाङमा १ हजार ९ सय ४२ मतदातामध्ये १ एक हजार २ सय ३० भोट (६३ दशमलव १४ प्रतिशत) मत खसेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी निर्वाचन अधिकृत शारदादेवी पौडेलका अनुसार कुल २ हजार २ सय ४४ मतदातामध्ये ७ सय ९५ जना महिलासमेत १ हजार ४ सय ९८ मत खसेको छ ।

थासाङ गाउँपालिका निर्वाचन अधिकृत मुकुन्द आचार्यका अनुसार कुल २ हजार ७ सय ४७ मतदातामध्ये १ हजार ७८ महिला, १ अन्य समेत २ हजार १ सय ९३ (८० प्रतिशत) मत खसेको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका निर्वाचन अधिकृत नेपालहरि रानाभाटका अनुसार १ हजार ४ सय ७१ मतदातामध्ये ५ सय २ जना महिलासहित ९ सय ७६ मत खसेको छ ।

त्यस्तै, सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा २ हजार ८४ जना मतदातामध्ये १ हजार ५ सय ९८ मत (७६.५६ प्रतिशत) खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×