१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सीमामा फेरि कोरोना जाँच सुरु

शंकर आचार्य

पर्सा — निगरानी बढाएको करीब एक महिनामा वीरगन्ज नाकास्थित नेपाल–भारत सीमास्थित हेल्थ डेस्कमा एउटा पनि कोरोना संक्रमित फेला परेनन् । डेस्ककी प्रमुख डा. अनिशा महतोका अनुसार यस अवधिमा भारतका ठूला सहरबाट आउनेको बिशेष निगरानी राखिए पनि तीमध्ये एक जनामा पनि कोरोना संक्रमण पुष्टि नभएको हो ।

सीमामा फेरि कोरोना जाँच सुरु

‘भारतको राजधानी नयाँदिल्लीमा कोरोनाको चौथो लहरको संकेत देखिएसँगै हामीले डेस्कमा विशेष सर्तकता अपनाउन सुरु गर्‍यौं,’ उनी भन्छिन्, ‘विशेषगरी दिल्लीबाट रेल चढेर रक्सौलसम्म आउने र त्यहाँबाट सोझै नेपाल प्रवेश गर्ने नेपाली तथा भारतीहरूको विशेष निगरानी गरिरहेका छौं, तर यस अवधिमा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएन ।’ यसबाट दिल्लीमा देखिएको कोरोनाको लहर मत्थर हुँदै गएको र कोरोना संक्रमण नेपाल भित्रिने जोखिम पनि कम हुँदै गएको संकेत मिलेको उनले बताइन् ।

दिल्लीबाट रक्सौल दैनिक साँझ ५ बजे एउटा रेल आउने गरेको छ । उक्त रेलका ५० देखि ६० यात्रु नेपाल प्रवेश गर्ने गरेका छन् । उनीहरूको अनिवार्य रूपमा एन्टिजेन परीक्षण गर्ने गरिएको उनले बताइन् । यसबाहेक कोलकाता र मुम्बईबाट आउने रेलका यात्रुहरूको पनि अनिवार्य रूपमा एन्टिजेन परीक्षण गर्ने गरिएको उनले बताइन् । ‘भारतका महानगर तथा अन्य ठूला सहरहरूबाट समेत गरी दैनिक ४ सय देखि ४ सय ५० जना यात्रु नेपाल प्रवेश गर्छन्,’ उनले भने, ‘तीमध्ये १ सय ५० देखि १ सय ७५ जनासम्मको एन्टिजेन परीक्षण गरिरहेका छौं ।’

कोलकाताबाट रक्सौलसम्म सातामा एक दिनबाहेक ६ दिन रेल आउने गर्छ । यसबाहेक मुम्बईबाट साताको एक दिन रक्सौलसम्म रेल आउने गरेको छ । स्वास्थ्य मन्त्रालयले दुईपटक खोप लगाएका तथा कोरोनाको लक्षण नदेखिएकाहरूको कोरोना परीक्षण गर्न नपर्ने र लक्षण देखिएकाहरूको मात्र परीक्षण गर्नुपर्ने निर्देशन दिएकाले उक्त निर्देशनको पनि पालना गरिएको उनले बताइन् ।

डेस्कमा फागुनयता हालसम्म भारतबाट नेपाल प्रवेश गर्नेहरूमध्ये एक जनामा पनि कोरोना पोजेटिभ नदेखिएको उनले बताइन् । डेस्कको तथ्यांकअनुसार, आव २०७७/०७८ मा कोरोनाको तेस्रो लहरको समयमा यो नाका हुँदै ५३ हजार ८ सय २३ जना नेपाल प्रवेश गरेका थिए, जसमा ४४ हजार ७ सय ९६ जना पुरुष, ९ हजार २७ जना महिला र ३ सय ४४ जना बालबालिका थिए । उनीहरूमध्ये २७ हजार ९ सय ६८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ५ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगन्जका ८५, पर्साका अन्य पालिकाका ७, अन्य जिल्लाका ७६ र ४२१ जना भारतीय नागरिक थिए । उनीहरूलाई भारत नै फर्काइएको थियो ।

प्रकाशित : वैशाख २९, २०७९ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?