संवेदनशील मतदानस्थलमा विशेष निगरानी

उत्तरी चुरे क्षेत्रदेखि भारतीय सीमासम्म जोडिएको मतदान केन्द्रमा सुरक्षा बलियो बनाइँदै
मधेस ब्युरो

जनकपुर — मधेस प्रदेशका अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा सुरक्षाकर्मीको विशेष निगरानी बढाइएको छ । भारतीय सीमासँग जोडिएका केही मतदानस्थल अति संवेदनशील रहेको भन्दै त्यहाँ विशेष तालिमप्राप्त सुरक्षाकर्मीलाई खटाइएको हो । 

संवेदनशील मतदानस्थलमा विशेष निगरानी

सिरहामा ४ सय ९८ मतदान केन्द्र तोकिएको छ । जिल्लाका ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तहका मतदान केन्द्रमा कर्मचारी खटिसकेका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख इन्दिरा यादवका अनुसार उत्तरी चुरे क्षेत्रदेखि भारतीय सीमासम्म जोडिएको मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी चार दिनअगावै पठाइएको हो । जिल्ला सुरक्षा समितिले सबै मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ । सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले त्यहीअनुरूप सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

अघिल्लो पटक दलहरूबीच झडप तथा निर्वाचन प्रभावित गर्न गरिएको आपराधिक क्रियाकलापका आधारमा सर्लाहीको २० स्थानीय तहको मतदानस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । मतदानका लागि जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, यातायातको असुविधा भएका मतदानस्थललाई पनि संवेदनशीलको सूचीमा राखेको छ । जिल्लाका २० वटा पालिकामा कुल ३ सय १८ मतदानस्थल तोकिएको छ, जसमा ५ सय ९९ मतदान केन्द्र राखिएको छ । तीमध्ये १ सय ३ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ, जसमा २ सय ५ मतदान केन्द्र छन् । अति संवेदनशील मतदानस्थलहरू अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का छन् । जिल्लामा १ सय ८४ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको छ, जहाँ ३ सय ३९ मतदान केन्द्र छन् । सुरक्षा समितिले जिल्लाको ३१ मतदानस्थल मात्र सामान्यको सूचीमा राखेको छ ।

मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । ‘विगतको निर्वाचनमा भएको झडप तथा आपराधिक क्रियाकलापका आधारमा हामीले मतदानस्थलहरूलाई तीन चरणमा विभाजन गरेका छौं, संवेदनशील र अति संवेदनशील मतदानस्थलमा सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘स्वच्छ निर्वाचनका लागि भौगोलिक विकटता र यातायातको असुविधालाई पनि हामीले ख्याल गरेर सुरक्षा प्रबन्ध मिलाएका छौं ।’ यसअघिको निर्वाचनमा सर्लाहीमा ३ सय १८ मतदानस्थलमा ५ सय १८ मतदान केन्द्र तोकिएको थियो । यसपटक ५ सय ९९ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाताको संख्या बढेकाले ८१ मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले बताए ।

रौतहटका २ सय ७६ मतदान स्थलमध्ये ८३ वटा अति संवेदनशीलको सूचीमा छन् । संवेदनशील मतदानस्थल १ सय १९ वटा छन् । विप्लव माओवादीको गतिविधि हुने क्षेत्र र केही विकट मतदान केन्द्रलाई सुरक्षा समिमिले अति संवेदनशीलको सूचीमा राखेको छ । जिल्लाका १८ वटा स्थानीय तहमा ५ सय १८ वटा मतदान केन्द्र छन् । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अति र संवेदनशील क्षेत्रको मतदानस्थको सुरक्षा व्यवस्था कडा बनाउने बताए । ‘कुनै किसिमको हर्कत नहोस् भनेर सुरक्षा व्यवस्था कडा बनाउने योजनामा छौं,’ उनले भने, ‘मतदातालाई भयरहित र ढुक्क भएर मतदान गर्ने वातावरण बनाउँछौं ।’ जिल्लामा बाहिरबाट झन्डै ६ सय थप सुरक्षाकर्मर् ीझिकाइएको छ । भारतसँग सीमा जोडिएका विभिन्न पालिका र भूगोलको विकटता, यातायातको असुविधा र चुरेसँग जोडिएको स्थानलाई अति संवेदनशील मतदान स्थलको सूचीमा स्थानीय प्रशासनले राखेको हो । प्रजिअ शाहीले भारतसँग जोडिएका राजदेवी, गौर, इशनाथ, परोहा, बौधीमाई, चुरेसँग जोडिएका चन्द्रपुर नगरपालिकासहित १४ पालिकाका ८३ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको बताए । बारामा पनि मतदान अधिकृतलाई कार्यस्थलमा खटाउन थालिएको छ । निर्वाचन सामग्री जिम्मा लगाउन जिल्ला निर्वाचन कार्यालयले जिल्लाका १६ वटा स्थानीय तहको निर्वाचन अधिकृतलाई मंगलबार बोलाएको छ । पालिकापिच्छे मतदान अधिकृतहरूलाई मतपत्र, मतपेटिका, स्वस्तिक चिह्नलगायतका सामग्रीको व्यवस्थान व्यवस्थापन भइरहेको निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले बताए । उनका अनुसार जिल्लाका २ उपमहानगर, ५ नगरपालिका र ७ गाउँपालिकामा गरी कुल मतदाता ४ लाख २३ हजार ३ सय ३८ जना छन् । यहाँ ३ सय ३ मतदान स्थल र ५ सय ४१ मतदान केन्द्र छन् ।

सिम्रौनगढ र पचरौता नगरपालिकालाई अति संवेदनशील मानिएको जिल्ला सुरक्षा समिति स्रोतले बतायो । सीमावर्ती जिल्लाका विश्रामपुर, फेटा, कलैया, देवताल, सुवर्ण, पचरौता र सिम्रौनगढ गरी ७ वटा पालिकाहरूलाई संवेदनशील मानिएको छ । सुरक्षा संवेदनशीलताका दृष्टिकोणले सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए । जिल्लाको अधिकांश मतदान केन्द्रहरू विद्यालयमा छन् । ‘अति संवेदनशील, संवेदनशील र समान्य संवेदनशील गरी सुरक्षाको व्यवस्था मिलाइएको छ,’ एक सुरक्षा अधिकारीले भने ।

सप्तरीका १२ वटा मतदानस्थल चौरमै राखिएको छ । सार्न खोजिए पनि स्थानीयले अपायक पर्ने भनेपछि बाध्य भएर चौरमै राख्नुपरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए । ‘अघिल्ला निर्वाचनमा पनि ती मतदानस्थल चौरमा नै थियो, सार्न खोजिएको हो तर स्थानीयको विरोधपछि सकिएन,’ जोशीले भने । तीबाहेक अन्य मतदानस्थल विद्यालय भवनमै राखिएको उनले बताए । जिल्लामा अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा छन् । ४ वटा मतदानस्थल मात्र सामान्य अवस्थाको रहेको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले जानकारी दिए । जिल्लामा कुल २ सय ९७ मतदानस्थ्लमा ५ सय ८० मतदान केन्द्र तोकिएको छ । एसपी काफ्लेका अनुसार ८५ वटा संवेदनशील र २ सय ८ वटा मतदानस्थल अति संवेदनशीलको सूचीमा छन् । सोमबारसम्ममा ७७ वटा हतियार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइमा बुझाइएको छ । जिल्लाभरि ५ सय बढी इजाजतप्राप्त बन्दुक रहेकोमा थोरै संख्यामा मात्रै हतियार बुझाइएको छ ।

एक महानगरपालिका र तीनवटा नगरपालिकासहित १३ स्थानीय तह रहेको पर्सामा आसन्न निर्वाचनका लागि १ सय ६७ मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार वीरगन्जमा सबैभन्दा बढी मतदान स्थल र मतदान केन्द्र राखिएका छन् । महानगरमा ५५ वटा मतदानस्थल र १ सय ४३ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालय पर्साकी प्रमुख रञ्जिता झाले बताइन् । यसैगरी सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकामा मतदानस्थल राखिएका छन् । पकाहामैनपुरमा ६ वटा मतदानस्थल र १५ वटा मतदान केन्द्र छन् ।

जिल्ला निर्वाचन प्रमुख झाले मतदान केन्द्रलाई सुरक्षा संवेदनशीलताका दृष्टिकोणले ३ तहमा वर्गीकरण गरिएको जनाइन् । ‘मतदान केन्द्रमा पर्खाल नभएकालाई अति संवेदनशीलमा राखिएको छ,’ उनले भनिन् । संवेदनशील मतदानस्थलको विवरण प्रशासनसँग रहेको उनले बताइन् । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले सुरक्षाका दृष्टिकोणका कारण संवेदनशील मतदान केन्द्रको विवरण मिडियामा दिन नमिल्ने बताए । ‘सबै मतदान केन्द्रको हामीले वर्णीकरण गरेका छौं,’ उनले भने, ‘सुरक्षाको दृष्टिकोणले बाहिर भन्न मिल्दैन ।’

- भरत जर्घामगर (सिरहा), अवधेश झा (सप्तरी), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट), लक्ष्मी साह (बारा) र शंकर आचार्य (पर्सा)

प्रकाशित : वैशाख २८, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?