१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आश्वासन मात्रै थरिथरिका

सुनिता बराल

महोत्तरी — नेपाली कांग्रेसले जलेश्वर नगरपालिकामा दोहोरो कर जनताले तिरिरहेको भन्दै कर हटाउने कुरा आफ्नो घोषणा पत्रमा लखेको छ । जनतालाई मार पर्नेगरी घर र जग्गाको छुट्टाछुट्टै कर हाल जलेश्वर नगरपालिकाले लिइरहेको नेपाली कांग्रेसले बताएको छ । कांग्रेसबाट मेयर पदका उम्मेदवार शम्भु पाठक र उपमेयर पदका अनिता शर्माले घोषणा पत्र सार्वजनिक गर्दै जलेश्वरलाई सुन्दर र सफा सहर बनाउने बाचासँगै जनताको कर कटौती गर्ने उल्लेख गरेका छन् ।

आश्वासन मात्रै थरिथरिका

जनतालाई खुशी पार्न नभएर वास्तविक मारमा परेका जनताको पक्षमा आफ्नो घोषणापत्र भएको नेपाली कांग्रेसका नेता बजरंग नेपालीले बताए ।

नेकपा एमालेले पनि जनतालाई जग्गाधनि पुर्जा दिने,स्मार्ट सिटी बनाउने, सहरलाई सफा र स्वच्छ बनाउने, दलित र विपन्नलाई आवासको व्यवस्था गर्ने आफ्नो घोषणापत्रमा राखेको छ । जलेश्वरका मेयर पदका उम्मेदवार रामआधार कापरले आफ्नो घोषणापत्रमा जलेश्वरको समग्र विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

माओवादी केन्द्रले पनि गरिब र विपन्नलाई व्यवस्थित भूमि नीतिबाट व्यवस्थित गरी लालपुर्जा वितरण गरिने, एक वडा एक योग ध्यान केन्द्र स्थापना गरिने लगायत विषय आफ्नो घोषणापत्रमा राखेको छ ।

बर्दिवास नगरपालिकाको मेयर पदका उम्मेदवार राजु खड्काले सार्वजनिक गरेका घोषणपत्रमा बर्दिवासलाई शैक्षिक सहर र सफा स्वच्छ सहर बनाउने प्राथामिकताका साथ राखेका छन् ।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादि पार्टी,राप्रपा,जनमत पार्टीले पनि जनतालाई खुशी बनाउने योजना नै आफ्नो घोषणापत्रमा राखेका छन् । गरिब तथा विपन्नलाई जग्गा दिने र आवास बनाइदिने सबै पार्टीले आफ्नो घोषणापत्रमा मुख्य योजना बनाएर अघि सारेका छन् ।

बस्तीमै रोजगारी दिने र सीसी क्यामेरा जोडिदिने प्रतिबद्धता

महोत्तरीको बर्दिवास १४ मा रहेको एकीकृत नमुना मुसहर बस्तीमा भने नेताले दिने आश्वासन भिन्न छ । घर जग्गा नभएका गरिब परिवारलाई घरजग्गाको व्यवस्था गरिदिने आश्वासन दिएका नेताहरु मुसहर बस्तिमा भने बस्तीभित्रै रोजगारिको अवस्था सिर्जना गर्ने बताइरहेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले ५ वर्षअघि घर बनाइदिएपछि बर्दिवासका मुसहरहरु बासको चिन्ताबाट मुक्त छन् । गरिब तथा दलित बस्तीमा भोट तान्न नेताले जग्गा दिएर घर बनाइदिने आश्वासन बाँडिरहेका बेला बर्दिवासमा भने उनीहरुको आश्वासन बद्लिएको छ ।

बस्तिकी सानु सदाले भनिन्, 'नेताहरु हामीलाई बस्तीमै सिप सिकाएर रोजगारी दिने कुरा गरिरहेका छन्', उनले भनिन्,'कति नेताले भोटकै लागि मलाई त चुनावमा उठाउने पनि कुरा गर्न भ्याए, तर चुनाव सकिएपछि फर्किएर नआउने नेताको पछि लाग्न मन नभएकोले म नउठ्ने भनिदिए ।'

बस्तीको समस्या सोध्न कहिल्यै नआउने नेता अहिले दिनमा ३ पटकसम्म आउने गरेका सुर्जि ऋषिदेवले बताइन् । बस्तीमा अहिले भएको घरजग्गामा ठूलो परिवारलाई बस्न समस्या भएकाले जग्गा थप जग्गा दिलाइदिन नेताहरुलाई आग्रह गरेको बताइन् । आफ्नो मागलाई पनि पूरा गर्ने नेताले बताएका उनले सुनाइन् । बस्तीमा हुने झैझगडा बन्द गर्नका लागि बस्तिमा सीसीटिभी जडान गरिदिने नेताले बताएका उनले सुनाइन् । बस्ती नजिक सामुदायिक भवन बनाइदिने आश्वासन नेताले दिएका उनले बताइन् ।

अहिले मुसहर बस्तिमा रातिको ९ बजेसम्म नेताहरु भोट यो छापमा लगाउनुस भन्दै नमुना मतपत्र लिएर सिकाइरहेका हुन्छन् । बस्तीको विकासका लागि चुनावका बेला नेताले धेरै सपना बाढेका भएपनि केही पूरा नभएका बस्तीका युवा मञ्जय सदाले बताए । यस वर्षको चुनावमा उठेका नेताले पनि बस्तीमा शिक्षाको लागि शिक्षकको व्यवस्था गरिदिने, रोजगारिको व्यवस्था मिलाइदिने, थप जग्गा उपलब्ध गराइदिने, महिलाहरुलाई सिपमूलक कार्यक्रम मिलाइदिने जस्ता आश्वासन बाढिरहेका मञ्जयले बताए ।

मुसहर बस्तीमा ५० घरपरिवार मुसहर छन् । बस्तीबाट निर्वाचनमा मत दिनेको संख्या लगभग सय छ । बस्तीका समस्या जे सुनाएपनि पूरा गर्ने प्रतिबद्धता अहिले नेताहरुले गरिरहेका छन् तर पहिले गरेका प्रतिबद्धता केही पूरा नगरेका उनीहरुको भनाइ छ ।

गएको स्थानीय चुनावमा मुसहर समुदायका बालबालिकालाई विद्यालयमा टिकाइ राख्ने कार्यक्रम ल्याउने, रोजगारिको व्यवस्था गर्ने र महिलाहरुलाई सिप सिकाइदिने प्रतिबद्धता नेताहरुले गरेका थिए । बस्तीमा अहिले प्रमुख राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राजपा, जसपा र राप्रपाका नेताहरु आफ्नो प्रतिबद्धता लिएर बस्तीमा आउने गरेका बस्ती रेखदेखको जिम्मा पाएका विल्टु सदाले बताए ।

प्रकाशित : वैशाख २६, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?