१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘जिउँदो सहिद’ का गुनासै गुनासा

मधेस आन्दोलनका क्रममा ७ वर्षअघि शरीरमा गोली लागेपछि मुन्सी पटेल
शंकर आचार्य

पर्सा — ओछ्यानमै थलिए । वीरगन्ज– २८ बगही घर भएका ३६ वर्षीय पटेल राजनीतिक दलका नेतृत्वसँग भने पटक्कै खुसी छैनन् । ‘जिउँदो सहिद’ का रुपमा परिचित उनको गुनासो छ, नेतृत्वले सहिदका परिवारजनलाई बिर्सिए ।

स्थानीय तहको निर्वाचन नजिकिएपछि भोट माग्न विभिन्न दलका उम्मेदवारहरू उनको छाप्रोमा धाउन थालेका छन् । आन्दोलनको बलमा भएका परिवर्तनहरू संस्थागत नभएको र आफूजस्ता जिउँदो सहिद तथा सहिदका परिवारजनलाई बिर्सिएको उनले गुनासो गर्ने गरेका छन् । ‘हामीलाई जिउँदो सहिद उपमा दिइएको छ, तर कस्तो पीडा भोगिरहेका छौं, सुनिदिने कोही भएन,’ पटेल भन्छन्, ‘चुनाव आएपछि सबै भोट माग्न आउँछन्, तर हाम्रा लागि बोलिदिने कोही भएन ।’ उनले आफूलाई बासको समस्या भएको बताए ।

वीरगन्ज–२२ मनियारी घर भएका ४० वर्षीय उपेन्द्रप्रसाद यादव पनि ‘जिउँदो सहिद’ हुन् । २०७२ भदौ १५ मा प्रहरीले चलाएको गोली उनको देब्रे खुट्टामा लागेको थियो । देब्रे खुट्टाको भर छैन । ४ छोराछोरीका अभिभावक उनी अहिले परिवार पाल्न कुखुराको चल्ला बेच्ने गर्छन् । ‘अहिले भोट माग्न आउनेहरू थुप्रै आश्वासन र सपना देखाएर फकाउन खोज्दै छन्,’ उनले भने, ‘खुट्टामा हालेको २ वटा रड पैसा नभएर झिक्न पाएको छैन, घर भत्किएर बस्ने लायक रहेन, मेरो पीडा कसले बुझिदिने त ?’

सखुवाप्रसौनी–५ घर भएका ३८ वर्षीय पन्नालाल यादव अर्का जिउँदो सहिद हुन् । २०७२ भदौ १४ मा मधेस आन्दोलनकै क्रममा प्रहरीले चलाएको गोली उनको दाहिने खुट्टाको घुँडामा लाग्यो । करिब ५ वर्ष थला परे । अहिले जसोतसो हिँड्न सक्ने भएका छन् । उपचारमा उनले व्यक्तिगत ५५ लाख रुपैयाँ खर्च गरेको बताए । गत स्थानीय निर्वाचनमै उनले वडाध्यक्षको पदमा उम्मेदवारी दिन चाहेका थिए । तर पार्टीबाट टिकट पाएनन् । यस वर्ष पनि टिकट नपाएको बताए । ‘म जनप्रतिनिधि बनेर जनताको सेवा गर्न चाहन्थे, तर मलाई कहिल्यै अवसर दिइए्,’ उनले भने, ‘भन्नलाई जिउँदो सहिद भनिन्छ, अवसर पाइँदैन ।’

प्रकाशित : वैशाख २६, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?