नागरिकता समस्या समाधानको आश्वासन

सन्तोष सिंह

धनुषा — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली नागरिकता भएका बुबाआमाका छोराछोरीले चाँडै नागरिकता पाउने आश्वासन दिएका छन् । ‘बुबाआमाले नागरिकता पाएका छोराछोरीले मधेसमा नागरिकता पाएका छैनन्,’ देउवाले भने, ‘आमाबुबाको नागरिकता हुने छोरोछोरीलाई गठबन्धनको सरकारले चाँडै नागरिकता उपलब्ध गराउनेछ । मधेसको हक दिलाउने गठबन्धनको प्रमुख प्राथमिकता हो ।’ 

नागरिकता समस्या समाधानको आश्वासन

शनिबार जनकपुरधाममा आयोजित सत्तारूढ गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘राम–सीता’ को गठबन्धन भएको ठाउँ जनकपुरमा पाँच दलीय गठबन्धन कमजोर नहुने बताए । नेपाली सेनाको हेलिकोप्टरबाट जनकपुर आएका प्रधानमन्त्री देउवाले पार्टीको अनुशासनमा बसेर साझा उम्मेदवारलाई विजयी बनाएर गठबन्धन टिकाउन कार्यकर्तालाई आग्रह गरे । ‘गठबन्धनलाई अब पराजित हुने छुट छैन,’ उनले भने, ‘देशभरि गठबन्धनको पक्षमा माहोल छ । असन्तुष्टि हुन सक्छन् । गठन्धनको विरोध सह्य हुँदैन ।’ चितवनमा अलिअलि समस्या देखिए पनि अहिले कुनै समस्या नभएको उनले बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसमा पहिचान र अधिकारको मुद्दा अधुरो रहेको बताए । ‘एमाले भन्ने गुटको कारणले संविधान संशोधन हुन नसक्दा मधेसको प्रमुख समस्याको रूपमा रहेको नागरिकता समस्या समाधान भएन,’ दाहालले भने । एमालेले संसद् अवरुद्ध गर्दा नागरिकता विधेयक अन्योलमा परेको उल्लेख गर्दै अब विरोधका बीच गठबन्धनले पारित गर्ने बताए ।

पछिल्लो ४ वर्षमा जनकपुर फेरिएको उल्लेख गर्दै दाहालले धार्मिक पर्यटकीय सहर जनकपुरको नयाँ स्वरूप बनाउन गठबन्धनबाट जसपाका प्रमुख पदका उम्मेदवार लालकिशोर साह र नेपाली कांग्रेसबाट उपप्रमुखमा किशोरी साहलाई मतदान गर्न आग्रह गरे । गठबन्धनका उम्मेदवार निर्वाचित भए जनकपुरको सार्वजनिक जग्गा संरक्षण र गुठीलाई व्यवस्थित गर्ने उनले बताए । ‘गठबन्धन कैयौं निर्वाचनसम्म कायम राख्नका लागि स्थानीय तहको निर्वाचनमा जित्नैपर्छ,’ उनले भने, ‘एउटा चुनावमा मात्रै नभएर प्रदेश, केन्द्रको निर्वाचनसहित वर्षौंसम्म गठबन्धन निरन्तरता पाउँछ ।’

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तन रक्षा र स्थानीय तहमा विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । ‘स्थानीय तहमा गठबन्धनले साझा उम्मेदवार दिएका छन्,’ यादवले भने, ‘जनकपुर बदलिन सुरु भएको छ । यसलाई पर्यटकीय सहर बनाउन गठबन्धनका उम्मेदवारलाई मतदान गरौं ।’ खाल्डैखाल्डो र फोहोर थुप्रिएको सडक सफा गर्ने काम अगाडि बढेको उनले बताए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनकपुरमा बागी जित्ने इतिहास दोहरिन नदिन कार्यकर्तालाई आग्रह गरे । ‘जनकपुरमा बेलाबेला बागी उम्मेदवार जित्ने इतिहास छ,’ पौडेलले भने, ‘बागी उम्मेदवारलाई मतदान गर्नु हुँदैन । त्यो इतिहास दोहरिन दिनु हुँदैन ।’

प्रकाशित : वैशाख २५, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?