१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गहुँ छर्ने उपकरणमा आकर्षण

शंकर आचार्य

पर्सा — अगुवा किसान अभय यादवलाई केही वर्षयता गहुँ खेती गर्न सहज बनेको छ । ‘ह्यापी टर्बो सिडर’ विधिले करिब २० बिघा खेतमा उनी गहुँ बाली लगाउँदै छन् । यो विधिले बाली लगाउन सहज हुनुका साथै लागत पनि घटेको उनको अनुभव छ ।

गहुँ छर्ने उपकरणमा आकर्षण

यान्त्रिक विधिले गहुँ खेती गर्दा प्रति कठ्ठा १ सय २० किलोसम्म गहुँ उत्पादनसमेत भएको छ । यसअघि परम्परागत विधिले गहुँ खेती गर्दा मुस्किलले ८० किलोसम्म उत्पादन हुन्थ्यो । ‘धेरै खेत हुने किसानलाई यो विधि लाभदायक छ,’ उनले भने, ‘अब कृषि मजदुर नपाउने समस्या पनि समाधान भयो ।’ यो विधिले गहुँबाली लगाउँदा मजदुर र सिँचाइ दुवैको लागत घटेको यादव बताउँछन् ।

अहिले यहाँका किसानले करिब ४० बिघा जग्गामा यो विधिबाट गहुँ बाली लगाउँछन् । सबै किसानको अभयकै जस्तो अनुभव छ । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जमा रहेको उक्त उपकरण ल्याएर यहाँका किसानले अत्याधुनिक विधिबाट गहुँको बीउ र मल एकैसाथ खेतमा छर्छन् । केन्द्रका प्रमुख सचिन मिश्र प्रविधि भित्रिएपछि खेतमै धानको पराल छोडेर त्यसबाट हुने वातावरणीय प्रदूषणको समस्या पनि समाधान भएको बताउँछन् । पहिले किसानले पराल खेतमै जलाउँदा वातावरण प्रदूषणको समस्या थियो ।

भारतको पन्जाब, हरियाणा, उत्तर प्रदेशलगायतका राज्यमा यो समस्या देखिएपछि त्यहाँको सर्वोच्च अदालतले परालमा आगो लगाउन रोकसमेत लगाएको मिश्र बताउँछन् । त्यही समस्या नेपालका तराईका जिल्लामा पनि देखिन थालिसकेको सन्दर्भमा धान बाली भित्र्याइसकेपछि किसानले गहुँ बाली लगाउँदा धानको पराल नजलाएर खेतमै छोडेर पनि गहुँ बाली लगाउन पाउने सुविधा ह्यापी टर्बो सिडर उपकरणबाट पाएको उनले बताए । मिश्रका अनुसार हाल पर्सा, बारा, रौतहटमा मात्रै ३ सयको हाराहारीमा कम्बाइन हार्भेस्टर मेसिन छन् ।

यो उपकरणले खनजोत नै नगरी ९ लाइनमा चिरा पारी शून्य जोताइ विधिबाट गहुँ बाली छरिन्छ । एकै साथ बालीमा रासायनिक मल पनि हाल्न सकिन्छ । त्यसबाहेक बालीसमेत लामो समय हरियो हुँदा गहुँको दाना पुष्ट हुन जान्छ । पारम्परिक विधिभन्दा खेतीको लागत नै समग्रमा ४० प्रतिशतसम्म घट्न जाने मिश्रको भनाइ छ । उनका अनुसार ४ वर्ष केन्द्र परिसरमै परीक्षण गरेपछि किसानलाई यो उपकरण सिफारिस गरिएको हो । ‘यो उपकरणले प्रतिघण्टा ९ देखि १० कठ्ठा खेतमा गहुँ बाली छर्न सकिन्छ,’ मिश्रले भने, ‘प्रतिहेक्टर ४ देखि ४.५ मेट्रिक टन गहु उत्पादन हुन्छ ।’ ६ लाख रुपैयाँ लागत पर्ने यो उपकरण पहिलो पटक केन्द्रले खरिद गरेको मिश्र बताउँछन् ।

केन्द्रले किसानलाई खेती प्रयोजनका लागि पनि उपकरण उपलब्ध गराउँदै आएको छ । थप सहुलियत दिएर यो उपकरणको मूल्य घटाउनेतर्फ स्थानीय तहको प्रयास भए किसान धेरै लाभान्वित हुने मिश्र बताउँछन् । यसको आयातमा लाग्ने भन्सार शुल्क घटाएमा धेरै किसानको पहुँचमा यो उपकरण पुग्ने उनले बताए ।

प्रकाशित : वैशाख २४, २०७९ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?