भारतीय ग्राहक आउन थालेपछि बढे होटल

दशगजानजिकै राजमार्ग क्षेत्रमा दर्जनभन्दा बढी सुविधासम्पन्न होटल
भरत जर्घा मगर

सिरहा — भारतीय सीमासँग जोडिएको हुलाकी राजमार्गअन्तर्गत सिरहाको ठाडीदेखि सन्हैठासम्म एक सयभन्दा बढी साना–ठूला होटल खुलेका छन् । यसअघि यस राजमार्ग क्षेत्रमा सामान्य चिया–नास्ता पसलबाहेक ठूला होटल थिएनन् । दशगजानजिकै राजमार्ग क्षेत्रमा खुलेका होटलका ग्राहक भने भारतीय नागरिक हुन् । 

भगवानपुर गाउँपालिका–४ स्थित दशगजाको ५० मिटर आसपासमा १८ भन्दा बढी होटल खुलेका छन् । ती होटलमा अधिकांश भारतीय ग्राहक हुन्छन् । दिनभर सुनसान हुने होटल साँझ परेसँगै भरिभराउ हुन्छन् । बिहार सरकारले ६ वर्षअघि मदिरा बिक्रीवितरणमा रोक लगाएपछि मदिरा सेवनको उपयुक्त थलो यतातिर होटल बनेका हुन् । सीमा क्षेत्रका नेपालतर्फ खुलेका होटलहरूमा उताबाट आउने ग्राहकबाट राम्रो आम्दानी हुन थालेको बताउँछन् ठाडीका होटल व्यवसायी कैलाश साह ।

‘६ वर्षअघिसम्म यस क्षेत्रमा खाजा खानेसमेत राम्रा होटल थिएनन्’ उनले भने, ‘यताका ग्राहकले मात्र होटल व्यवसाय चल्दैन्थ्यो,’ उनी भन्छन्, ‘जब भारतमा मदिरामा कडाइ भएपछि मदिरा सेवन गर्न र बसोबास गर्न भारतीय ग्राहकहरू यता आउन थाले, जसले गर्दा भारतीय रुपैयाँ नेपाल भित्रिन थाल्यो भने आयआर्जन पनि बढ्यो ।’

व्यवसायीहरूका अनुसार भारतीय सीमा नाका ठाडीदेखि, बरियारपट्टी, गणेशपुर, कमलपुर, औरही सहित सन्हैठासम्म दुई दर्जन स्थानमा पछिल्लो पटक सयभन्दा बढी होटलहरू खुलेका छन् । त्यहाँ दुई सयभन्दा बढीले रोजगारीसमेत पाएका छन् । जसले गर्दा वैदेशिक रोजगारीमा जाने केही युवाले घर पायक रोजगारी पाएको उनले सुनाए । हुलाकी राजमार्गअन्तर्गत बरियारपट्टीमा सामान्य चिया, खाजाको होटल सञ्चालन गर्दै आएका कृष्णा साहले होटललाई स्तरोन्नति गरेर व्यवस्थित बनाएका छन् । उनको होटलमा रेस्टुरेन्टसहित सुविधा छ । ‘नेपाली ग्राहकसँगै पछिल्लो पटक भारतीय ग्राहक आउन थालेपछि होटललाई स्तरोन्नति गरे,’ उनले भने ।

भारतीय ग्राहककै कारण दैनिक ४० हजार रुपैयाँसम्मको बिक्री बढेको उनले बताए । ‘हाम्रो आम्दानीको स्रोत भनेकैं भारतीय ग्राहक हुन,’ उनले भने, ‘भारतीय ग्राहककै कारण होटल व्यवसाय फस्टाएको छ ।’ उनले होटलमा १० जनाभन्दा बढीलाई रोजगारी दिएका छन् । हुलाकी राजमार्ग बीच भागमा परेको औरही गाउँपालिकाका अध्यक्ष सिदार्थ दास यादवले औरही क्षेत्रमा मात्र एक दर्जन भन्दा बढी होटल र रेस्टुरेन्ट खुलेको बताए ।

‘पहिला चिया र तराईमा प्रचलित समोसा तरकारी खाजामात्र पाइने सामान्य होटलहरू थिए,’ उनले भने, ‘एकातिर हुलाकी राजमार्गको विस्तार र अर्कोतर्फ भारतीय ग्राहकका कारण सुविधा सम्पन्न होटलहरू खुल्न थालेका छन् ।’ होटलहरूमा युवा पुस्ताले धमाधम लगानी गर्न थालेको र भारतीय ग्राहकले यस व्यवसायमा थप ऊर्जा थपेको उनले सुनाए । ‘यताकाहरू सीमापारि गएर दैनिक आवश्यक वस्तु किनेर व्यापार बढाइदिन्छन् भने अहिले सीमापारिका ग्राहकहरू आएर यताको व्यापार बढाइदिएका छन्,’ उनले भने, ‘अहिले दोहोरो व्यवसाय चलेको छ, जसले गर्दा भारतीय रुपैयाँ पनि नेपाल भित्रिएको छ, आम्दानी बढेको छ ।’

होटल तथा मदिरा व्यवसायी संघ सिरहाका संस्थापक अध्यक्ष रवीन्द्र श्रेष्ठ सीमा क्षेत्रमा होटल र रेस्टुरेन्ट खुल्ने क्रम बढेको बताउँछन् । ‘पहिला सीमा क्षेत्रमा खाना खाने होटलहरू थिएनन्,’ उनले भने, ‘अहिले त्यस क्षेत्रमा होटल खोल्ने होडबाजी नै चलेको छ, यसले पनि होटल व्यवसाय फस्टाएको छ ।’ संघका अनुसार जिल्लामा १२ सय होटल दर्ता छन् । ती होटलहरूमा २० हजारभन्दा बढी युवाले रोजगारी पाएका छन् । सगरमाथा डिलर एसोसिएसनका पूर्वाञ्चल उपाध्यक्ष प्रदीप गुप्ता सीमा क्षेत्रमा खुलेका होटलहरूमा मदिराको कारोबार बढेको बताउँछन् । भारतीय ग्राहक बढेपछि मदिरा खपत वृद्धि भएको उनको भनाइ छ ।

सीमा क्षेत्रका नेपालतर्फ खुलेका होटलहरूमा उताबाट आउने ग्राहकले मदिरा सेवनपछि अभद्र व्यवहारका कारण सुरक्षा चुनौती बढेको स्थानीयको गुनासो छ । ‘यताका होटलमा साँझ पर्नासाथ समूह बाँधेरै बिहारबाट आउनेको घुइँचो लाग्छ, भारतीय ग्राहकले होटल भरिभराउ हुन्छ,’ स्थानीय कन्हैया भट्टले भने, ‘मदिरामा लठिएर होहल्ला गर्ने र अश्लील शब्द प्रयोग गर्दा स्थानीय त्रासमा बस्न बाध्य छन् ।’ भगवानपुर गाउँपालिका–२ का श्रीचन पासवानले लागूऔषधसँगै मदिरा तस्करीमा बालकहरूको प्रयोग भइरहेको बताए ।

प्रकाशित : वैशाख १९, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?