देशकै अन्न भण्डार- मधेस - कान्तिपुर समाचार

देशकै अन्न भण्डार

मधेसमा कुल राष्ट्रिय खाद्यान्न उत्पादनको २० प्रतिशत अनाज फल्छ, प्रदेशको खेतीयोग्य जमिनमध्ये ८९.९ प्रतिशतमा बाली उब्जाइन्छ
ओमप्रकाश ठाकुर, अजित तिवारी

सर्लाही/जनकपुर — धनुषा, बटेश्वरका ४८ वर्षीय किसान रामप्रकाश महतोले तरकारी रोपेको खेतसम्मै सडक पुगेको छ । सडक छेउमा बिजुलीका पोल छन् । पोलनिरै ठूल्ठूला पक्की इनार खनिएको छ । महतो खेतसम्मै मोटरसाइकल हाँकेर पुग्छन् । इनार छेउको मोटरको स्विच थिच्छन् अनि खेतमा पानी पठाउँछन् ।

तरकारीमा किरा लागे पिठ्यूँमा विषादीको जर्किन बोकेर मोटरसाइकलमै खेत पुग्छन् । उनलाई खेत र घर आँगन जस्तै भएको छ । उनले बर्सेनि २ बिघा खेतमा अनाज फलाउँछन् । उनको खेत कहिल्यै खाली हुन्न । एउटा फसल निकालेलगत्तै अर्को फसल छरिसक्छन् ।

महतोसँग एक बिघा मात्र आफ्नो खेत छ । अर्को, एक बिघा उनले बटैया (भाडा) मा खनजोत गर्छन् । एक वर्षमा दुई बिघामा खेती गर्दा करिब ३ लाख १० हजार जति खर्च पर्छ । मिहिनेत गरेर अनाज र तरकारी फलाए वर्षको १० लाख रुपैयाँ आम्दानी हुने उनी सुनाउँछन् । उनले कृषि कर्मबाटै कमाएको आम्दानीले दुई छोरा पढाउन र चार जनाको परिवार खुसीपूर्वक चलाएका छन् । महतोले फूलगोभी, भान्टा, खुर्सानी, टमाटर, करेला, काँक्रो, साग र बोडी आफैं बजारसम्म पुर्‍याउनुपर्छ । बटेश्वर तरकारीको पकेट क्षेत्र रहे पनि व्यापारी खेतसम्म नआइदिँदा महतो जस्ता किसानलाई उत्पादनमा मात्रै मिहिनेत गरेर पुग्दैन, बेच्न बजारसम्म पनि पुग्नुपर्छ । ‘उत्पादन पनि आफैं गर्नुपर्ने र बजारसम्म पनि पुर्‍याउनुपर्ने समस्या छ,’ महतोले भने, ‘तरकारी मन्डी छैन । त्यो भए हामीलाई सजिलो हुन्थ्यो ।’

मधेस प्रदेश देशकै अन्न भण्डार हो । यस प्रदेशमा कुल राष्ट्रिय खाद्यान्न उत्पादनको २० प्रतिशत उत्पादन हुन्छ । प्रदेशको कुल खेतीयोग्य जमिनमध्ये ८९.९ प्रतिशतमा खेती गरिन्छ । कुल ५ लाख ६५ हजार ९१ हेक्टर सिँचाइयोग्य जग्गामध्ये ६५.८ प्रतिशतमा कोसी पश्चिम, कमला, वाग्मती सिँचाइ नहर र अन्य साना कुलो–पैनीबाट सिँचाइको पहुँच भए पनि धेरैजसो क्षेत्रमा आकाशे पानीकै भर छ । बटेश्वरकै खेतमा भेटिए अर्का किसान मनोज साह । उनी आलीमा पानी पिउँदै सुस्ताइरहेका थिए । वैदेशिक रोजगारीबाट फर्किएपछि उनी ७ वर्षदेखि अहिले खेतमै मिहिनेत–मजदुरी गर्छन् ।

धान, गहुँ, मकै, दलहन, तरकारी, उखु र माछा उत्पादनमा मधेस प्रदेश अग्रणी हो । देशभर ५० हजार टन माछा उत्पादन हुने गरेकामा त्यसको ६० प्रतिशत मधेस प्रदेशमै उत्पादन हुने गरेको मत्स्य विकास तालिम केन्द्र जनकपुरले जनाएको छ । यहाँ माछापालनका लागि करिब ४ हजार पोखरी उपयोगमा छन् । विविध कृषि बाली उत्पादन अनुकूल हावापानीका कारण प्रदेशभर सबै प्रकारका प्रमुख खाद्य तथा नगदे बाली उत्पादन हुन्छ । मौसमी फलका रूपमा आँपको कुल राष्ट्रिय उत्पादनमध्ये ६८ प्रतिशत उत्पादन यहीँ हुन्छ । नेपालभर हुने कुल उखु खेती ६४ हजार ४ सय ८३ हेक्टरमध्ये ५३ हजार ३ सय हेक्टर भूभाग यस प्रदेशमा पर्दछ ।

खेतीयोग्य जग्गामध्ये ६ लाख २ हजार ३ सय ६ हेक्टरमा खेती गरिएको मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यसमा ८ लाख टन खाद्यान्न उत्पादन हुन्छ । तर, यहाँ उत्पादन हुने खाद्यान्नभन्दा १ लाख १२ हजार टन बढी माग छ । मधेसमा १० वर्ष र त्यसभन्दा माथिको जनसंख्या करिब ४५ प्रतिशत आर्थिक गतिविधिमा सक्रिय छन् । त्यसको ५४ प्रतिशत कृषि, वन र माछापालनमा कार्यरत छन् ।

चुरे दोहन र विनाशबाट तल्लो तटीय क्षेत्रमा आउने बाढीबाट मधेसका कृषि भूमि कटान हुने वा डुबानमा पर्ने समस्या भने छ । सन् १९९६ देखि २००५ सम्मको तथ्यांकअनुसार धनुषामा रातु नदीले मात्रै उक्त अवधिमा वार्षिक ७७.८ हेक्टर कृषि भूमिको क्षय गरेको छ । चुरे विनाशबाट कृषि भूमिलाई कटान वा डुबानमा पारेको मात्र होइन, बाढीसँगै बगाई ल्याएको बालुवा र नदीजन्य वस्तुले पुरिएर कृषि भूमिको उत्पादकत्वमा पनि ह्रास हुने गरेको कृषिविज्ञ युगलकिशोर तिवारीको भनाइ छ । ‘यतिविधि समस्याका बाबजुद पनि कृषि क्षेत्रमा यान्त्रीकरण, विविधीकरण, व्यवसायीकरण गरेर युवालाई आकर्षण गर्न सकिने अवसर छ,’ उनले भने ।

दुःख सिँचाइको

मधेस प्रदेशमा खेती गरिने जग्गामध्ये ६५.८ प्रतिशत सिञ्चित क्षेत्रफल रहेको सरकारी तथ्यांक छ । तर, सिँचाइकै अभावमा अन्न भण्डारमा खेत बाँझै रहने क्रम बढेको छ । प्रदेशमा वर्षैभरि सिँचाइ हुने पर्याप्त सम्भावना छ । सुनकोसी–कमला डाइभर्सन र सुनकोसी–मरिन डाइभर्सन परियोजना पूरा भए प्रदेशमा सिँचाइ खेती हुने क्षेत्रको बढोत्तरी मात्र हुन्न, उत्पादन वृद्धि पनि हुने सरकारी अपेक्षा छ ।

अहिले कमला नदीबाट पश्चिमी सिरहा र पूर्वी धनुषामा मात्र सिँचाइ भइरहेको छ । सुनकोसी–कमला डाइभर्सन र सुनकोसी–मरिन डाइभर्सन सम्पन्न भएपछि सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुनेछ । यसबाट खाद्यान्न, फलफूल, तरकारी र नगदे बालीको उत्पादनमा धेरै सुधार आउनेछ ।

मधेस प्रदेशमा ९ लाख ६६ हजार १ सय हेक्टर क्षेत्रफलमध्ये ६ लाख २ हजार ३ सय ६ हेक्टर कृषियोग्य तथा ५ लाख ६५ हजार ०९.१ हेक्टर जमिन सिँचाइयोग्य छ । यसमा हालसम्म ३ लाख ७२ हजार १ सय ३८ हेक्टरमा मात्र सतह र भूमिगत सिँचाइ पुगेको छ । प्रदेशको कुल कृषि भूमिमध्ये ७ सय ५ हेक्टर क्षेत्रफलमा कोसी पश्चिम, कमला, वाग्मती सिँचाइ नहरबाट र अन्य साना कुलो–पैनीबाट मौसमी सिँचाइ उपलब्ध छ । मौसमी सिँचाइ प्रणालीकै कारण अन्न भण्डारमा उत्पादकत्व बढाउन सकिएको छैन ।

यहाँका धेरैजसो सिँचाइ योजना प्राकृतिक नदी प्रणाली अवधारणामा बनाइएकाले बाह्रै महिना एकैनासले सिँचाइको सेवा उपलब्ध गराउन नसकिएको इन्जिनियर मनोहर साह बताउँछन् । प्रदेशको चुरे क्षेत्रमा भइरहेको अतिक्रमण तथा नदीजन्य निर्माण सामग्रीको दोहनका कारण पानीको मूल तथा बहावमा असर परेकाले पनि कृषियोग्य भूमि नासिँदै गएको उनको बुझाइ छ । ‘खेत–खेत मे पानी, हात–हात मे काम’ प्रदेश सरकारको नीति रहे पनि सिँचाइ अभावमै किसान छटपटिन बाध्य छन् ।

मनग्गे नगदे बाली

मधेस प्रदेशको मध्य भागमा पर्ने सर्लाही नगदे बालीमा अगाडि छ । उखु र गोलभेंडा यहाँ मनग्गे उत्पादन हुन्छ । उखु, गोलभेंडासहित पछिल्लो समय उन्नत जातको मकै पनि किसानको रोजाइमा छ । तरकारीसहित धान र गहुँ पनि यहाँ उत्तिकै उत्पादन हुने गर्छ । पछिल्लो समय भने नगदे बाली उखु किसानलाई ‘ग्रहण’ लागेको छ । मूल्य र भुक्तानी समस्याले यो खेती दिन प्रतिदिन घट्दै गएको छ ।

वीरगन्ज चिनी कारखानामा बिक्री गर्न सर्लाहीका उत्तरी क्षेत्रका एक–दुई किसानले २०३२ सालतिर सुरु गरेको उखु अहिले २० हजार हेक्टरमा फैलिएको छ । उखु खेती गर्दै आएका किसानका लागि २०४० सालमा हरिवनमा इन्दुशंकर चिनी उद्योग स्थापना भएपछि खेती बढेको हो । उखुको विस्तारले नै मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्लाका रूपमा सर्लाहीले पहिचान बनाएको छ । इन्दुशंकर चिनी उद्योग स्थापना भएपछि जिल्लामा उखु खेती बढेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली बताउँछन् । हाल जिल्लामा इन्दुशंकरसहित धनकौलमा अन्नपूर्ण चिनी उद्योग र बगदहमा महालक्ष्मी चिनी उद्योग गरी तीन चिनी उद्योग सञ्चालनमा छन् ।

धान र गहुँमा मात्र केन्द्रित रहेका किसानले नगदे बालीका रूपमा उखु खेती गर्न थालेपछि उनीहरूमा परिवर्तन देखापर्न थाल्यो । रातदिन खेतमा अल्झिएका किसान उखु खेती गरेपछि केही फुर्सदिला पनि भए । फुर्सदिला किसानले राजनीतिमा समेत फड्को मार्न थाले । उखु किसानको छवि बनाएका सर्लाहीका दुई प्रदेश सांसद, दुई पालिका प्रमुख नै छन् । सर्लाहीको उत्तरी क्षेत्रमा सिँचाइ असुविधा भए पनि उखुले किसानको जीवन नै फेरिएको प्रदेश सांसदसमेत रहेका अगुवा किसान डिल्ली उप्रेती बताउँछन् । आर्थिक प्रगतिका साथै फुर्सदसमेत भएकाले राजनीतिमा पकड जमाउन सफल भएको उनको भनाइ छ ।

उखु किसानको प्रगतिपछि उत्तरी क्षेत्र शिक्षाको हब बन्न थाल्यो । छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने सपना किसानको पूरा हुन थाल्यो । उखु खेतीबाटै किसानले प्रत्येक वर्ष ४ अर्ब रुपैयाँभन्दा बढी रकम पाइरहेका छन् । उखु खेती बढ्दा यो रकम भने ७ अर्ब रुपैयाँभन्दा बढी हुने गरेको किसान बताउँछन् ।

उखु खेतीमा किसानको आकर्षण बढ्दै गएपछि २०६८ सालमा सर्लाहीको धनकौलमा अन्नपूर्ण चिनी उद्योग स्थापना भयो । दशकअघि स्थापित यो उद्योग भुक्तानी विवादका कारण सञ्चालनको पाँच वर्षमै बन्द हुन पुग्यो । भुक्तानीमा झमेला र कमजोर प्रशासनका कारण मिल बन्द भएको थियो । मिल नै बन्द भएपछि वर्षौंअघि बेचेको उखुको भुक्तानीका लागि किसान छटपटाउन थाले । उनीहरूलाई आन्दोलन गर्नुपर्ने बाध्यता आइलाग्यो । भुक्तानी नदिएको भन्दै किसानले उजुरी दिएपछि तत्कालीन मिल सञ्चालक राकेश अग्रवाल प्रहरी हिरासतमा पनि परे । पछि उनले किसानको भुक्तानी चुक्ता गर्दै उद्योग नै बेचिसके । झन्डै चार वर्ष बन्द रहेको उक्त उद्योग आगामी वर्षदेखि नियमित सञ्चालनको तयारीमा छ ।

उखुको सहज भुक्तानी, राज्यबाट तत्कालै अनुदान र मूल्य तय गर्न बर्सेनि आन्दोलन गर्नुपर्ने बाध्यता अन्त्य भए जिल्ला नै उखुमय बन्ने महासंघका अध्यक्ष मैनालीको दाबी छ । सरकारबाट सहज रूपमा मलको आपूर्ति, खेतीमा अत्याधुनिक प्रणाली र उन्नत जातको बीउको उपलब्धताले उखुको उत्पादन अनुपात अहिलेकै क्षेत्रफलमा पनि दोब्बर बढाउन सकिने उनको भनाइ छ । ‘किसानलाई मलखाद, बीउबिजनमा अनुदान परको कुरा, समयमा मल उपलब्ध हुँदैन, कालोबजारी गरेर खेतबारीमा मल हाल्नुपर्छ, त्यसमा पनि भुक्तानीको समस्या थपिन्छ,’ उनले भने ।

गोलभेंडा उत्पादनमा पनि सर्लाही चर्चित छ । सर्लाहीमा उत्पादित गोलभेंडा राजधानी काठमाडौंसहित पोखरा, नेपालगन्ज, बुटबल, नारायणगढ, इटहरीलगायत स्थानमा निर्यात हुने गरेको छ । हरेक वर्ष मंसिरदेखि फागुन अन्तिमसम्म लालबन्दी र नवलपुरस्थित कृषि उपज बजारबाट प्रतिदिन १५० टनसम्म गोलभेंडा निकासी हुने गरेको बजार व्यवस्थापकहरू बताउँछन् । मल र कीटनाशक औषधि सहज रूपमा उपलब्ध भए अझै उत्पादन बढ्ने अत्रौलीका किसान शीतल महतोले बताए ।

बर्सेनि ४० करोड रुपैयाँ हाराहारीमा गोलभेंडाको कारोबार हुने सर्लाहीमा उत्पादनका बेला यहाँ लाग्ने हुस्सु र वर्षाले बोटलाई क्षति पुर्‍याउने गरेको छ । उत्पादनका बेला भारतीय गोलभेंडा आयातका कारण पनि किसानले घाटा बेहोर्नुपरेको छ ।

भुक्तानीको झन्झटले उखु खेती घटाउँदै लगेका किसानले वर्षमा तीन बाली लगाउन थालेका छन् । तेस्रो बालीका रूपमा किसानले उन्नत जातको मकै रोजेका छन् । धान, हिउँदे बाली भित्र्याएका किसानले खेत खाली बसेको मौकामा मकै लगाउन थालेका हुन् । तेस्रो बालीका रूपमा रहेको मकैमा मुनाफा राम्रो हुने गरेकाले किसानको आकर्षण यसतर्फ बढेको हरिपुर नगरपालिका–३ फरहदवाका किसान गोनौर रामले जानकारी दिए ।

सर्लाहीमा १२ हजार हेक्टरमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले बताएको छ । ७२ हजार टन उत्पादन हुने मकैबाट किसानले बर्सेनि १ अर्ब ४४ करोड रुपैयाँ बुझ्ने गरेका छन् ।

प्रकाशित : वैशाख ७, २०७९ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्

बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

कान्तिपुर संवाददाता

लन्डन — गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । आचार्यले जोन्सनको आसन्न दक्षिण एसिया भ्रमणका क्रममा नेपालमा पनि आउन आउन निम्तो दिएका हुन् । 

नेपाल र बेलायतबीचको मित्रवत् सम्बन्ध विश्वमा उदाहरणीय रहेको भन्दै बेलायतमा नै व्यवसाय गरिरहेका आचार्यले गोर्खा सैनिकमार्फत सम्बन्ध अझ प्रगाढ बनेको बताए ।

भूकम्प जाँदा होस् या कोरोना महामारीजस्ता हरेक कठिनाइमा बेलायतले नेपाललाई गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपाल-बेलायत सम्बन्धलाई अझ उचाईमा पुर्‍याउनका लागि नेपालको छिमेकी देश भारत भ्रमण गर्दैगर्दा नेपालको पनि भम्रण गर्न उनले निम्तो दिएका हुन् ।

बेलायत नेपालको सबैभन्दा ठूलो विकास साझेदार रहेको र दुई देशबीच उच्च स्तरमा भेटवार्ता हुन सके एक-आपसमा चौतर्फी सहयोग र विकासका आयामहरू अघि बढ्ने आचार्यले बताएका छन् ।

नेपाल र बेलायतको २०० वर्षको इतिहासमा बेलायती राजपरिवारको नेपाल भ्रमण पटक-पटक भए पनि प्रधानमन्त्रीको भम्रण हालसम्म नभएको भन्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनका लागि उनले जोन्सनलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।


प्रकाशित : वैशाख ७, २०७९ १५:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×