कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७
मधेसको मान

आँपको राजधानी

आँपको कुल उत्पादनमध्ये करिब ७६ प्रतिशत मधेस प्रदेशमै, लिची उत्पादनमा पनि अगाडि, फलफूलको माग चुलिँदै जाँदा उत्पादन भने बढ्न सकेन
राजु चौधरी

काठमाडौँ — जसरी फलफूलको राजा भनेर आँपलाई चिनिन्छ, त्यसरी नै आँपको राजधानी मधेस प्रदेशलाई भन्दा अत्युक्ति हुँदैन । सबैभन्दा बढी आँप हुने भनेकै मधेस प्रदेश हो, जहाँ कुल उत्पादनको ७६ प्रतिशत आँप फल्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार मुलुकभर ४२ हजार १ सय ९६ हेक्टरमा आँप खेती हुन्छ, जसबाट वार्षिक ४ लाख ५३ हजार ४ सय १६ टन उत्पादन हुन्छ ।

आँपको राजधानी

मधेस प्रदेशमा मात्र ३ लाख ४४ हजार १ सय ४० टन आँप फल्छ । मधेसमा ३० हजार ८९ हेक्टरमा आँप खेती गरिएको छ । मधेसका आठवटै जिल्लामा आँपको व्यावसायिक खेती भएकामा सबैभन्दा बढी उत्पादन सप्तरीमा हुन्छ । सप्तरीमा ८ हजार १ सय ६३ हेक्टरमा गरिएको खेतीबाट १ लाख १० हजार ९५ टन आँप फल्ने गरेको छ ।

यस्तै, दोस्रोमा सिरहामा ८ हजार ५ सय ६२ हेक्टरबाट वार्षिक ८८ हजार ३ सय ५४ टन आँप फलाइन्छ र तेस्रोमा रौतहटमा ५ हजार ४ सय ५२ हेक्टर खेतीबाट ६२ हजार १ सय ३३ टन उत्पादन हुन्छ । धनुषामा २२ हजार ९ सय १४ टन, बारामा १९ हजार १ सय ९९ टन, सर्लाहीमा १९ हजार ८६ टन, महोत्तरीमा १७ हजार ६ सय २७ टन र पर्सामा ४ हजार ७ सय ३१ टन आँप उत्पादन हुन्छ ।

मन्त्रालयका अनुसार मुलुकमा बम्बई ग्रिन, बम्बई एलो, गुलाबखास, दसहरी, मालदह, जर्दा, अल्फान्सो, चौसा, कलकत्तिया, नीलमलगायत जातका आँप उत्पादन हुन्छन् । वरिष्ठ तथ्यांक अधिकृत रेग्मीका अनुसार हावापानीका दृष्टिले मधेस आँप उत्पादनका लागि अनुकूल छ । ‘तर आँपको उपभोग व्यापक बढिरहँदा पनि स्वदेशी उत्पादन त्यही हिसाबमा बढ्न सकेन,’ उनले भने ।

व्यावसायिक रूपमा मुलुकभर २४ जिल्लामा आँपको खेती हुन्छ । मलखाद, प्राविधिक तालिमलगायत सुविधा नभएर उत्पादन नबढ्दा ठूलो मात्रामा आँप आयात गर्ने गरिएको राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष नवराज बस्नेतले बताए ।

नेपालमा भारतबाटै आँप आयात गरिन्छ । आँपको मौसम सुरु हुँदै गर्दा भारतीय आँप भित्रिन थालिसकेको छ । विज्ञका अनुसार भारतबाट आयात हुने अधिकांश आँपमा रसायन मिसाइएको हुन्छ । तर आँपमा विषादी प्रयोग भए/नभएको परीक्षण हुँदैन । ‘मुलुकभित्रै पर्याप्त आँप उत्पादन हुने सम्भावना हुँदाहुँदै सरकारले किसानलाई प्रोत्साहन गर्न सकेको छैन,’ अध्यक्ष बस्नेतले भने, ‘सरकारले राष्ट्रिय फलफूल विकास केन्द्र स्थापना त गरेको छ तर केन्द्रले किसानको हितभन्दा आफूअनुकूल योजना र कार्यक्रम बनाउने मात्रै गरेको छ ।’

बस्नेतका अनुसार सरकारले विभिन्न जिल्लामा नमुना बगैंचा बनाएर किसानलाई अवलोकन गराउँदै तालिम दिएर प्रोत्साहन गर्न जरुरी छ । समयमै मलखाद उपलब्ध हुने व्यवस्था पनि सरकारले गर्नुपर्ने उनले बताए । ‘तर किरा तथा रोग नियन्त्रणमा समेत सरकारले चासो दिँदैन,’ उनले भने, ‘विभिन्न कठिनाइका बाबजुद किसानले आँप उत्पादन गरिरहेका छन् ।’

आँप उष्ण प्रदेशीय सदाबहार फलफूल हो । यसको बोट १५ देखि २५ मिटरसम्म अग्लो हुन्छ । आँपका बिजु बोट सय वर्षसम्म र कलमी बोट ७० देखि ८० वर्षसम्म बाँच्न सक्छ । आँपको बिरुवाका लागि गोबर/कम्पोस्ट मल, नाइट्रोजन, फस्पोरस, पोटास चाहिन्छ । तर किसानले समयमै मल पाउन नसक्दा उत्पादन बढाउन नसकिएको महासंघको भनाइ छ ।

मन्त्रालयको विवरणअनुसार लुम्बिनी प्रदेशमा ४१ हजार ४ सय १० टन आँप उत्पादन भएको छ । लुम्बिनीमा ४ हजार ६ सय ४ हेक्टरमा आँप खेती छ । प्रदेश १ मा ३ हजार ६ सय २ हेक्टरबाट ३३ हजार १ सय ४२ टन आँप उत्पादन हुन्छ । सुदूरपश्चिम प्रदेशमा १ हजार ३ सय ६० हेक्टरबाट १४ हजार २५ टन, वाग्मतीमा १ हजार १२ हेक्टर खेतीबाट ९ हजार ५ सय २५ टन आँप फलाइन्छ । कर्णाली प्रदेशमा ९ सय २६ हेक्टर आँप खेतीमा ६ हजार ८ सय ७७ टन र गण्डकी प्रदेशमा ६ सय ४ हेक्टरमा ४ हजार २ सय ९८ टन उत्पादन हुन्छ ।

मधेस प्रदेश लिची उत्पादनमा पनि अग्रस्थानमा छ । मन्त्रालयका अनुसार मधेस प्रदेशमा वार्षिक १९ हजार १ सय ८० टन लिची उत्पादन हुन्छ । वाग्मतीमा ७ हजार १ सय ४५ टन, प्रदेश १ मा ५ हजार २ सय ६३ टन, लुम्बिनीमा ४ हजार १ सय ४८ टन, गण्डकीमा २ हजार ६ सय २२ टन, कर्णालीमा ५ सय १८ टन र सुदूरपश्चिममा ५ सय ८९ टन लिची उत्पादन हुन्छ ।

केरा उत्पादनमा मधेस दोस्रो स्थानमा आउँछ । मन्त्रालयका विवरणअनुसार प्रदेश १ मा ५ हजार ३ सय ६६ हेक्टर खेतीबाट ८६ हजार ६ स्य ६४ टन केरा उत्पादन हुन्छ । मधेस प्रदेशमा २ हजार ८ सय ४४ हेक्टरमा लगाइएको केरा खेतीबाट ५० हजार ५६ टन उत्पादन हुन्छ । ‘केरा उत्पादनमा मधेस प्रदेशको योगदान २० प्रतिशत छ,’ वरिष्ठ तथ्यांक अधिकृत रेग्मीले भने ।

केरा उत्पादनमा वाग्मती प्रदेश तेस्रो स्थानमा छ । वाग्मतीमा ४० हजार ५ सय ८५ टन, लुम्बिनीमा ३४ हजार १ सय २ टन, सुदूरपश्चिममा १९ हजार ७ सय ५३ टन, गण्डकीमा १९ हजार ६ सय ९६ टन र कर्णालीमा ३ हजार ३ सय ५ टन केरा फल्छ । यहाँको केराले स्वदेशी माग भने धान्दैन । त्यसैले केरा ठूलो मात्रामा आयात गरिन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १ अर्ब ७१ करोड रुपैयाँको केरा आयात गरिएको थियो । चालु आर्थिक वर्षको पहिलो ८ महिनामै १ अर्ब १६ करोड रुपैयाँको केरा आयात भइसकेको छ ।

मधेस प्रदेशमा मेवा वार्षिक २ हजार ७९ टन, अम्बा ४ हजार ३ सय २६ टन, कटहर ६ हजार ८ सय ९० टन, भुइँकटहर २ हजार ८ सय १७ टन उत्पादन हुन्छ । ‘कृषि प्रधान मुलुक भए पनि भारतीय फलफूल आयात गरेर खानुपर्ने बाध्यता छ,’ महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने । सरकारले किसानलाई प्रोत्साहन गर्ने नीति लिए फलफूल आयात दर घटाउन सकिने उनले बताए ।

अहिलेको उत्पादन किसानको एकल प्रयासबाट मात्र सम्भव भएको वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव मनोजकुमार दासले बताए । सरकारले उन्नत जातका बिरुवा, औषधि र तालिम उपलब्ध गराए आँप, लिची, केरालगायतको उत्पादन थप बढाउन सकिने उनको भनाइ छ ।

‘धान र गहुँबालीका लागि बोरिङमा सघाउनेबाहेक सरकारले फलफूलमा केही गरेन । अनुदान परको कुरा, औषधि, तालिम पनि दिँदैन,’ दासले भने, ‘अहिलेको उत्पादन किसानको एकल प्रयासबाटै भएको हो । आँप उत्पादन बढाउन सरकारले जेटिए पठाएर तालिम दिइदिए उत्पादन थप बढाउन सकिन्थ्यो ।’

प्रकाशित : वैशाख ७, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?