कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गुरुकुलदेखि विश्वविद्यालयसम्म 

यहाँ स्नातकोत्तर तहसम्म अध्यापन गराउने निजी कलेज सञ्चालनमा छन्, गाउँ–गाउँमा प्लस टुसँगै स्नातकसम्म अध्ययन–अध्यापन हुन थालेको छ 
श्यामसुन्दर शशि

जनकपुर — आधुनिक जनकपुरको प्रथम औपचारिक महाविद्यालय तथा यसका संस्थापक हुन्– अवधविहारी शरण (मौनीबाबा) । उनको योगदानबारे सहप्राध्यापक नूरापति पोखरेल लेख्छन्– 
‘विद्यागार : प्रथितयशसा मौनिना सिद्धवाचा । 
प्रज्ञादिप्त्या लसति तिमिरं नाशयन् ज्ञानकूपे ।’ 

गुरुकुलदेखि विश्वविद्यालयसम्म 

सिद्धवचन मौनीबाबाद्वारा स्थापित याज्ञवल्क्य विद्यालय प्रज्ञाप्रदायक तथा अँध्यारो नाश गर्ने स्थल बनेको छ भन्ने यसको अर्थ हो ।‘संस्कृत साहित्यको विकासमा जनकपुरको योगदान’ शीर्षक लेखमा पोखरेलले जनकपुरको प्रथम औपचारिक महाविद्यालयका संस्थापक मौनीबाबाले गरेका योगदानबारे चर्चा गरेका छन् ।

जनकपुरधाम–८ ज्ञानकूपमा १९६६ सालमा याज्ञवल्क्य संस्कृत प्रधान पाठशाला स्थापना भएको थियो । ११३ वर्ष पुरानो यस विद्यालयमा २०७३ सालअघि विद्यार्थी संख्या घट्दो थियो । त्यसैले पारम्परिक शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यले २०७३ सालमा विद्यालयमा प्राविधिक विषय पनि थपिएको पाठशालाका प्रधानाचार्य सञ्जयकुमार झा बताउँछन् । प्राविधिक विषय थपेपछि विद्यार्थी संख्यामा उल्लेख्य वृद्धि भएको छ । उनीहरूले संस्कृतसँगै प्राविधिक विषय पनि पढ्न पाएको झाको भनाइ छ । संस्कृत शिक्षा मात्र अध्ययन–अध्यापन हुँदै गर्दा २०७२ सालमा विद्यालयमा १७३ विद्यार्थी मात्र थिए । अहिले विद्यार्थी संख्या १५६७ पुगेको छ ।

याज्ञवल्क्य संस्कृत मावि रहेको ज्ञानकूपमा त्रेतायुगमा जनकपुत्री सीताको शिक्षा–दीक्षा लिएको र यहीं बसेर याज्ञवल्क्यले शुक्लयजुर्वेदको मध्यन्दिनीय शाखा लेखेको झाको दाबी छ । मैत्रेयी, गार्गी तथा सतानन्द जस्ता विद्वान्–विदुषीको साधनास्थल ज्ञानकूप परिसरमा अझै पनि विद्याकूप र सतानन्द कूप विद्यमान छ । पूर्वीय दर्शनका षड्दर्शनमध्ये चार दर्शन मिथिलामै लेखिएको बताइन्छ । यीमध्ये पूर्वमीमांसाका सर्जक महर्षि जैमिनी, सांख्य दर्शनका प्रणेता महर्षि कपिल, वैशेषिक दर्शनका प्रणेता महर्षि कणाद तथा न्याय दर्शनका प्रणेता महर्षि गौतम मिथिलामै जन्मेका थिए । वेदान्त (उत्तर मीमांसा) का प्रणेता बादरायण र योग दर्शनका प्रणेता पतञ्जलि भने अन्य भूगोलमा जन्मेका दार्शनिक रहेको इतिहासकारहरू बताउँछन् ।

यसरी वेद, पुराण, उपनिषद् तथा लोकसाहित्यमा वर्णित मिथिला रामायणकालमा स्वर्णयुगका रूपमा चर्चित थियो । मिथिलाको सुन्दरता, सम्पन्नता तथा यहाँका राजाको प्रजावत्सल्लताको चर्चा धार्मिक ग्रन्थहरूमा पाइन्छ । इतिहासकार लक्ष्मण अर्यालले ‘जनकपुर : पर्यटन उद्योगको अनन्त सम्भावना’ विषयक लेखमा राजा जनकको लामो शासनपछि ईपू छैटौं शताब्दीमा यो क्षेत्र बज्जी संघको एक सदस्यका रूपमा परिणत भएको उल्लेख गरेका छन् ।

अध्ययन, अनुसन्धान र शास्त्रार्थको गौरवशाली परम्परा रहेको जनकपुरमा परम्परागत शिक्षाको थालनी भने १९६६ सालपछि मात्र सुरु भएको इतिहासविद्हरू बताउँछन् । त्यो पनि एक जना साधुको प्रयासले । राम मन्दिरको झुलाघरबाट सुरु भएको राजकीय संस्कृत प्रधान पाठशाला १९६६ सालमा याज्ञवल्क्य संस्कृत महाविद्यालयका रूपमा संस्थागत भएको थियो । भारतको चित्रकुटबाट आएका मौनीबाबाले तत्कालीन प्रधानमन्त्री पद्मशमशेर तथा स्थानीय दातासँगको सहयोगमा विद्यालय निर्माणका लागि ३ बिघा ७ कट्ठा १० धुर तथा सञ्चालन खर्चका लागि झन्डै ५१ बिघा जग्गा भिक्षाटनबाट प्राप्त गरेका थिए । त्यसैबाट विद्यालय सञ्चालन हुने गरेको इतिहासकारहरूको भनाइ छ ।

संस्कृत विद्यालयबाट परम्परागत अध्ययन–अध्यापन सुरु भए पनि जनकपुरमा आधुनिक शिक्षाको प्रारम्भ भने २००४ सालमा सरस्वती माध्यमिक विद्यालय स्थापनासँगै भएको बताइन्छ । दाता रामस्वरूप–रामसागर साहले २००१ चैत १० मा धर्मसंस्था नामको निजी गुठी स्थापना गरी यसैका माध्यमबाट जनकपुरमा शैक्षिक, धार्मिक तथा सांस्कृतिक गतिविधि अगाडि बढाए । जनकपुरमा आधुनिक शिक्षाको जग बसाल्न साह परिवारको ठूलो योगदान छ । साह परिवारले नै जनकपुरमा सरस्वती माध्यमिक विद्यालय, जानकी माध्यमिक विद्यालय, कन्या माध्यमिक विद्यालय र रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार तयार पारेका थिए ।

आफ्नो पुस्तैनी सम्पत्तिबाट ३ सय २ बिघा १० कट्ठा १० धुर जग्गा, १० हजार १ भारतीय रुपैयाँसँगै १ हजार १ सय १ मन धान अक्षयकोष राखी स्थापित निजी गुठीमार्फत २००४ सालमा सरस्वती माध्यमिक विद्यालय स्थापना गरिएको थियो । बालिका शिक्षालाई प्रोत्साहन गर्न सकल भवन कन्या माध्यमिक विद्यालय पनि सञ्चालन गरिएको थियो ।

सरस्वती मावि पछि स्तरोन्नति भई २०२३ सालदेखि रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका रूपमा सञ्चालनमा आयो । क्याम्पस सञ्चालनका लागि दाता परिवारले ६९ बिघा जग्गा दान दिएका थिए । उनीहरूले भौतिक संरचनासमेत निर्माण गरिदिएका थिए । रामस्वरूप–रामसागरलाई जनकपुरमा औपचारिक शिक्षा प्रारम्भ गराउने पहिलो परिवार मानिने राजनीतिक विश्लेषक रोशन जनकपुरी बताउँछन् ।

याज्ञवल्क्य संस्कृत विद्यालय, कन्या माध्यमिक विद्यालयलगायत शिक्षालय स्थापनाअघि यहाँ अनौपचारिक शिक्षा भने सुरु भइसकेको थियो । यहाँका बालबालिका गुरुकुलमा अनौपचारिक शिक्षा प्राप्त गर्थे । टोलटोलमा गुरुजी हुन्थे । कोही रूखमुनि पढाउँथे त कोही सार्वजनिक वा निजी दलानमा । ‘पछि, भारतबाट पढेर आएका मेघप्रसाद उपाध्याय, पूर्वमन्त्री तथा समाजसेवी मकेश्वरप्रसाद सिंह तथा गौरीनारायण डिट्ठालगायतका सामाजिक अभियन्ताको सल्लाहमा दाता रामस्वरूप र रामसागर साह शिक्षामा लगानी गर्न उत्साहित भए अनि जनकपुरमा विद्यालय र कलेज स्थापना गरियो,’ प्राध्यापक सुरेन्द्र लाभ भन्छन् ।

जनकपुरमा आधुनिक शिक्षाको प्रसार गर्न लोकराम पाण्डे तथा गंगाधर दत्त जस्ता शिक्षकको योगदान अहं रहेको लाभले बताए । तीन दशकअघिसम्म राराब क्याम्पस जनकपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटसँगै उदयपुर, सिन्धुली, रामेछाप, चरिकोट, ओखलढुंगालगायतका छात्रछात्राको पहिलो शैक्षिक गन्तव्य रहेको उनले बताए । ज्ञानकूपमा निःशुल्क संस्कृत शिक्षा तथा राराब क्याम्पसमा आधुनिक शिक्षा प्राप्त गर्न देशका विभिन्न भागबाट विद्यार्थीहरूको ओइरो लाग्ने गरेको लाभले जानकारी दिए । तर विश्वविद्यालयबाट प्लस टु तह हटेपछि र निजी विद्यालयलाई उच्च शिक्षा अध्यापन गराउने जिम्मा दिएपछि राराब क्याम्पस सुनसान बन्यो । विद्यार्थीको संख्या स्वात्तै घट्यो ।

गुरुकुलबाट सुरु भएको जनकपुरको शिक्षाले पछिल्लो समय राम्रै फड्को मारेको छ । यहाँ स्नातकोत्तर तहसम्म अध्यापन गराउने निजी क्षेत्रका कलेज छन् । गाउँ–गाउँमा प्लस टु तहसँगै स्नातकसम्म अध्ययन–अध्यापन हुन थालेको छ । २०७४ कात्तिक १२ मा केन्द्रीयस्तरको राजर्षि जनक विश्वविद्यालय जनकपुरमा स्थापना भएपछि जनककालीन शैक्षिक परम्पराले निरन्तरता पाउने विश्वास गर्न थालिएको छ । यद्यपि संघीय एवं प्रदेश सरकारको उदासीनता र पदाधिकारी नियुक्तिमा हुने गरेको राजनीतीकरणले विश्वविद्यालय राम्ररी सञ्चालन हुन सकेको छैन ।

प्रकाशित : वैशाख ७, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?