स्वादिलो सेकुवा- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
परिकारमा पहिचान

स्वादिलो सेकुवा

कलैयाको भरत चोक सेकुवा पारखीहरुको ‘जंक्सन’ हो, चोकमै सेकुवाको हरहरी बास्ना आइरहेको हुन्छ
लक्ष्मी साह

बारा — सोनालाल साह र पिन्टु साह दाजुभाइ हुन् । कलैयाको भरत चोकमा उनीहरूको सोनु सेकुवा पसल छ । उनीहरू बिहान ७ देखि राति ९ बजेसम्म पसलमै हुन्छन् । यसबीचमा उनीहरूलाई खसीको मासु काट्ने, फ्रिजिङ गर्ने, मसला मिसाउने, झिरमा गुथ्ने र आगोमा पोलेर ग्राहकलाई दिने काममै व्यस्त हुन्छन् । २० वर्षदेखि यसरी नै पसल चलाइरहेका सोनालाल भन्छन्, ‘सेकुवा बेचेरै गाँस, बास र कपास जुटाएका छौं, सवारीसाधन पनि चढेका छौं ।’

सोनु सेकुवा पसलमा दिनमा करिब २५ किलो मासुको सेकुवा बिक्री हुन्छ । यहाँको सेकुवाको स्वाद चाखेकाहरूले सोनालाल र पिन्टुलाई इटहरी, जनकपुर, काठमाडौं र पोखरामा पनि विस्तार गर्न सुझाउने गर्छन् । कतिपयले त साझेदारीको प्रस्ताव पनि राख्छन् । तर बाहिर जाने आँट नगरेको पिन्टुले बताए । ‘आफ्नो ठाउँमा जस्तो बाहिर सजिलो हुँदैन होला,’ उनले भने ।

भरत चोक सेकुवा पारखीहरूको ‘जंक्सन’ हो । चोकमै सेकुवाको हरहरी बास्ना आइरहेको हुन्छ । यहाँ दिउँसो र बेलुकी सेकुवा खान आउनेहरूको भीड हुन्छ । कलैयामा चल्तीका सेकुवा पसल करिब १ दर्जन छन् । सेकुवा खानका लागि कुनै सिजन छैन, जाडो, गर्मी, वर्षात् या जुनसुकै समयमा सेकुवाका सौखिनहरू भरत चोकमा थुप्रिइरहेका हुन्छन् । काठमाडौं बस्दै आएकी कृष्णा श्रेष्ठ माइत कलैया आएका बेला झिरको सेकुवाको स्वाद नलिई नफर्कने गरेको बताउँछिन् । ‘काठमाडौंमा रहेका बेला पनि यहाँको रसिलो सेकुवा सम्झिरहेकी हुन्छु,’ उनले भनिन् ।

बारा जिल्लाकै गल्ली–गल्लीमा सेकुवा व्यवसाय फस्टाएको छ । तर मुख्य रोजाइ कलैया नै बन्ने गरेको छ । सेकुवा प्रायः प्रतिझिर ५० रुपैयाँ पर्छ । एक जनाले ४० झिरसम्म सेकुवा खान्छन् । कतिपयले प्याकिङ गरेर कोसेलीका रूपमा पनि लान्छन् । मासु, कोइला र घर भाडाको दर बढेसँगै सेकुवाको भाउ पनि वृद्धि हुँदै गएको छ । तर, सेकुवा पसलमा ग्राहकको संख्या घटेको देखिँदैन ।

किन यति लोकप्रिय छ त कलैयाको सेकुवा ? ‘रसिलो सेकुवा बनाउन कला चाहिन्छ,’ सोनालालले भने, ‘यस्तो कला सबैसँग हुँदैन ।’ सोनालालका अनुसार मरीच, नुन र मसलाको मात्रा तथा खसीको आकारले पनि स्वादमा फरक पार्छ । उनले १० देखि १२ केजीसम्मको खसी सेकुवा बनाउन उपयुक्त हुने बताए । ‘बोसोले कति मात्रामा मासु गुथ्ने भन्ने पनि जान्नुपर्छ । बोसोले सेकुवालाई रसिलो बनाउँछ,’ उनले भने, ‘कोइलाको कति तापमा कसरी सेकुवा पोल्ने हो, त्यो पनि जान्नुपर्छ ।’

साधारणतया खसीको मासुमा आवश्यकताअनुसार आयोडिनयुक्त नुन मिसाइन्छ । त्यसपछि मासुलाई पाँच–सात ग्रामको टुक्रा पारिन्छ । थोरै बोसोसँगै छ–सात टुक्रा मासु फलामको झिरमा गुथिन्छ । मासुलाई कोइलाको आगोमा एकैचोटि १५/२० झिर राखेर पंखाबाट हल्का हावा दिइन्छ । त्यस क्रममा झिरलाई विस्तारै निरन्तर नचाउँदै पोल्ने गरिन्छ । मासु हल्का रातो भएपछि खान तयार भएको बुझ्नुपर्छ ।

सेकुवा पोल्दापोल्दै त्यसको बास्नाले ग्राहकको मुख रसाइसकेको हुन्छ । सेकुवा पोलेर ठिक्क भएपछि प्लेटमा सलाद, हरियो खुर्सानी र भुजासँगै राखेर ग्राहकको टेबलमा पुर्‍याइन्छ । कतिपयले पेय पदार्थका साथमा पनि सेकुवा खान्छन् । गाउँघरमा स्थानीय भट्टीबाट सेकुवा तयार गरेर खाने पुरानै चलन हो । कलैया–४ का सुकदेव साह (हाल दिवंगत) ले भने चार दशकअघि यसलाई व्यावसायिक रूप दिए । सुकदेवले आफ्नै नाममा सेकुवा पसल खोलेका थिए । उनले बनाएको स्वादिलो सेकुवा चाख्नेहरू पारखी बन्दै गए । अरूले पनि सिको गर्दै सेकुवा पसल खोल्न थाले अनि सेकुवा व्यवसाय फैलँदै गयो ।

सुकदेवका नाति धीरजका अनुसार घरको आर्थिक अवस्था कमजोर भएर परिवार धान्न मुस्किल भएपछि सुकदेवले सेकुवालाई व्यवसायको रूप दिएका थिए । पछि सेकुवाका लागि ‘सुकदेव’ ब्रान्ड नै बन्यो । अहिले उनका छोरा, ज्वाइँ र सालोले ‘सुकदेव’ ब्रान्डको सेकुवा पसल चलाइरहेका छन् ।

प्रकाशित : वैशाख ७, २०७९ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्

उद्यममा महिला, अर्थतन्त्रमा उथलपुथल

आर्थिक सबलीकरणले महिलामा निर्णय लिने र नेतृत्व गर्ने क्षमता विकास हुन्छ, वित्तीय रुपमा सबल महिलामा लैंगिक विभेद वा हिंसा पनि कमी देखिएको विभिन्न अध्ययनमा पाइएको छ
डा. सुषमा तिवारी (द्विवेदी)

काठमाडौँ — परिवार, समुदाय र मुलुकको परिवर्तनमा योगदान गरेका महिलालाई अलग राखेर मुलुकको सार्थक विकास सम्भव छैन । खासगरी अर्थतन्त्रमा महिलाको सहभागिताले अर्थपूर्ण महत्त्व छ । अर्थतन्त्रका महत्त्वपूर्ण आधार कृषि, उद्योग व्यवसाय, पर्यटन, पेसागत र वैदेशिक रोजगार जस्ता क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ, जुन सकारात्मक छ । 

महिलाको उल्लेखनीय सहभागिता रहेको कृषिको कुल गार्हस्थ्य उत्पादनमा २८.९ प्रतिशत योगदान छ । पर्यटनतर्फ खासगरी होमस्टेमा खानपान, बसाइलगायतको व्यवस्थापन महिलाले नै नेतृत्व गरिरहेका छन् । वैदेशिक रोजगारीमा महिलाको संख्या वृद्धि हुनु भनेको मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको विप्रेषण (रेमिट्यान्स) मा महिलाको योगदान बढ्नु हो । रोजगारीका लागि महिला विदेश जाने क्रमले सामाजिक, सांस्कृतिक परिवर्तन पनि ल्याएको छ । हुन त वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षाको सवाल पनि टड्कारो छ । यसलाई समाधान गर्ने दायित्व राज्यको हो ।

उद्यम–व्यवसायले आफूलाई आत्मनिर्भर मात्र बनाउँदैन, मुलुककै अर्थतन्त्रलाई समेत टेवा दिन सक्छ भन्ने सोच धेरै महिलामा पाइन थालेको छ । केही साताअघि वीरगन्जमा महिला उद्यमीहरूको सम्मेलन भएको थियो । त्यहाँ उपस्थित महिला उद्यमीको संख्या र उनीहरूको अग्रसरता देख्दा लाग्यो, मुलुकको अर्थतन्त्रको मुहार चाँडै फेरिनेछ । उद्यम–व्यवसायमा जागरुक महिलालाई परिवार, समाज र सरकारका तर्फबाट निरन्तर प्रोत्साहन भने हुनुपर्छ ।

महिलाको संख्या कुल जनसंख्याको आधाभन्दा बढी छ । यो संख्या आफैंमा शक्ति हो । यसको जति बढी हिस्सालाई उद्यम, व्यवसायमा संलग्न गराउन सकियो, अर्थतन्त्र उति सबल बन्न सक्छ । खासगरी महिलाका लागि क्षमता अभिवृद्धि महत्त्वपूर्ण छ । विश्व बैंकको हालै सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार नेपाल लैंगिक समानताका दृष्टिले दक्षिण एसियाली मुलुकमा सबैभन्दा उत्कृष्ट स्थान (१०० मा ८०.६ अंक) मा छ । तर यो पर्याप्त छैन । राज्यले महिलालाई शिक्षा र उद्यमशीलतामा प्रेरित गर्न सके लैंगिक समानताको सूचकमा नेपालले अझै फड्को मार्न सक्छ ।

कोभिड–१९ महामारीले आयआर्जनमा प्रभाव पारेका बेला धेरै महिलाले अनलाइनमार्फत घरमै बसीबसी व्यापार गरे । अहिले त्यसैलाई निरन्तरता दिनेहरू थुप्रै छन् । नेपाल राष्ट्र बैंकअनुसार कोभिड–१९ महामारी सुरु भएयता ८० हजार ६१ जना महिलाले साना तथा मझौला उद्योग सञ्चालन तथा व्यापारका नाममा ७३.८५ अर्ब रुपैयाँ कर्जा लिएका छन् । यसले प्रतिकूल परिस्थितिमा पनि महिलाले आफ्नो उद्यमलाई अगाडि बढाउने आँट गरेको देखाउँछ । तर यसमा सहुलियतमा कर्जा निकाल्नका लागि महिलालाई अघि सारेर पुरुषले उद्योग सञ्चालन गर्नेको हिस्सा पनि रहेको आशंका गरिएको छ ।

गाउँ–सहरमा ससाना उद्योग सञ्चालन गर्ने महिलाको संख्या बढ्दै गएको छ । सहकारी संस्था तथा बैंकहरूबाट कर्जा लिएर कोहीले माछा पालेका छन्, कोही कुखुरा पालन, पशुपालन, मौरी पालनमा संलग्न भएका छन् । खुद्रा व्यापारमा पनि महिला बढेका छन् । बुटिक र ब्युटिपार्लर त महिलाकै कब्जामा छ ।

विभिन्न पेसा र व्यवसायमा महिलाको उपस्थिति बढ्दै जानु परिवार र समाजको संकुचित सोचमा परिवर्तन आउँदै गरेको संकेत पनि हो । अर्थात् परिवार र समाजको चौघेराबाट बाहिर निस्कन महिलालाई सहज बन्दै गएको छ । पिछडिएका कतिपय समुदायमा भने अझै पनि समस्या छ । त्यस्ता समुदायका महिला परिवारको पुरातन सोचका कारण व्यवसायमा संलग्न हुन सकेका छैनन् । त्यस्ता परिवारमा जनचेतना जरुरी छ ।

उद्योग व्यवसायमा एक महिलाको सहभागिता वा सफलता अर्को महिलाका लागि प्रेरणाको स्रोत बन्न सक्छ । वीरगन्जकी यशोदा गजुरेल ‘यशोदा ब्याग तथा रेडिमेड उद्योग’ की सञ्चालक हुन् । उनी समय, लगानी र आत्मबलको उचित तालमेल गर्न सके उद्यममा सफल भइने बताउँछिन् ।

जनकपुरकी ब्युटिपार्लर सञ्चालक रिंकु साह एकल महिला हुन् । आत्मविश्वास र मिहिनेतकै कारण आफूले व्यवसाय गरेर नाम र दाम कमाएको उनको भनाइ छ ।

ब्युटिपार्लर व्यवसायमा संलग्न कतिपय मधेसी महिला भने नकारात्मक टीकाटिप्पणी पनि आउने गरेको भए पनि त्यसलाई बेवास्ता गर्दै अघि बढेको बताउँछन् । ‘मैले ब्युटिपार्लर खोल्दा श्रीमतीलाई हजाम बनाउनुभएछ भनेर श्रीमान्सँग कुरा गरेछन्,’ वीरगन्जकी एक महिलाले सुनाइन् । वीरगन्जकी गुड्डी जोशी ब्युटिपार्लर व्यवसायमा सफल छिन् । उनको मनग्य कमाइबाट प्रेरित भएर ब्युटिपार्लर व्यवसायमा लागेका महिला थुप्रै देखिन्छन् ।

ठूला उद्योगमा महिलाको संलग्नता एकदम न्यून छ तर महिलाले चलाएका साना र मझौला उद्योग प्रशस्तै छन् । अचार, पापड, टपरी, दुबोको माला, मैनबत्ती, अगरबत्ती बनाउने, कपडा सिलाउने, झोला उत्पादन गर्ने जस्ता उद्योगहरू महिलाले चलाइरहेको देखिन्छ ।

व्यवसायमा संलग्न महिलाले घरभित्रको कामसमेत भ्याइरहेका हुन्छन् । कतिपय महिला भने घरको बोझसमेत उत्तिकै बोक्नुपर्ने हुनाले व्यवसायमा हात हाल्ने आँट गर्न सक्दैनन् । घरमा कोही पाहुना आउनुपर्दा काम नै बन्द गर्नुपर्ने बाध्यता पनि छ महिलालाई । अरू महिलाले बाहिर गरेको कामको प्रशंसा गर्ने कतिपय पुरुषले भने आफ्नी श्रीमतीलाई व्यवसायमा लाग्न प्रेरित गरेका छैनन् । बरु श्रीमतीलाई घरभित्रको ‘शो–पिस’ बनाएर राखेकैमा खुसी छन् । त्यसैले शैक्षिक योग्यता र दक्षता हुँदाहुँदै पनि धेरै महिला घरभित्रै सीमित हुनुपर्ने स्थिति अझै देखिन्छ । परिवारबाट पर्याप्त सहयोग पाएका र आफूले पनि व्यवसायमा मनग्य समय दिन सकेका महिलाले भने पछाडि फर्कनुपर्दैन ।

पछिल्लो समय सीप विकास तालिम र महिला सशक्तीकरणका कार्यक्रम बाक्लिएका छन् । यस्ता तालिम र कार्यक्रमले महिलामा आफैं केही गर्न एवं आत्मनिर्भर बन्न आँट र आत्मविश्वास बढाउने गरेका छन् । उनीहरूको आत्मविश्वासमा बल दिएर अभिभावकले प्रोत्साहन गर्न जरुरी छ । उद्यम–व्यवसायमा संलग्न भए आर्थिक सबलीकरण हुन्छ । आर्थिक सबलीकरणले महिलामा आत्मविश्वास चुलिन्छ । उनीहरूमा निर्णय लिने र नेतृत्व गर्ने क्षमता विकास हुन्छ । आर्थिक रूपमा सबल भएका महिलामा लैंगिक विभेद वा हिंसा पनि कमी देखिएको विभिन्न अध्ययनमा पाइएको छ । त्यसैले उद्यम–व्यवसायमा संलग्नता महिला सशक्तीकरणसँग प्रत्यक्ष सम्बन्धित छ ।

महिला सशक्तीकरणका लागि प्रभावकारी नीति, कार्यक्रमको अझै खाँचो छ । सरकारले महिलालाई व्यवसायमा प्रेरित गर्न अनुदान र ऋणमा सहुलियत दिने गरेको छ । अहिले महिला लक्षित कार्यक्रम स्थानीय तहबाट पनि सञ्चालन गर्न सकिन्छ । यस्ता कार्यक्रमबाट जतिसक्दो बढी महिला लाभान्वित हुने वातावरण बनाउनुपर्छ । कतिपय महिला यस्ता कार्यक्रमबारे जानकारी नपाएर नै वञ्चित भइरहेका हुन सक्छन् ।

यस्तै, महिलाले घरको जिम्मेवारी सम्हाल्दै आयआर्जनको काम पनि गर्न सक्छिन्, त्यसमा पुरुषले काँधमा काँध मिलाइदिए सामाजिक र आर्थिक रूपान्तरण हुन्छ भन्ने सोच विकास गर्न जरुरी छ । समाज पितृसत्तात्मक सोचले ग्रसित छ । त्यस्तो सोच र व्यवहारमा परिवर्तन ल्याउन सजिलो नभए पनि असम्भव छैन ।

आफ्ना उत्पादन बजारमा पुर्‍याउने उपाय नजान्दा कतिपय महिला उद्यम–व्यवसायबाट पलायन हुन सक्छन् । त्यसले ‘महिलाले गर्न सक्दैनन्’ भन्ने परिवार र समाजको दृष्टिकोणलाई बढावा दिन्छ । त्यसैले राज्य र संघसंस्थाले महिलालाई बजारीकरणको बाटो देखाइदिन सके उद्यम–व्यवसायमा आकर्षण बढ्छ ।

आफ्नै उद्यम–व्यवसायमा महिला सहभागिता बढ्नु भनेको मुलुकको बेरोजगारी दर घट्नु हो । यसले अन्ततः गरिबी निवारणमा मद्दत पुग्छ । नेपालमै महिलाले व्यावसायिक रूपमा उत्पादन गर्न सक्ने थुप्रै सामान अहिले बाहिरी मुलुकबाट आयात गरिरहेका छौं । बढ्दो आयातका कारण मुलुकको व्यापार घाटा चुलिँदो छ । त्यसैले यहीं सम्भव हुने सामान उत्पादनमा महिलालाई प्रोत्साहन गर्न सके आयात दर कम हुन सक्छ । कतिपय सामान निर्यात नै गर्न सकिन्छ । मुलुकको अर्थतन्त्र पनि बलियो हुन्छ । त्यसैले समयमै सोचौं । महिलालाई उद्यम–व्यवसायमा लाग्न प्रोत्साहन गरौं, विशेष सहयोग गरौं ।

प्रकाशित : वैशाख ७, २०७९ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×