त्यो रेल, यो रेल

रेल सेवाबाट आम्दानी बढाउन मालवाहक बोगी थप्ने तयारी 
नियमित मर्मतका लागि आफ्नै कारखाना स्थापना गर्न पनि पहल हुँदै 
सन्तोष सिंह

जनकपुर — लामो प्रतीक्षापछि भए पनि जयनगर–कुर्था रेल सेवा सञ्चालन भएकामा नेपाली दंग देखिन्छन् । रेल चढेका भिडियो र फोटो सामाजिक सञ्जालमा छाइरहेका छन् । आठ वर्षअघिसम्म चलेको न्यारोगेजलाई ब्रोडगेज रेल्वेले विस्थापन गरी सेवा सुरु गरिएकामा सीमापारि जयनगरका व्यवसायी पनि खुसी छन् । 

त्यो रेल, यो रेल

भारतीय विद्युतीय रेल सञ्जालकै छेउबाट अहिले नेपालको डिजेल इन्जिनयुक्त रेल छुट्छ । आधुनिक र सुविधायुक्त रेलमा प्रतिस्पर्धा भइरहेका बेला पुरानो मोडलको खर्चिलो डिजेल इन्जिनयुक्त रेल नै जयनगर–कुर्थामा चल्न थालेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले गत चैत तेस्रो साता उक्त रेल सेवाको भर्चुअल उद्घाटन गरेका थिए ।

अहिलेको रेलमा मालसामान ल्याउन मिल्दैन । यसले यात्रु मात्र बोक्छ । सामान ल्याउने भनेको यात्रुका झोलामा जति हुन्छ, त्यति हो । पहिले यहाँ चल्ने रेलमा भारतबाट मालसामान ल्याउन मिल्थ्यो । अहिलेको नयाँ रेलमा यात्रुका वातानुकूलित (एसी) र सामान्य गरी दुई प्रकारका बोगी छन् ।

सरकारले डेढ वर्षअघि नै दुई वटा रेल खरिद गरेर भित्र्याएको थियो । रेल भित्रिँदा रेलसम्बन्धी कानुनसमेत बनेको थिएन । कर्मचारी व्यवस्थापनलगायत काम भएकै थिएन । चौतर्फी चुनौतीका बीच रेल सेवा सञ्चालन गर्न सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्धक नीरञ्जन झाले बताए । ‘अबको चुनौती रेल सेवा सहज सञ्चालन र व्यवस्थापन हो । दुवै काममा केही महिनाभित्र परिणाम देखिनेछ,’ उनले भने, ‘व्यक्तिले होइन, प्रणालीले दौडने गरी रेल व्यवस्थित गर्दै छौं ।’

आउँदो एक वर्षमा रेल सेवा नाफा कमाएर उदाहरणीय बन्ने झाको दाबी छ । रेल सेवाबाट अधिकतम आम्दानी लिन मालवाहक बोगी थप्नुपर्ने भएकाले सरकारसँग थप बजेट माग्ने योजना रहेको उनले सुनाए । झाका अनुसार रेलको नियमित मर्मतका लागि भारतको सोनपुरसम्म आउजाउ गर्दा भारतलाई लिक भाडा मात्रै ४ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने भएकाले आफ्नै कारखाना स्थापना गर्ने तयारीसमेत भइरहेको छ ।

भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ब्रोडगेज रेल्वे ट्र्याक खुलेसँगै बैदेही र खजुरीस्थित कारखानामा रहेका सीता, राम, गुह्येश्वरी, चन्द्र, सूर्य, महावीर, गोरखनाथ रेलका पुराना इन्जिन कवाडीमा परिणत भएका छन् । पहिले रेल मर्मतका लागि बैदेही र खजुरीमा कारखाना स्थापना गरिएका थिए । भारत सरकारको सहयोगमा जनकपुर–जयनगर रेल्वेलाई ब्रोडगेजमा विस्तार गर्न थालिएपछि पुराना इन्जिन कारखानामा थन्क्याइएका हुन् ।

डिजेल र स्टिम (वाष्पयुक्त) पुराना इन्जिनलाई संरक्षण गर्नुपर्ने आवाज पनि उठिरहेको छ । वाष्पयुक्त इन्जिनहरू सन् १९४७ मा जर्मनी र बेलायतमा बनाइएका हुन् । २०५१ सालमा प्राप्त जेडीएम ५, ५२४, ५३५ र ५३६ नम्बरको इन्जिनसमेत सड्दै गएको छ । पुराना रेललाई संग्रहालयमा संरक्षण गरेर राख्न सके पर्यटकसमेत तान्न सकिने जनकपुरवासी बताउँछन् ।

भारत सरकारले सन् २०१० मा ५ अर्ब ४८ करोड भारतीय रुपैयाँमा जयनगर–बर्दिबास रेल्वे निर्माणका लागि इरकान इन्टरनेसनललाई ठेक्का दिएको थियो । ३४ किलोमिटरको पहिलो खण्ड जयनगरदेखि कुर्थासम्ममा मात्र अहिले रेल सेवा सुरु भएको हो । १८ किलोमिटरको दोस्रो खण्ड कुर्थादेखि भंगहासम्म रेल्वे निर्माण पूरा भएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ । भंगहादेखि बर्दिबाससम्मको १७ किलोमिटर रेल्वे भने निर्माणको क्रममा छ ।

प्रथम राष्ट्रपति रामवरण यादव भारत भ्रमणमा गएका बेला समकक्षी प्रणव मुखर्जीबीच नेपालका पाँच वटा रुटमा दक्षिण–उत्तर रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । जसमा भारत सरकारकै लगानी रहने जयनगर–जनकपुर–बर्दिबास ६९ किलोमिटर, बथनाहा–कटहरी रेलमार्ग, न्युजलपाइगुडी–काँकडभिट्टा, वीरगन्ज–पथलैया र सुनौली–बुटवल दक्षिण–उत्तर रेलमार्ग थिए । तीमध्ये जयनगर–जनकपुर–बर्दिबासमा मात्र प्रगति देखिएको हो ।

दुई दशकअघिसम्म जयनगर–जनकपुर–बिजलपुरासम्म रेल सेवा सञ्चालनमा थियो । २०५९ सालको बर्खे भेलले बिगही पुल भत्काएपछि जनकपुरदेखि बिजलपुरासम्मको रेल सेवा बन्द भयो । अहिले त्यतिखेरको सानो लिकको ठाउँमा ब्रोडगेज लिक बनेको छ ।

रेलका साक्षी

ब्रिटिस सरकारले महोत्तरीको बिजलपुरा जंगलबाट सालको काठ ढुवानी गरेर भारत लैजान १९८४ सालमा बिजलपुरा–जयनगरमा रेल चलाएको थियो । त्यति बेला माटोमै स्लिपर राखेर काठ ढुवानी गरिन्थ्यो । पछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराका पालामा जयनगर–जनकपुर रेल सञ्चालन भयो । उक्त रेलले भने यात्रु ओसारपसार गर्थ्यो ।

रेल्वेमा २२ वर्षदेखि निमित्त प्रशासकीय अधिकृतका रूपमा कार्यरत तुला डाँगीका अनुसार २०२१ सालमा रेल्वेलाई नेपाल यातायात संस्थानअन्तर्गत राखियो । रेलमार्गलाई २०२५ सालमा ‘नेपाल जयनगर जनकपुर रेल्वे’ (एनजेजेआर) नामकरण गरियो । यातायात संस्थानले रेल शाखा नै स्थापना गरेको थियो ।

डाँगीका अनुसार २०५८ मा संस्थान विघटन गरियो । त्यति बेलै कम्पनी दर्ता गराएर रेल चलाउने निर्णय भएको थियो । २०६१ देखि नेपाल रेल्वे कम्पनी लिमिटेडबाट रेल सञ्चालन गरियो । रेलले यात्रुसँगै भारतीय बजारबाट जनकपुरमा मालसामान ओसार्थ्यो । जनकपुर चुरोट कारखानाको सुर्तीसमेत रेलबाटै ढुवानी हुन्थ्यो । जयनगरस्थित रेल्वे कम्पनीकै जग्गामा चुरोट कारखानाले गोदाम राखेको थियो । रेलले भारतबाट आउने सुर्ती जनकपुरस्थित कारखानाको परिसरमै पुर्‍याउँथ्यो ।

न्यारोगेज रेल्वे मर्मतका लागि जनकपुरमा आफ्नै कारखाना त छँदै थियो । पार्टपुर्जा पनि यता उपलब्ध हुन्थ्यो । जनकपुरमा तेलको आफ्नै पम्प थियो । पुरानो रेलमा यात्रुको सामान राख्न छुट्टै बोगी थियो । नयाँ रेलमा यात्रुको सामान राख्ने बोगीको व्यवस्था छैन ।

बर्दिबासको उज्यालो भविष्य

जयनगर–कुर्थामा चलिरहेको रेल सेवा केही वर्षभित्रै विस्तार भएर महोत्तरीको बर्दिबाससम्म पुग्नेछ । भारतको जयनगरपछि दोस्रो ठूलो स्टेसन बर्दिबास बन्नेछ । रेल्वे जंक्सनले बर्दिबास आर्थिक सहरमा परिणत हुने युवा नेता शंकर महतो बताउँछन् । ‘रेल्वे स्टेसनले बर्दिबासलाई नयाँ अवसर ल्याउँदै छ,’ उनले भने, ‘त्यसबाट यातायात सुविधा मात्र उपलब्ध हुँदैन, मानिसको चहलपहल बढेपछि व्यापार–व्यवसाय स्वतः फस्टाउनेछ, रोजगारीका अवसर प्राप्त हुनेछ । त्यसले शिक्षा र स्वास्थ्यको विकासमा पनि टेवा दिनेछ ।’ पूर्व–पश्चिम राजमार्ग र बीपी राजमार्ग जोडिएका कारण एक दशकयता बर्दिबासको स्वरूप नै फेरिएको छ । बर्दिबासको चहलपहल थप बढाउन रेल सेवा पनि जोडिन लागेको हो । ‘रेल स्टेसनले बर्दिबासलाई फाइदैफाइदा छ,’ होटल व्यवसायी हीरा गौतमले भने, ‘रेलकै कारण यहाँ ठूला गोदाम र डिलरहरू खुल्ने भएकाले सस्तो मूल्यमा सामान खरिदबिक्री हुनेछ । त्यही कारण उपभोक्ताको रोजाइमा बर्दिबास पर्नेछ ।’

रेलबाट कच्चा पदार्थ ढुवानी सहज र सस्तो हुने भएकाले बर्दिबास र आसपास क्षेत्रमा ठूला उद्योग स्थापना हुने सम्भावना छ । रेलले भारतको कोलकातासँग सोझै जोड्ने भएकाले बर्दिबासमा उद्योग सञ्चालनका लागि जग्गा व्यवस्थापनमा उद्योगीहरू लागिसकेको स्थानीय व्यवसायी सुरेश अग्रवालले बताए । ‘रेलले बर्दिबास र आसपास क्षेत्रलाई गुल्जार बनाउँछ, यहाँ लगानीकर्ताको आउजाउ सुरु भइसक्यो,’ उनले भने, ‘समय लाग्न सक्छ । तर बर्दिबासले विकासमा ठूलै फड्को मार्छ ।’ रेलले ल्याउने निर्माण सामग्री बर्दिबासबाट बीपी राजमार्ग हुँदै पहाडी जिल्लामा ढुवानी हुन सक्ने उनले बताए ।

बर्दिबास नगरपालिका वडा नं १ र १४ (साविक बर्दिबास गाविस क्षेत्र) को ५९ बिघा जग्गामा रेल्वे स्टेसन बनाउन अधिग्रहणका लागि मुआब्जा वितरण भइरहेको नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोदकुमार ओझाले बताए । भारतीय रेल्वे निर्माण कम्पनी इरकान इन्टरनेसनल, नेपाल रेल्वे कम्पनी र नापी कार्यालय बर्दिबासको प्राविधिकसहितको टोलीले बर्दिबासमा रेल्वे स्टेसनको सर्वेक्षण गरेपछि जग्गा अधिग्रहण कार्य अघि बढेको हो ।

प्रकाशित : वैशाख ७, २०७९ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?