परिवारमै व्यक्तिपिच्छे फरक दल

फरकफरक पार्टीमा भए पनि सुमधुर सम्बन्ध
अवधेशकुमार झा

राजविराज — पञ्चायतकालमा सप्तरीमा कृष्णदेव झाको नामै काफी थियो । तत्कालीन जिल्ला पञ्चायतका सभापतिसमेत भएका उनी पञ्चायती व्यवस्था सकिएपछि पनि चर्चामै रहे । उनको निधन भइसकेको छ । उनका चार भाइ छोरा भने अहिले फरकफरक दलमा आबद्ध छन् । 

परिवारमै व्यक्तिपिच्छे फरक दल

झाका जेठा छोरा सुभाषचन्द्र झा राप्रपा नेपालका केन्द्रीय सदस्य छन् । उनी पछिका भाइ शरद झा एमालेमा छन् । अर्को भाइ सतिषचन्द्र झा नेपाली कांग्रेसमा छन् । एक महिनाअघि सम्पन्न कांग्रेसको जिल्ला अधिवेशनमा उनी क्षेत्रीय सभापतिमा पराजित भए । कान्छो भाई शैलेन्द्र एमालेका प्रदेश समिति सदस्य छन् । चारै दाजुभाइ आ–आफ्नो पार्टीमा सक्रिय छन् । दिनभरि राजनैतिक गतिबिधीमा उनीहरू सक्रिय हुन्छन् । साविक घर सप्तरीको मधवापुर भए पनि राजविराजमा बस्दै आएका उनीहरू फरकफरक पार्टीमा भए पनि त्यसैका कारण परिवारमा भने कुनै मतभिन्नता नरहेको दाबी गर्छन् ।

चारै दाजुभाईमा सुमधुर सम्बन्ध रहेको एमाले नेता शैलेन्द्रले बताए । ‘विचार र सिद्धान्तअनुसार हामी दाजुभाईले आआफ्नो हिसाबले दल रोजेका छौं,’ उनले भने, ‘यसमा हामी बीच कुनै मतभिन्नता छैन् ।’ माओवादी द्वन्द्वका बेला सप्तरीका जनसरकार प्रमुख भएका थिए सूर्यनाथप्रसाद यादव (सुभाष) । उनकी श्रीमती लक्ष्मी चौधरी पनि माओवादी नेतृ नै थिइन् । जनआन्दोलन र सशस्त्र द्वन्द्वको बलमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि अन्तरिम ब्यवस्थापिकाका सांसद बने सुभाष । उनकी श्रीमती लक्ष्मी पहिलो संबिधानसभामा माओवादीबाट समानुपातिक सांसद थिइन् । दोस्रो संविधानसभाको निर्वाचन ताका दुबैजना तत्कालीन मधेसी जनअधिकार फोरम प्रवेश गरे ।

लक्ष्मी फोरमबाट समानुपातिक सांसद भइन् । गत भदौमा सुभाष पुनः माओवादीमै फर्किए । लक्ष्मी भने जनता समाजवादी पार्टीमा छिन् । श्रीमान् र श्रीमती फरकफरक विचार र सिद्धान्तको पार्टीमा छन् । ‘हामी दुबैजना फरकफरक आस्थामा छौ । तर यसले हाम्रो पारिवारिक सम्बन्ध वा घरव्यवहारमा कुनै असर गरेको छैन,’ सुभाषले भने ।

सप्तरीको बोदेवरसाइनमा शत्रुधनप्रसाद यादवको आफ्नै हस्ती थियो । उनका दुई छोरा मृगेन्द्रकुमार सिंह यादव र अनिरुद्र प्रसाद सिंह यादव संयोगले अहिले एउटै पार्टी जनता समाजवादीमा छन् । तर, यी दाजुभाइ ०७४ सालको प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचनमा आमनेसामने भए । ०७४ को निर्वाचनमा दाजुभाई आमनेसामने हुँदा दुबै जना पराजित भए । अनिरुद्र फोरमतिर थिए भने मृगेन्द्र राजपामा । राष्ट्रियसभाको निर्वाचनमा पनि मृगेन्द्र राजपाबाट उम्मेदवार भए भने अनिरुद्र संघीय समाजवादी पार्टीबाट । मृगेन्द्र चुनाव जितेर अहिले राष्ट्रियसभा सासंद छन् ।

सप्तरीको पातो बजारको नाम आउनेबित्तिकै उमाकान्त चौधरीको परिवारको नाम लिनैपर्ने हुन्छ । यहाँको बजार व्यवस्थापनदेखि हरेक सरकारी कार्यालय, विद्यालय खोल्न यही परिवारले जग्गा दानमा दिएका छन् । उमाकान्त चौधरीका छोरामध्ये चन्द्रकान्त र ताराकान्त गत २०७४ सालको निर्वाचनमा एकअर्काविरुद्ध प्रतिस्पर्धी बने । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट तत्कालीन राजपाका उम्मेदवार चन्द्रकान्त थिए भने ताराकान्त एमालेका उम्मेदवार बनेका थिए । चन्द्रकान्त चुनाव जितेर अहिले सांसद छन् ।

प्रकाशित : वैशाख ७, २०७९ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?