सप्तरीमा आगलागीमा परी बालकको मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीको बोदेवरसाइन नगरपालिका १० अमरैयामा शुक्रबार दिउँसो भएको आगलागीमा पाँच वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय शत्रुधन यादवका पाँच वर्षीय छोरा शैलेशको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो ४ बजे शत्रुधन यादप, मिन्टु यादव र ओम यादव तीनै दाजुभाइको संगोलमा रहेको गोठघरमा अचानक आगलागी भएको थियो ।

आगलागीमा गोठघर र त्यसभित्र रहेका सरसामान पूर्णरुपमा जलेको छ । आगो लागेको हल्ला हुनासाथ गोठतिर गएका बालकको जलेर मृत्यु भएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार बाँसको टाटी, जस्तापाता र अबलेष्टरले छाएको घर र सरसामान जल्दा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै शत्रुधनको घरबाट सुरु भएको आगो छिमेकी रघुनन्दन यादव र जागेश्वर यादवको घरमा समेत सल्केको थियो । रघुनन्दनको एउटा घर र जागेश्वरको पक्की घरको झ्याल जलेको छ । ती घरहरुमा रहेका सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए ।

प्रकाशित : वैशाख २, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?