कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आरोपित छुटेर विदेश, घाइतेको मृत्यु

श्यामसुन्दर शशि

जनकपुर — धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्वाका ३७ वर्षीय सरोजकुमार मण्डलको शव बोकेको बाहन बुधबार बिहान ९ बजेतिर गाउँ पुग्यो । शव बाहन गाउँ पुग्दा मृतकका परिवार र स्थानीय शोकाकुल देखिन्थे ।

गत भदौ २६ मा गाउँमै आयोजित गणेश पूजाको मेलामा स्थानीय मनिषकुमार मण्डल र राजीवकुमार मण्डलसहितका युवाले गरेको तरबार प्रहारबाट घाइते भएका सरोजको सोमबार काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमपछि बुधबार अन्त्येष्टिका लागि गाउँ ल्याइएको थियो ।

भदौ २६ को बिहान बहुअर्वा चोकस्थित गणेश मेलास्थलमा भएको झगडामा मनिष र राजिवले धारिलो हतियार प्रहार गरी सरोजसहित अमित मण्डल र बजरंग राउतलाई समेत घाइते बनाएको भन्दै रामनन्दनले प्रहरीमा उजुरी दिएका थिए । रामनन्दनका अनुसार अमित र बजरंगको उपचार स्थानीय अस्पतालमै भए पनि पेटमा गहिरो चोट लागेका सरोजलाई भने थप उपचारका लागि काठमाडौं लगिएको थियो । दोस्रो पटकको शल्यक्रियाको क्रममा उनको मृत्यु भएको हो । घटनाकै दिन प्रहरीले आरोपित मनिष र राजिवलाई भने पक्राउ गरेको थियो । तर, सरोजको उपचारकै अवस्थामा अदालतले उनीहरूलाई थुनामुक्त गरेको थियो । अहिले सरोजको मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ । ज्यान मार्ने उद्योगमा उजुरी गरे पनि अदालतबाट न्याय नपाएको मृतकका बुबा रामनन्दनले गुनासो गरे । ‘न अदालतबाट न्याय पायौं, न भगवानले न्याय दियो,’ उनले भने ।

सरोज उपचाररत रहँदा गत पुस १९ मा जिल्ला अदालत धनुषाका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले विपक्षीलाई सामान्य खर्च तिर्न लगाई थुनामुक्त गर्ने आदेश दिएको थियो । पीडित पक्षले दायर गरेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दालाई कुटपिट मात्र भन्दै दुवै आरोपितलाई थुनामुक्त गर्ने फैसला अदालतले सुनाएको थियो । उपचार खर्चबापत् सरोजलाई ४ लाख ९२ हजार २ सय ५९, अर्का घाइते अमितलाई ६९ हजार ३ सय र बजरंगलाई ३ हजार १ सय ३० रुपैयाँ उपलब्ध गराउन विपक्षीका नाममा आदेश भएको थियो । थुनामुक्त हुनासाथ मुख्य आरोपित मनिष विदेश गएका थिए ।

पीडिततर्फका कानुन व्यवसायी अधिवक्ता रमेशकुमार पाण्डेले जिल्ला अदालतको फैसलालाई ‘अचम्म’ भनेका छन् । आफूले दुवै पक्षका सबूत–प्रमाण हेर्न नभ्याउँदै अचानक फैसला आएको उनले प्रतिक्रिया दिए । ‘बकपत्र भएको चौथो दिन मुद्दा पेसी चढ्छ अनि अर्को दिन फैसला हुन्छ । मैले आफ्नो ३७ वर्षे कार्यकालमा यस्तो देखेको थिइनँ,’ उनले भने ।

पीडिततर्फका अर्का कानुन व्यवसायी अधिवक्ता बलराम सुवेदी पीडितको मृत्यु भइसकेको अवस्थामा पूरक वा थप अभियोगमार्फत यो मुद्दा जिल्ला अदालतमा पुनः चल्न सक्ने बताउँछन् । ‘पीडित पक्षले पुनः निवेदन दिँदा जिल्ला अदालतमा ज्यान मुद्दा चल्छ,’ उनले भने । जिल्ला सरकारी वकिलको कार्यालयका धर्मअवतार कोइरालाले जिल्ला प्रहरी कार्यालयलाई ज्यानसम्बन्धी मुद्दाको अनुसन्धान गर्न अनुमति दिइसकिएको बताए । ‘पीडितको मृत्यु भएको सूचना प्राप्त हुनासाथ थप अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिएको छ,’ उनले भने ।

प्रकाशित : वैशाख २, २०७९ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?