गाउँपालिकाको ३४ लाख हिनामिना

रकम हिनामिना गर्न गाउँपालिका अध्यक्ष जागेश्वर यादवको समेत मिलेमतो
भरत जर्घा मगर

सिरहा — सिरहाको विष्णुपुर गाउँपालिकाका प्रशासन शाखाका कर्मचारीले ३४ लाख रुपैयाँभन्दा बढी राजस्व खातामा दाखिला नगरी हिनामिना गरेको पाइएको छ । गाउँपालिकाका प्रशासन शाखाका नायब सुब्बा महेन्द्रप्रसाद यादवले आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाको लेखा शाखामा विभिन्न शीर्षकमा सेवाग्राहीबाट राजस्वबापत संकलित ५५ लाख २७ हजार ७७ रुपैयाँमध्ये ३४ लाख २३ हजार ७ सय ९० रुपैयाँ हिनामिना गरेका हुन् । रकम हिनामिना गर्न गाउँपालिका अध्यक्ष जागेश्वर यादवको समेत मिलेमतो देखिएको छ ।

गाउँपालिकाको ३४ लाख हिनामिना

प्रमुख प्रशासकीय अधिकृत दीपकुमार यादवले स्थानीय तह आय लेखांकन प्रणाली सफ्टवेयरमार्फत २०७७ साउन १ देखि २०७८ असार ३१ गतेसम्म एक वर्ष अवधिमा संकलन भएको रकम नायब सुब्बा बैंक दाखिला नगरी अन्यत्र चलाएको पाइएको जानकारी दिए । राजस्व रकम बैंक दाखिला गरेको नदेखिएपछि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम हिनामिना रकमको २५ प्रतिशतले हुन आउने ८ लाख ५५ हजार ९ सय ४७ रुपैयाँ ५० पैसा जरिवानासहित ४२ लाख ७९ हजार ३ सय ३७ रुपैयाँ ५० पैसा बैंकमा दाखिला गर्न १५ चैतमा पत्र काटिएको जानकारी दिए ।

राजस्वको रकम खातामा जम्मा गर्न ताकेतासहितको पत्र काटेको १४ दिन बितिसक्दा पनि खातामा अझै रकम जम्मा नभएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । गाउँपालिकाले सम्पूर्ण आर्थिक कारोबार विष्णुपुरस्थित मेगा बैंकको शाखाबाट गर्दै आएको छ । नासु यादवले राजस्व रकम गाउँपालिकाको आन्तरिक राजस्व खातामा दाखिला नगरी गाउँपालिका अध्यक्ष जागेश्वर यादवले भनेअनुसार गर्दा गल्ती भएको स्विकारेका छन् ।

‘गाउँपालिका अध्यक्षले मुद्दामामिलामा खर्च चाहिएको छ, पछि मिलाउँला भनेपछि विश्वासमा परेर दिँदै गए, अहिले म अप्ठ्यारोमा परें,’ नासु यादवले भने, ‘कानुनी रूपले मेरो गल्ती देखिएकाले चैत मसान्तसम्म गाउँपालिकाको राजस्व खातामा जम्मा गर्छु ।’

विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादवले राजस्व हिनामिना काण्डमा आफूलाई बदनाम गर्ने योजनासहित कर्मचारीहरूले मेरो नाम मुछेको बताएका छन् । राजस्व हिनामिनाको विषयमा तत्कालीन राजस्व प्रमुख नायब सुब्बा महेन्द्रप्रसाद यादवले मलाई बदनाम गर्ने नियतले नाम मुछेको उनको आरोप छ ।

अध्यक्ष यादवले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत र राजस्व प्रमुख यादवले योजनाबद्ध तरिकाले मलाई बदनाम गरिरहेको बताए । ‘मैले नियमित रूपमा राजस्व रकम जम्मा नभएको जानकारी पाएदेखि नै ताकेता गर्न प्रशासकीय अधिकृत महतलाई निर्देशन दिए पनि उनले तत्परता देखाएनन्,’ उनले भने, ‘पछि महालेखाले समेत ताकेता गर्नुपर्ने अवस्था आयो, अहिले मलाई बदनाम गर्ने कोसिस भइरहेको छ ।’

महत २०७७ भदौ २४ देखि २०७८ फागुन २९ सम्म प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । महतले यस अवधिमा एक पटक २०७८ भदौ ४ गते आन्तरिक राजस्व रकम बैंकमा दाखिला गर्न यादवको नाममा पत्र काटेका थिए । उनले सोही पालिकाको शिक्षा शाखा प्रमुखका रूपमा कार्यरत दीपकुमार यादवलाई २०७८ फागुन ३० गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका थिए ।

गाउँपालिका यादवले नियमित राजस्व जम्मा नभएपछि पटकपटक प्रशासकीय अधिकृत महतलाई निर्देशन गरे पनि उनले एक पटकमात्र पत्र काटेको बताए । उनले भने, ‘मैले राजस्व नियमित जम्मा भइरहेको छैन भन्ने जानकारी पाउनासाथ जम्मा गर्न लगाउन पत्र लेख्न अनुरोध गरे, तर उनले धेरैपछि मात्र पत्र काटे ।’ उनले पछिल्लो पटक पनि १५ गते नयाँ प्रशासकीय अधिकृतलाई पत्र काट्न लगाइसकेको बताउँदै अब चैत मसानन्तसम्म रकम नबुझाए कानुनी प्रक्रियामा जाने बताए ।

प्रकाशित : वैशाख १, २०७९ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?