२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पर्सा निकुञ्जमा ३ वटा गैंडा

पर्सा — पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा स्थायी रूपले बसोबास गरिरहेको पाइएको छ । निकुञ्जमा यस वर्ष गरिएको गैंडा गणनाको हालै आएको नतिजाले निकुञ्जमा ३ वटा गैंडा रहेको देखाएको हो ।

पर्सा निकुञ्जमा ३ वटा गैंडा

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहकाअनुसार निकुञ्जको मकवानपुरस्थित रमौली प्रतापपुर पोस्ट क्षेत्रमा ३ वटा गैंडा देखिएको छ । उनले निकुञ्जमा ८ वटासम्म गैंडा रहेको अनुमान रहे पनि गणनामा ३ वटा मात्र फेला परेको बताए । ‘निकुञ्जकर्मीको पटकपटकको स्थलगत भ्रमणबाट निकुञ्जमा ८ वटासम्म गैंडा रहेको हाम्रो अनुमान छ,’ उनले भने,‘तर गणनाको समयमा ३ वटा मात्र फेला परेको हुनसक्छ ।’

जनवरी ४ बाट १ महिनासम्म पर्सालगायत, चितवन, बर्दिया र शुक्लाफाँटा निकुन्जमा गैडा गणना गरिएको थियो । त्यतिबेला पर्सा र चितवन निकुञ्जलाई एउटै ब्लक बनाएर गैडा गणना गरिएको थियो । गणनामा करिब तीनसय जनशक्ति एकैसाथ खटिएको थियो । जसमा ५ दर्जन हात्तीका तालिम प्राप्त माहुतदेखि दक्ष गणक पनि थिए ।

गणनामा राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभागको ८० प्रतिशत र बाँकी अन्य साझेदारको लगानी थियो । प्रत्येक ५ बर्षमा गरिने राष्ट्रिय गैंडा गणना २ बर्षअघि कोभिड १९ महामारीको कारण हुन सकेको थिएन । यसअघि सन् २०१५ मा यो गणना गरिएको थियो । त्यतिबेला पनि पर्सा निकुञ्जमा ३ वटा गैंडा फेला परेको थियो । निकुञ्जको रमौली प्रतापपुर क्षेत्रमा गैंडा स्थायीरुपले बस्दै आएका छन् । त्यहाँ घाँसे मैदान र पानीको पर्याप्तता रहेकाले गैंडाले बासस्थानको रुपमा रुचाउने गरेका छन् ।

निकुञ्जकै रामभौरीभाठा क्षेत्रमा पनि बेलाबेलामा गैंडा आएर बस्ने गरेका छन् । जंगली हात्तीको रैथाने बासस्थानको चिनिएको पर्सा निकुञ्जमा दशक अघिसम्म पनि गैंडा थिएनन् । पछि रामभौरीभाठा र प्रतापपुरबाट मानवबस्ती स्थानान्तरण गरिएपछि त्यहा घाँसे मैदान विकास भई चितवन राष्ट्रिय निकुन्जबाट गैंडा आएर बस्न थालेका हुन् ।

प्रकाशित : चैत्र २१, २०७८ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?