कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

टेन्डर नै नगरी सडक शिलान्यास

भरत जर्घा मगर

सिरहा — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले टेन्डर नै नभएका दुईवटा सडकको शिलान्यास गरेकी छन् । मन्त्री यादवले लगत इस्टिमेट मात्र तयार भएको चोहर्वा–सिरहा–माडर चार लेन र मिर्चैया–कल्याणपुर–सिरहा दुई लेन सडकको शुक्रबार शिलान्यास गरेकी हुन् । 

टेन्डर नै नगरी सडक शिलान्यास

कार्यक्रममा जसपाका नेता, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरू पनि सहभागी थिए । मन्त्री यादवले दुवै सडकका लागि पहिलो चरणमा मन्त्रालयले ४०/४० करोड रुपैयाँ विनियोजन गरेको बताइन् । २२ मिटर चौडाइ रहने चोहर्वा–सिरहा–माडर चार लेन सडकखण्डमा विनियोजित रकमबाट पहिलो चरणमा साढे २ किलोमिटरको काम हुनेछ । यो सडकमा गाउँ क्षेत्रमा १४ मिटर र सहरी क्षेत्रमा १८ मिटर कालोपत्रे गर्ने योजना छ ।

यस्तै, मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्डमा पहिलो चरणमा साढे ८ किमिको काम हुनेछ । दुई लेनको यो सडकको चौडाइ भने ११ मिटर हुनेछ । सडक निर्माण अवधि २ वर्ष तोकिएको छ । मन्त्री यादवले दुवै सडक निर्माण भए यहाँको विकासले गति लिने विश्वास व्यक्त गरिन् । उनले समयमै सडक बनाइसक्ने प्रतिबद्धतासमेत जनाइन् ।

तर, सडक डिभिजन कार्यालय लहानले मन्त्री यादवले शिलान्यास गरेको सडकको लगत इस्टिमेट मात्र तयार भएको र टेन्डर प्रक्रिया बाँकी नै रहेको जनाएको छ । कार्यालय प्रमुख इन्जिनियर रामकुमार देवले यस वर्ष टेन्डर प्रक्रियामात्र सुरु हुने जानकारी दिए । प्रायःजसो आयोजनाको टेन्डर प्रक्रिया सुरु भइसकेपछि मात्र शिलान्यास गरिन्छ । तर, टेन्डर नै नभईकन शिलान्यास गरिनु भनेको चुनावको मुखमा जनताको आँखामा छारो हाल्न र वाहवाही कमाउन गरिएको प्रपञ्च हो भन्छन्, नेपाल पत्रकार महासंघ सिरहाका पूर्वअध्यक्ष देवकुमार यादव ।

‘जुन सडकको टेन्डर भएको छैन, शिलान्यास गर्न हतारिनुको मतलब स्पष्ट छ, चुनावी एजेन्डा,’ उनले भने, ‘यस्ता कार्यले जनतालाई भ्रमित गराउने काम मात्र गर्छ ।’ सडक डिभिजन प्रमुख इन्जिनियर देवले शिलान्यास कार्यक्रम आयोजना आफूहरूले नगरेको बताए ।

चुनाव नजिकिँदै गर्दा स्थानीय सरकारका जनप्रतिनिधिहरू पनि चुनावी माहोल आफूतिर तान्न सक्रिय भएका छन् । लहान नगरपालिकाका प्रमुख मुनी साहले डीपीआर मात्रै तयार भएको नगरक्षेत्रभित्र ४२ किलोमिटर चक्रपथ निर्माणको सोमबार शिलान्यास गरे ।

चक्रपथको डीपीआर तयार भएको तर टेन्डर प्रक्रियाबारे आफूलाई जानकारी नभएको लहानका ओभरसियर राजीव बैठाले जानकारी दिए । ‘डीपीआर मैले नै तयार गरेको हुँ,’ उनले भने, ‘करिब ७० लाख रुपैयाँको तयार गरिएको छ, टेन्डर प्रक्रियाबारे मलाई जानकारी भएन ।’

प्रकाशित : चैत्र १९, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?