कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वारुणयन्त्रलाई अर्को जिल्लाको भर

पालिकाहरुले प्रमुख/उपप्रमुखले चढ्ने सवारीलाई प्राथमिकतामा राखेको स्थानीयको आरोप
शिव पुरी

रौतहट — डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर अन्तर्गतको हातेमालो सामुदायिक वनमा दुई दिनअघि डढेलो लाग्यो । आगो नियन्त्रणमा लिन स्थानीयले प्रशासनसित हारगुहार गरे । चन्द्रपुर नगरपालिकामा एउटा मात्र वारुणयन्त्र भएकाले नियन्त्रणमा लिन कठिन हुने भन्दै निजगढ र सर्लाहीबाट समेत मगाउन माग गरे । 

वारुणयन्त्रलाई अर्को जिल्लाको भर

कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले छिमेकी जिल्ला बारास्थित निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाललाई वारुणयन्त्र पठाइदिन अनुरोध गरे । निजगढबाट पनि आउन ढिला भएपछि स्थानीय र सुरक्षाकर्मी मिलेर आगो मुस्किलले निभाए । त्यतिबेलासम्म दुईवटा घर जलेर नष्ट भइसकेको थियो । स्थानीय शिवध्यानी साहले वारुणयन्त्र नहुँदा समयमै आगो नियन्त्रणमा लिन नसकेको गुनासो पोखे । वारुणयन्त्रणको समस्या झेलेको यो पहिलो पटक भने होइन । पाँच वर्षदेखि प्रशासनले स्थानीय तहका प्रमुखलाई जिल्ला प्रशासन कार्यालयको मिटिङमा आगलागी, डढेलोको समयमा वारुणयन्त्रको समस्या पर्ने भएकाले यसलाई प्राथमिकतामा राखेर खरिद गर्न अनुरोध गर्दै आएको छ ।

पालिकाहरूले पनि चाँडै वारुणयन्त्र खरिद गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन सकेको छैन । जिल्लाका १८ वटा स्थानीय तहमध्ये चन्द्रपुर र गौरमा एक/एक वटा वारुणयन्त्र छ । ठूलो आगजनी भयो भने बारा र सर्लाहीबाट मगाउनुपर्ने बाध्यता छ । चन्द्रपुरमा फायरम्यान नियुक्ति नगरेकाले सशस्त्र प्रहरीले सहयोग गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहले स्थानीय तहका प्रमुखलाई बजेटले भ्याए प्रत्येक पालिकामा एक/एक वटा वारुणयन्त्र राख्न अनुरोध गर्दै आएको बताए । ‘चन्द्रनिगाहपुर र गौरबाहेकका पालिका मिलेर खरिद गर्न भन्दै आएको छु । जिल्लाको बीच भागमा पर्ने गरुडा आसपासका पालिका मिलेर खरिद गर्दा सहज हुन्छ,’ उनले भने, ‘पालिकाका प्रमुखहरू खरिद गर्छौं मात्र भन्छन् । तर वास्तै गर्दैनन् ।’

गरुडालाई प्रदेश सरकारले वारुणयन्त्र खरिद गरेर दिन लागेको प्रजिअ शाहलाई जानकारी गराएको थियो । तर अहिलेसम्म आएको छैन । दक्षिण भेगको कुनै पनि गाउँ, बस्तीमा आगजनी भयो भने बारुणयन्त्रको ठूलो समस्या पर्छ । एक वर्षअघि चन्द्रनिगाहपुरको पुरानो बजारको एक पसलमा आगजनी हुँदा सदरमुकाम गौर चन्द्रनिगाहपुर, बारा र सर्लाहीबाट बारुणयन्त्र आएर नियन्त्रणमा लिइएको थियो । गरुडा इलाकामा गत वर्ष १३ वटा आगलागीका घटना भए । वारुणयन्त्र अभावका कारण ती घटनामा क्षति बढी भएको इलाका प्रहरी कार्यालय गरुडाको भनाइ छ ।

पालिकाहरूले प्रमुख उपप्रमुखले चढ्ने सवारीलाई प्राथमिकतामा राखेको स्थानीयको आरोप छ । अधिकांश पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका छुट्टाछुट्टै सवारी छन् । माओवादीका स्थानीय नेता शम्भु सिंहले प्रमुख, उपप्रमुखका लागि गाडी प्राथमिकतामा परेको आरोप लगाए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुनील मल्लका अनुसार गतवर्ष जिल्लाका १ सय ४५ स्थानमा आगलागी हुँदा ७५ वटा घर जले । आगलागीबाट १ को मृत्यु र १० जना घाइते भएका थिए ।

प्रकाशित : चैत्र १६, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?