जागिर छाडेर ओल खेती


सिरहा — सिरहा धनगढीमाई नगरपालिका–११ का कमलकुमार सिंह गैरसरकारी संस्थाका जागिरे थिए । असिस्टेन्ट सब–इन्जिनियर उनी आकर्षक तलब पाउँथे । उनी अहिले जागिर छाडेर व्यावसायिक ओल तरकारी खेतीमा लागेका छन् । ओल कन्दमूल तरकारी हो । दुई वर्षदेखि उनी अहिले यसकै खेतीमा रमाइरहेका छन् ।

सिरहा धनगढीमाई–११ का कमलकुमार सिंहले व्यावसायिक रूपमा लगाएको ओल खेती । तस्बिर : भरत/कान्तिपुर
सुरुमा डेढ बिघाबाट खेती सुरु गरेका उनले यस वर्ष ६ बिघामा ओल तरकारी खेती गरेका छन् । कमल भन्छन्, ‘लगानी अनुसार आम्दानी राम्रो भइरहेको छ ।’
दुई वर्षअघि कोरोनाकालमा लकडाउनले आम्दानीमा असर पारे पनि यस वर्षदेखि राम्रो हुने उनको आशा छ । ‘६ बिघामा सोचे भन्दा राम्रो बोट फस्टाएको छ,’ उनले भने, ‘खेतमा मनग्य ओल तरकारी उब्जिएको छ । यसबाट पनि मुनाफा हुनेमा म ढुक्क छु ।’ यस वर्ष पनि लगानी अनुसार आम्दानी नहुने हो कि भन्ने चिन्तामा उनी थिए । तर, मिहिनेत अनुसार बोट सप्रिएको उनको भनाइ छ ।
माघमा ओल तरकारी खेती लगाउँछन् । साउनबाट बेच्न सुरु हुन्छ । अहिले उनले आफूसँगै दैनिक ज्यालादारीमा १० जनाभन्दा बढी युवालाई खटाउँछन् । ती युवालाई बाह्रै महिना रोजगारी दिएका छन् । कमलले जागिर छोडेपछि केही महिना उखु खेती समेत गरे । तर, परम्परागत उखु खेती उनलाई मन परेन । त्यसबाट प्राविधिक पढेर ज्ञान हासिल गरेको अर्थ नहुने उनलाई लाग्यो । केही नयाँ आम्दानीको स्रोत हुने खेती गर्नुपर्छ भन्ने सोचले नयाँ खोजी गर्न थाले । त्यसपछि व्यावसायिकतातर्फ लम्किएका उनी उखु छोडेर ओल खेतीमा रमाएका हुन । खेतीमा मिहिनेती उनले अब्बल कृषक भएकै कारण प्रदेश सरकारबाट कृषिका लागि ३ लाख रुपैयाँ अनुदान पनि हात पार्न सफल भएको सुनाए ।
गाउँमा व्यावसायिक ओल खेती भित्र्याएका कमलको सिको गर्दै बस्तीकै पुनित दास पनि योतरकारी खेतीमा रमाउन थालेका छन् । कमल र पुनित मात्रै होइन, अहिले यो गाउँमा उनीहरू जस्तै १२ भन्दा बढी परिवारले ओल खेती गर्दै आएका छन् । उनीहरूले सरकारले कृषिमा आधारित किसानलाई राहत दिनुपर्ने माग गरेका छन् ।
नेपालमा ओलका विभिन्न जंगली जात पाइन्छ । ओलका केही स्थानीय जातहरू खान अयोग्य हुन्छन् भने केही खेती गरेर खाने चलन छ । तराईमा यसको विशेष महत्त्व छ । नेपाली भाषामा यसलाई बाँको वा काँच भनेको पनि पाइन्छ । तराई क्षेत्रमा ओल भनेर चिनिन्छ ।
स्थानीय जातहरू स्वादिलो भए पनि कोक्याउने हुन्छन् । तर विकासे जातहरू तरुल जस्तै नउसिनी पकाएर खान सकिने खालका स्वादिष्ट हुन्छन् । पछिल्लो समय तराईका केही जिल्लामा यसको व्यावसायिक खेती हुन थालेको छ । बजारमा यसको माग राम्रो रहेको कमलले बताए ।
प्रकाशित : चैत्र १२, २०७८ ११:०६