दलहरू चुनावी अभियानमा

वडा–वडामा पुगेर संगठनको अवस्था बुझ्नेदेखि अन्य दलका कार्यकर्ता तान्न सक्रिय
सुनीता बराल

महोत्तरी — स्थानीय तहको चुनावको तयारीस्वरूप महोत्तरीमा नेताहरू घरदैलो अभियानमा जुटेका छन् । दलका प्रतिनिधि अहिले नै वडा वडामा पुगेर संगठनको अवस्था बुझ्नेदेखि अन्य दलका कार्यकर्ता तान्न सक्रिय भएका हुन् । 

दलहरू चुनावी अभियानमा

दलका नेताहरू आआफ्नो जितको दाबी पनि गरिरहेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति नागेश्वर यादवले एउटा सार्वजनिक कार्यक्रममा आफूहरूले स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत मत ल्याउने दाबी गरे । अघिल्लो निर्वाचनको भन्दा सांगठनिक संरचना निकै बलियो भएको जिकिर गर्दै उनले जिल्लाका १५ पालिकामध्ये १२ मा कांग्रेसको जित हुने दाबी गरेका हुन् । एमाले जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकी मगरले पनि स्थानीय तहमा ५० प्रतिशत बहुमत आफूहरूको पोल्टामा पर्ने जिकिर गरे । नेकपा एमाले फुटेर नेकपा (एस) बनेको भए पनि एमालेको कुनै पनि मत नकाटिने उनको दाबी छ । यता माओवादी केन्द्रको पनि उस्तै दाबी छ । अघिल्लो निर्वाचनमा ३ वटा पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले यो निर्वाचनमा ७ पालिकामा जित हासिल गर्ने विश्वास लिएको छ ।

‘हाम्रा चुनावलक्षित कार्यक्रम अगाडि बढिसकेका छन्,’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने, ‘जिल्ला कार्यसमितिको सर्वेक्षणमा हामी यसपालि ७ पालिकामा जित्छौं ।’ अघिल्लो निर्वाचनमा जिल्लाका ८ वटा पालिकामा तत्कालीन राजपाले जितेको थियो । माओवादी केन्द्र र कांग्रेस ३–३ स्थानमा जितेका थिए । एउटा पालिकामा संघीय समाजवादी फोरमले जितेको थियो । पछि भएको उपनिर्वाचनमा एमालेले पिपरा गाउँपालिकामा जिते पनि जिल्लामा अझै कमजोर छ ।

यसपालि नेताहरूले दाबी गरेजस्तो कुनै पार्टीले पनि माहोल भने बनाउन नसकेको अगुवाहरू बताउँछन् । नेपाली कांग्र्रेसमा विवाद नै विवादले भर्खरै थिग्रिएको छ भने आन्तरिक कलह र प्यानलबीचको मतभेद अझै कायम नै छ । महोत्तरीमा पाटीभित्रको अन्तरद्वन्द्व र निर्वाचनका बेला हुने अन्तर्घातले जित्ने ठाउँमा पनि हारिरहेको स्वीकार गर्छन् कांग्रेस नेता चिरञ्जीवी हमाल । ‘साथीहरूबीच नै एकता हुन नसक्दा पराजय व्यहोर्नुपरेको अवस्था छ,’ उनले भने ।

जिल्लामा एमालेको समान्तर कमिटी नै गठन भएको छ । पार्टीभित्रको तीव्र मतभेदले उक्त पार्टीको जिल्लामा अहिलेसम्म अधिवेशन हुन सकेको छैन भने नेताहरूको बीचको कलह उत्कर्षमा छ । नेताहरूबीचको लडाइँले सांगठनिक संरचनासमेत कमजोर छ । पहिले एमालेमा रहेका जिल्लाका प्रभावशाली नेता भनेर चिनिने सुरेश राउत, सोमबहादुर कार्की, मीन रापाल अहिले पनि नेकपा (एस) मा छन् ।

माओवादी केन्द्रमा जनप्रतिनिधि तथा वडाध्यक्षसहित आधा दर्जन नेताले पार्टी नै परित्याग गरिसकेका छन् । एमसीसीको विषयलाई लिएर नेताहरू विभाजित छन् । निर्वाचनपछि नै एमसीसीका विषयमा छिनोफानो गर्ने बताए पनि एमसीसीलाई राष्ट्रघात भन्नेहरू त्यति सन्तुष्ट देखिँदैनन् । तर पार्टीभित्र कुनै विवाद छैन भन्ने देखाउनकै लागि भए पनि एमसीसीलाई लिएर विरोध गरिरहने नेता गिरिराजमणि पोखरेल आफैं चुनावलक्षित कार्यक्रममा लागिरहेका छन् । जसपाभित्र पनि पहिलेजस्तो माहोल छैन । जसपा र लोसपा एकले अर्कोलाई जसरी पनि हराउने अभियानमा लागेका छन् । जसपाका जिल्ला सचिव महेश यादव स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रममा लागे तापनि अपेक्षाकृत नतिजा आउन नसक्ने स्वीकार गर्छन् ।

प्रकाशित : चैत्र ९, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?