२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लोसपा नेता राजेशमान सिंह जसपामा प्रवेश

भूषण यादव

वीरगन्ज — मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जमा स्थानीय चुनावको मुखमा दल बदल्ने होडबाजी चलेको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

लोसपा नेता राजेशमान सिंह जसपामा प्रवेश

जसपाका अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सिंहलाई सोमबार वीरगन्ज नगरसभा गृहमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत पार्टीमा स्वागत गरेका थिए ।

यसअघि सिंहले एमालेमा प्रवेश गर्ने घोषणा गरेका थिए । तर, सिंह प्रवेश गर्नुअगावै वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपा त्याग गरी एमाले प्रवेश गरेपछि सिंह असन्तुष्ट देखिएका थिए । अघिल्लो स्थानीय तहमा जसपाबाट टिकट लिएर निर्वाचित भएका सरावगीले विगत लामो समयदेखि पार्टीको आन्तरिक किचलोका कारण आफूले काम गर्न नसकेको गुनासो गर्दै आएका थिए ।

कांग्रेस प्रवेश गर्न प्रयास सफल नभएपछि मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीको घरमा आयोजना भएको एक वैवाहिक कार्यक्रममा सहभागी हुन आउँदा मेयर सरावगीलाई टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

सोमबार जसपमा प्रवेश गरेका राजेशमान सिंहले गतमाघ २८ मा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन आयोजन गरी अबको राजनीतिक यात्रा एमालेबाट अगाडि बढाउने घोषणा गरेका थिए । एमालेमार्फत फरक बाटोबाट मधेसको माग सम्बोधन गर्ने उनले जनाएका थिए । त्यसअघि सिंहले आफ्ना सहयोगी नेता तथा कार्यकर्ता लिएर काठमाडौंमा एमाले अध्यक्ष ओलीसँग भेटघाट गरिसकेका थिए ।

अगामी चैत ८ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वीरगन्जमा हुने भनिएको पार्टी प्रवेश कार्यक्रममार्फत एमाले प्रवेश गर्ने सिंहको योजना थियो । यहीबीचमा वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले एमाले प्रवेश गरेपछि सिंहले जसपाका नेताहरूसँग वार्ता अगाडि बढाएका थिए । सरावगीको एमाले प्रवेशपछि एमालेबाट मेयरको टिकट पाउने उद्देश्यका साथ पार्टी प्रवेश गर्न लागेका सिंह झस्किएका थिए ।

जानकारका अनुसार एमाले पर्साका नेताहरूको व्यक्तिगत स्वार्थका कारण सिंहको पार्टी प्रवेश पटक-पटक पछाडि धकेलिएको थियो । एमालेका एक नेता भन्छन्, ‘व्यापारिक पृष्ठभूमि भएका मेयरलाई भित्र्याउने उद्देश्यका कारण राजेशमान र उनको समूहको प्रवेश विभिन्न बहानामा धकेलिएको थियो ।’ मेयरको एमाले प्रवेशले पर्सामा दुई गुटमा विभाजित भएको जसपा अहिले एकजुट भएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा सिंहले १२ हजार १ सय ६५ मत ल्याएका थिए ।

प्रकाशित : चैत्र ७, २०७८ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?