मधेसमा होली उल्लासपूर्ण

कोरोना संक्रमणको त्रास घट्दा यसपटक छुट्टै रौनक

पर्सा, सिरहा — मधेस प्रदेशमा यस वर्ष पनि ३ दिन होली खेलिने भएको छ । तीन वर्षयता यस्तै संयोग पर्दै आएको छ । बिहीबार यहाँ पहाडी समुदायले होली खेले । तराई मधेसी समुदायले शुक्रबार होली मनाए । साथै सामान्यतः फागु पूर्णिमाको भोलिपल्ट तराईमा होली खेल्ने चलन रहेकाले शनिबार पनि धेरैले होली खेल्ने भएका छन् ।

मधेसमा होली उल्लासपूर्ण

निरन्तर २ वर्षको कोरोना कहरको कारण होली खेल्न नपाएका वीरगन्जेलीहरू यस वर्ष खुलेर खेल्दै छन् । साता अघिदेखि नै यहाँ होली मिलन समारोह तथा शुभकामना आदानप्रदानजस्ता कार्यक्रमहरू निरन्तर चलिरहेका छन् । विभिन्न संघसंस्थाले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिरहेका छन् ।

वीरगन्जको आदर्शनगर क्षेत्रका मारवाडी समुदायले बिहीबार राति सम्वत् जलाएपछि शुक्रबार होली खेलेका छन् । अन्य समुदाय भने फागुपूर्णिमाको भोलिपल्ट अर्थात् शनिबार होली खेल्ने मनस्थितिमा छन् । विश्लेषक मनोज उपाध्याय होली पर्वलाई धार्मिकभन्दा पनि सांस्कृतिक हिसाबले मान्ने चलन भएकाले अधिकांश तराईवासीले प्रायः २ दिन होली खेल्ने चलन रहेको बताउँछन् ।

‘धार्मिक पक्षमा प्रख्यात पुराना व्यक्तिहरूको गाथा गाउने भएकाले प्रज्ञा र ज्ञानसँग यो पर्व जोडिएको हुन्छ,’ उनले भने, ‘यसका साथै होलीमा रमाइलो गर्ने, आफन्तजन इष्टमित्रसँग भेटघाट गर्ने, सामूहिक खानपिन गर्ने चलन छ, यो पर्वमा अन्य पर्वहरूजस्तो ब्रत लिने, शुद्ध चोखो खानेजस्ता धार्मिक नियम नरहेकाले यो पर्वमा खाने पिउने रमाउने, आफन्तसँग भेटघाट गर्नेजस्ता अवसर मिल्ने भएकाले यो सबैको प्रिय भएको हो ।’

पर्सा, बारा र रौतहटको होलीले पर्व मात्र नभई भोजपुरी संस्कृतिको पनि प्रतिनिधित्व गर्छ । यहाँ परिवारका सदस्य मात्र नभई आफन्त इष्टमित्रलाई पनि घरमा बोलाएर मिष्टान्न खुवाउने चलन छ । होली गीतमा जनकपुर, रामजानकी, जनक आदिको प्रसंग बढी हुन्छ । होली पर्वमा वर्षभरि भेटघाट नभएकाहरू एकअर्काको घरमा भेटघाट गर्न जाने र रंग तथा शुभकामना आदानप्रदान गर्ने चलन छ । यो पर्वले साथीभाइ इष्टमित्रलाई वर्ष दिनमा एकपटक भेटघाट गर्ने अवसर पनि जुराउँछ ।

आपसमा मनोमालिन्य र रिसराग भएकाहरू पनि त्यसलाई बिर्सेर आजकै दिनबाट सम्बन्धको नयाँ सुरुवात गर्छन् । तराईमा गर्मी भएकाले यहाँ पहिलेदेखि नै पानी र रंगसँग होली खेल्न सहज महसुस गरिन्छ । रंग र अबिरको होली खेलेपछि आफन्तजन एवं इष्टमित्रहरूलाई काजु, किसमिस, नरिवल, छोकडा, सुपारी आदिको मसला खान दिने चलन छ । खाने पिउने मात्र नभई नेता तथा समाजका प्रतिष्ठित व्यक्तिलाई पनि सार्वजनिक रूपमा व्यंग्य गर्ने छुट यो पर्वमा छ । यसरी होली पर्वमा व्यंग्य गर्दा कसैले पनि चित्त दुखाउँदैनन् ।

फागु गीतमा बेलापट्टी प्रथम

जनकपुर– मिथिला नाट्यकला परिषद् (मिनाप) द्वारा आयोजित फागु गीत (डम्फा) प्रतियोगितामा धनुषाको विदेह नगरपालिकास्थित बेलापट्टी होलैया समूह प्रथम भएको थियो । बसहिया द्वितीय, मंगलपुर धनुषाधाम तृतीय तथा बलहाको महिला समूह चौथो भएको थियो । संगीतकार अनिलकुमार मिश्र, लोकगायक रामनारायण ठाकुर तथा युवा गायक ललित कामतसहितको निर्णायक मण्डलले उक्त निर्णय सुनाएका थिए । महोत्सवको पहिलो दिन बिहीबार फागु तीन प्रतियोगिता तथा हास्य कविगोष्ठी आयोजना गरिएको थियो ।

जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, मिनाप अध्यक्ष प्रमेश झासहित सहभागीले सामूहिक रूपमा डम्फा बजाएर महोत्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतोको पनि उपस्थिति थियो । प्रथम, दोस्रो तथा तेस्रो स्थान प्राप्त गर्ने समूहहरूलाई क्रमश : ९ तोला, ५ तोला तथा ३ तोला चाँदीको तक्मा, सिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा धनुषाको गिद्धा बेलापटी, धनुषाधाम मंगलपुर, विश्वम्भरपुर, हरिपुर, बभनगा तथा महोत्तरीको पिपरा र बेला गरी ९ समूहको सहभागी थियो । अन्य सहभागीहरूलाई डम्फा, गमछा, प्रमाणपत्र तथा यातायात खर्च प्रदान गरिएको थियो ।

होलीमा सुनिन छोड्यो परम्परागत गीत

सिरहा– तराई–मधेसमा शुक्रबार धुमधामका साथ होली पर्व मनाइएको छ । तर फागु पूर्णिमा अर्थात् होलीमा गाइने प्रचलित मौलिक गीत ‘जोगिरा सररर’ पछिल्लो समय हराउँदै गएको छ । होली पर्वको दिन शुक्रबार गाउँघरमा यो मौलिक गीत गुन्जिएन । बरु त्यसको स्थान आधुनिक डिजे गीतसंगीतले लियो । तराईका सहर र गाउँ देहातमा होलीका बेला गाइने प्रचलित यो मौलिक गीत आधुनिक संस्कृतिको प्रभाव बढेसँगै हराउँदै गएको छ ।

फागु अर्थात् होली आउन १५ दिनअघिदेख तराई–मधेसमा गुन्जिने फागु विशेष गीत सुनिन छाडेको बताउँछन् लहान नगरपालिका–१६ का ७० वर्षीय राजलाल चौधरी । उनी भन्छन्, ‘फागुको मौलिकतामा आँच अएसँगै होलीको रौनक पनि खस्कँदो छ, श्रीपञ्चमीदेखि नै अबेर रातिसम्म मृदंग, हारमोनियम र डम्फुका तालमा तराईका बस्ती–बस्तीमा गाइने जोगिरा हराउँदै गएपछि पर्वको मौलिकता नै हराउने हो कि भन्ने चिन्ता बढेको छ ।’

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकोमा गाउँघरका बूढापाका चिन्तित छन् । ‘पहिला हामीहरू मृदंग, हारमोनियम र डम्फुका तालमा गीत गाएरै फागु आएको संकेत गर्थ्यौं,’ उनले भने, ‘अब न त ढोल, मृदंग नै बज्छन् न त फागु गीत नै गुन्जिन्छन् बरु त्यसको ठाउँमा नानाथरीको डिजे गीत बज्न थालेको छ ।’

प्रकाशित : चैत्र ५, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?