झा भए ‘महामूर्ख’

श्यामसुन्दर शशि

जनकपुर — मधेस प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा महामूर्ख घोषित भएका छन् । मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गरेको होरी महोत्सवको दोस्रो दिन शुक्रबार जानकी मन्दिर प्रांगणमा आयोजित रंगारंग कार्यक्रमबीच झा महामूर्ख घोषित भएका हुन् ।

झा भए ‘महामूर्ख’

मिनाप अध्यक्ष परमेश झा, मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतोले उनलाई तरकारीको कलात्मक माला, प्रशस्तीपत्र, कलात्मक टोपी र दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद मञ्जु यादवलाई अदलबदली, जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई वैशाखनन्दन, व्यवसायी प्रमोद चौधरीलाई बोतलानन्द, मिथिला चित्रकलाकी कलाकार मिथिलेश्वरी कर्णलाई लालबुझक्कडी, लोकगायक तथा बादक रामरेखा पण्डितलाई बज्रकीट, बेलापट्टी गिद्धा माविका प्रधानाध्यापक पवन मण्डललाई डपोरशंख, पर्यावरण अभियानी देवनारायण मण्डललाई हराशंख उपाधि प्रदान गरियो ।

नेपाल पत्रकार महासंघ धनुषा अध्यक्ष मोनिका झालाई दिलतोडिया, अधिवक्ता सुदीप कोइरालालाई गोबर गणेश, मिथिला चित्रकलालाई देश–विदेशमा प्रचारप्रसार गर्ने मनीषा साहलाई गन्ही, समाजसेवी प्रकाशजंग राणालाई तरघुसका, काव्या अस्पतालका सञ्चालक डा. एसके सिंहलाई कफनचोर तथा युवा अभियानी राकेशविक्रम साहलाई टिटहीको उपाधि प्रदान गरी सम्मान गरिएको थियो ।

महामूर्ख घोषणा भएपछि झाले यो उपाधि जीवनको ‘अनुपम उपहार’ भएको बताए । शिक्षा मन्त्रालयद्वारा प्रदान गरिने शिक्षा पदक लिन इन्कार गरेका झाले भने, ‘सोर्सफोर्सका आधारमा कुनै पनि पुरस्कार स्वीकार गरेको छैन तर यो सम्मान मेरा लागि नेपाल रत्नभन्दा कम छैन ।’

प्रकाशित : चैत्र ५, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?