प्रशासकीय अधिकृत बन्न किर्ते गरेको आरोप

रौतहट — ईशनाथ नगरपालिकाका एक कर्मचारीमाथि निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्न किर्ते गरेको आरोप लागेको छ । नगरका शिक्षा संयोजक नन्दकिशोर गुप्तामाथि कार्यपालिका बैठकको नक्कली निर्णय पेस गरेको आरोप लागेको हो । किर्तेको आरोप लागेपछि गुप्तालाई हाजिर गर्न रोक लगाइएको छ । 

गुप्ताले नक्कली निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको नगर प्रमुख सन्तोष मेहताले बताए । उनका अनुसार गुप्ताले नगर उपप्रमुख हुसने आरा र वडाध्यक्ष इद मोहम्मदलगायत जनप्रतिनिधिको नक्कली हस्ताक्षरसहित माघ २४ मा बसेको कार्यपालिकाको बैठकको निर्णय भन्दै मन्त्रालयमा पेस गरेका थिए । फागुन २३ मा उनले मन्त्रालयबाट निमित्तको जिम्मेवारी पाएका थिए ।

दुई महिनाअघि मन्त्रालयले उपसचिव खिमबहादुर भुजेललाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । भुजेलको अचानक सरुवापछि नगर प्रमुख मेहता र उपप्रमुख आरासहितको टोली मन्त्रालय पुगेको थियो । ‘त्यहाँ पुगेर कागज हेर्दा किर्ते गरेको फेला पारियो,’ मेहताले भने, ‘अब कानुनी बाटो अपनाउने तयारीमा छौं । किर्ते गर्ने गुप्तालाई निमित्त स्विकार्न सकिँदैन । उनलाई हाजिर हुन दिँदैनौं ।’ गुप्ताविरुद्ध प्रहरीमा उजुरी दिन लागिएको उनले बताए ।

शिक्षा संयोजकले पठाएको पत्रको भरमा उपसचिव भुजेललाई सरुवा गरिएकाले उक्त निर्णय बदर गर्न मन्त्रालयलाई आग्रह गरिएको मेहताले बताए । शिक्षा संयोजक गुप्ताले आफूलाई मन्त्रालयले जिम्मेवारी दिएपछि राजनीतिक पूर्वाग्रह साधिएको दाबी गरे । ‘मैले किर्ते गरेकै छैन । उपप्रमुख आरासहितका कार्यपालिकाको बैठकले निर्णय गरेकै हो,’ उनले भने ।यसअघि गुप्ताले सोही पालिकामा दुई पटकसम्म निमित्तको जिम्मेवारी पाइसकेका छन् ।

प्रकाशित : चैत्र १, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?