कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

रोग लुकाउँदा फैलँदै कुष्ठरोग

सन्तोष सिंह

धनुषा — सामाजिक परम्परा र गलत बुझाइका कारण कुष्ठरोग लुकाएर उपचार नगर्दा धनुषा र महोत्तरीमा नयाँ बिरामीको संख्या वृद्धि भएको छ । अस्पतालमा नि:शुल्क पाइने औषधि सेवन नगर्ने तथा उपचार नगरी रोग लुकाउँदा परिवार तथा समुदायमा किटाणु फैलिएको विज्ञहरूले बताएका छन् । जसकारण पछिल्लो समय कुष्ठरोगका नयाँ बिरामी भेटिएको बताइन्छ ।

रोग लुकाउँदा फैलँदै कुष्ठरोग

दुवै जिल्लामा कुष्ठरोगीको सम्पर्कमा आउनेहरूमा रोगको किटाणु सर्दा रोग न्यूनिकरण गर्न चुनौती भएको बताइएको छ । रोग रोकथाम र न्यूनिकरणका लागि औषधि सेवन गरे पनि नयाँ रोगीको संख्यामा वृद्धि भएपछि विज्ञहरुले उपचार शैलीमा समेत परिमार्जन गर्न सुझाएका छन् ।

दुई जिल्लामा तीव्र रुपमा कुष्ठरोगीको चाप रहेको र रोगको किटाणु रगतको नाता भएका व्यक्तिमा समेत देखा पर्न थालेकोले रोग न्यूनिकरण तथा उपचार शैलीमा परिमार्जन गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।

कुष्ठरोग नियन्त्रणको क्षेत्रमा काम गर्दैआएको एनएलआरका उपनिर्देशक नन्द बास्तोलाका अनुसार औषधिको प्रभाव पार्न नसक्दा दुई जिल्लामा कुष्टरोगी भएका परिवारका सदस्यलाई अतिरिक्त औषधि उपलब्ध गराउनु पर्ने देखिएको छ ।

सोमबार जनकपुरमा आयोजित जिल्लास्तरीय कुष्ठरोग सम्बन्धी योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रममा बास्तोलाले नेपालमा वार्षिक रुपमा कुष्टरोगका बिरामीहरूमध्ये ४० प्रतिशत मधेस प्रदेशमा भेटिएको बताए ।

नेपालमा कुष्ठरोग प्रभावित जिल्लाहरूमध्ये रोगको अत्यधिक चाप धनुषा र महोत्तरीमा रहेको छ । पछिल्लो १३ वर्षमा धनुषामा १ सय ७५ बालबालिकासहित कुष्ठरोगका नयाँ बिरामी १ हजार ६ सय २६ जना र महोत्तरीमा २ सय १८ बालबालिकासहित १ हजार ७ सय ७५ जना नयाँ बिरामी भेटिएका छन् ।

बंगलादेशको एक अध्ययनले कुष्ठरोग प्रभावित व्यक्तिहरूको नजिक रहने व्यक्तिमा व्याक्टेरियाको ठूलो संख्या हुने तथा रोग देखा पर्ने अवस्थामा पुगेको हुनाले रिफाम्पिसीन औषधिको प्रभावकारिता २४ प्रतिशत मात्र रहेको बास्तोला बताउँछन् ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेशव साहले गम्भीर समस्या र परिवारमा क्षति नपुगेसम्म रोग लुकाउने परम्पराले मधेस प्रदेशमा कुष्ठरोग न्यूनिकरण गर्न समस्या भएको बताए ।

'रोग लुकाउँदा परिवारमा बिरामीको संख्यामा वृद्धि भएको छ,' डा. साहले भने, ‘कुष्ठरोगले शरीरमा विकृति ल्याएपछि मात्र उपचारको खोजी गरेको पाइएको छ ।’ रोग न्यूनिकरणका लागि जनचेतना आवश्यक रहेको पनि डा साहको सुझाव छ ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले नीति र रणनीति कमजोर हुँदा चार हजार वर्ष पुरानो कुष्ठरोग नियन्त्रण हुन नसकेको बताए । स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मीलाई कुष्ठरोग नियन्त्रणका लागि तालिम दिए पनि प्राथमिकतामा नपरेको उनी बताउँछन् ।

जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष रामदेव बनरैत यादवले स्थानीय तहका जनप्रतिनिधिलाई कुष्ठरोगबारे जानकारी नहुँदा पनि स्थानीय तहमार्फत नियन्त्रण गर्न कठिन भएको बताए । रोग नियन्त्रण र उपचारका लागि स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सक्रिय बनाउनु पर्ने उनको सुझाव छ ।

प्रकाशित : फाल्गुन २३, २०७८ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?