१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

३ जिल्लामा कांग्रेस निर्वाचन स्थगित

रौतहटमा संस्थापन पक्षले नक्कली मतदाता ल्याएको आरोप 
बारामा मतपत्र जलाइयो
कान्तिपुर संवाददाता

रौतहट/महोत्तरी/बारा — वडाबाट चुनिएका प्रतिनिधिलाई प्रमाणपत्र नदिएको भन्दै विवाद भएपछि नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिवेशनअन्तर्गत शनिबारको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । विवाद बढेपछि केहीबेर मतदानस्थल तनावपूर्ण बनेको थियो । क्षेत्र नम्बर ३ लगायत वडाका प्रतिनिधिलाई अहिलेसम्म प्रमाणपत्र उपलब्ध नगराइएको र फर्जी मतदातालाई लाइनमा बसाएको भन्दै विवाद बढेको हो ।

३ जिल्लामा कांग्रेस निर्वाचन स्थगित

शेखर कोइराला पक्षधरले निर्वाचनमा संस्थापन पक्षले धाँधली गरेको आरोप लगाएको थियो । त्यसपछि मतदान स्थगित भएको सूचना टाँस गरिएको थियो । कोइराला पक्षका सचिवका उम्मेदवार सुमन गौतमले फर्जी मतदातालाई लाइन बसाएको फेला पारेपछि आफूहरूले अवरोध गरेको बताए । ‘वडाबाट प्रतिनिधिमा जितेका साथीहरूले प्रमाणपत्र पाएका छैनन् । उनीहरूसित प्रमाण नै नभएपछि कसरी भोट हाल्छन् ?’ उनले भने, ‘नक्कली मतदातालाई भोट हाल्न लगाएर जित्ने योजना बनाएकाले सच्याउनुपर्छ भन्ने माग राखेका हौं । अब प्रमाणपत्र पाएपछि मात्र मतदान हुन दिन्छौं ।’

विवादबीच निर्वाचन समितिले दुवै पक्षलाई राखेर केही बेर छलफल गराएको थियो । तर सहमति ननिस्केपछि मतदान नै स्थगित गरेको हो । निर्वाचन अधिकृत दीपकराज रेग्मीले प्राविधिक कारणले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतदानका सबै कार्यक्रम स्थगित गर्नुपरेको बताए । उनले भने, ‘अब चाँडै विवाद मिलाई निर्वाचनको मिति तय गर्छौं ।’ सभापति पदका संस्थापन पक्षका उम्मेदवार जितेन्द्र यादवले केही विषयमा विवाद भए पनि फर्जी मतदाता कोही नभएको दाबी गरे । सभापतिका लागि संस्थापन पक्षका जितेन्द्र यादव (सुनील) र कोइराला प्यानलबाट हृदयनारायण यादव मैदानमा छन् ।

यस्तै, मतदान जारी रहेको बेला विवाद भएपछि नेपाली कांग्रेस बाराको निर्वाचन रद्द भएको छ । कलैयाको सिद्धेश्वर संस्कृत माविमा शनिबार भएको निर्वाचनमा मतपत्र कब्जामा लिएर फर्जी मत खसाल्न थालिएपछि निर्वाचन नै रद्द गरी सबै मतपत्र जलाइएको मुख्य निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जनाए ।

मतदान स्थलमा नाराबाजीसँगै प्रदर्शन भएको छ । पुनः मतदानको लागि आइतबार बैठक बसेर तय गरिने प्रमुख निर्वाचन अधिकृत उप्रेतीले बताए । उनका अनुसार २ नम्बर निर्वाचन क्षेत्रको ४ वटा बुथमा फर्जी मत खसेपछि अनुगमनको क्रममा अमर्यादित क्रियाकलाप पाइएको हो । तयारी अपुग, मतदान स्थल तोक्न र मतपत्र छाप्न ढिलाइ भएकोले मतदान दिउँसो १ बजेदेखि सुरु भएको थियो । ‘इन्ट्री गरेको मतपत्रभन्दा बढी मतपत्र खसेको (बाहिरबाट ल्याइएको) पाइयो,’ उनले भने, ‘अमर्यादित हुन थालेपछि उत्छृंखल मच्चाउने धेरै भए, त्यसैले सुरक्षाकर्मीको सहयोग र उम्मेदवारको सल्लाहमा सबै मतपत्र जलाइएको छ ।’ यसबारे केन्द्रीय निर्वाचन समितिमा जानकारी गराइसकिएको उनले बताए । ‘कुन पक्षले मतपत्र कब्जा गरे भनेर एकिन हुन सकेको छैन,’ उनले भने ।

सभापतिमा संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेश राय गरी दुई जनाले उम्मेदवारी दिएका छन् । शेखर कोइराला र कृष्ण सिटौलाको समूहको समर्थनमा रामानन्द यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् । उनीहरु प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

यसैगरी, नेपाली कांग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको मत परिणाममा सभापतिका तीन जना उम्मेदवारमध्ये ५१ प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा सहमतिबाट यादव सभापति बनेका हुन् । निकटतम प्रतिद्वन्द्वी सुशील यादवले नागेश्वरकै नाममा सहमति गरेपछि निर्वाचन अधिकृत इन्द्र अधिकारीले उनलाई जिल्ला सभापति घोषणा गरेका थिए ।

प्रकाशित : फाल्गुन २२, २०७८ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?