कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘गहुँ फुल्न थालिसक्यो, मल पाइएन’

पर्सा — मल ढुवानी गर्न ल्याइएका सवारीसाधन र किसानको भीडभाडले चहलपहल हुनुपर्ने कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्ज परिसर अहिले सुनसानजस्तै छ । लामो समयदेखि यहाँ न मल नै आयात भएको छ, न किसानले चाहेजति मल लैजान नै पाएका छन् । अहिले गहुँबाली फुल्ने समय हो ।

‘गहुँ फुल्न थालिसक्यो, मल पाइएन’

सिँचाइपछि रासायनिक मल राख्नुपर्ने मुख्य सिजनमै यो कार्यालयमा युरिया मलको अभाव छ । डीएपी मलको मौज्दात सकिएको त झन्डै एक महिनै भइसक्यो ।

कार्यालयको गोदाममा अहिले करिब ३ सय टन मात्र युरिया मलको मौज्दात छ । त्यो पनि किसानले सहजै पाउने अवस्था छैन । कोटा प्रणालीमार्फत सहकारी संस्थामा पुग्ने मल किसानले पाउँदा परिमाण न्यून र सास्ती भनिसाध्यै हुँदैन । किसान संघ पर्साका अध्यक्ष असर्फी साह आफूहरूले गहुँ बालीका लागि आवश्यक भए जत्ति युरिया मल अझै नपाएको गुनासो गर्छन् । ‘गहुँ फुल्न थालिसक्यो, पैसा तिरेर मल किनौं भन्दा पनि पाइएन,’ उनले भने, ‘यसरी मलकै अभाव भइरहने हो भने अन्नको उत्पादन नै घट्छ । त्यसले हामीलाई मात्र होइन देशलाई नै घाटा हुने हो ।’

कार्यालयका निमित्त प्रमुख योगेन्द्रप्रसाद पराजुलीले कार्यालयमा मलको मौज्दात नै कम भएकाले पर्याप्त मात्रामा किसानसम्म नपुगेको बताए । ‘युरिया मल अत्यधिक माग भए पनि कार्यालय मातहतका अन्य जिल्लाहरूमा थोरै मात्रामा मात्रै पठाइरहेका छौं,’ उनले भने, ‘पर्सामा कोटा प्रणालीबाट सहकारीहरूमार्फत किसानलाई मल उपलब्ध भइरहेको छ ।’ गहुँ बालीका लागि अब केही दिनपछि युरिया मलको आवश्यकता नपर्ने र हाल उपलब्ध परिमाणबाटै गर्जो टार्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

तत्कालै युरिया मल आयात हुने कम्पनीको कुनै कार्यतालिकासमेत नरहेको उनले स्पष्ट पारे । ‘जीटुजी माध्यमबाट सरकारले भारतसँग सोझै मल खरिद गर्ने कुरो चलिरहेको सुनेको हुँ,’ उनले भने, ‘योभन्दा बढी जानकारी मलाई पनि छैन ।’

प्रकाशित : माघ २१, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?