१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुक्खा बन्दरगाहबाट अझै हटाइएन साल्टको बिग्रिएको डीएपी मल

शंकर आचार्य

पर्सा — १६ महिनाअघि सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको साल्ट ट्रेडिङ कर्पोरेसनको बिग्रिएको १ हजार २ सय २५ टन डीएपी मल यहाँबाट अझै हटाइएको छैन । बिग्रिएको मल लामो समयसम्म नहटाउँदा मल राखिएको स्थान वरपरका रुख बिरुवाहरू मर्न थालेका छन् ।

सुक्खा बन्दरगाहबाट अझै हटाइएन साल्टको बिग्रिएको डीएपी मल

पुस २ गतेको अर्थमन्त्री स्तरीय निर्णयबाट उक्त मल कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने तय भएको थियो । अर्थले पुस ११ गते उक्त निर्णयबारे कृषिलाई औपचारिक रुपमा जानकारीसमेत गराएको बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले बताए । त्यसपछि साल्ट ट्रेडिङ र कृषि मन्त्रालयका अधिकारीहरूको संयुक्त टोली आएर उक्त मलको निरीक्षण गरेर फर्किए पनि त्यसपछि भने केही प्रगति हुन नसकेको न्यौपाने बताउँछन् ।

‘हामी पनि जति सक्दो यो मल बन्दरगाहबाट लगियोस् भन्ने पक्षमै छौं,’ उनले भने, ‘लामो समय ठूलो परिमाणमा मल एकै ठाउमा थन्किँदा त्यसले माटोको उर्वरा शक्तिको सन्तुलन बिग्रिन्छ, हाल बन्दरगाहमा मल थुप्रिएको स्थानको वरपरका हरिया रुख तथा बुट्यानहरू पनि मर्न थालेका छन् ।’

बन्दरगाह भन्सार कार्यालयले उक्त कन्साइन्मेन्टको करिब १ हजार २ सय २५ टन डीएपी मल भिजेर उपयोगविहीन अवस्थामै आएकाले उक्त मल जफत गरेर नष्ट गर्ने निर्णय यसअघि नै गरेको थियो । तर‚ पछि अर्थ मन्त्रालयले उक्त मल कृषि मन्त्रालयलाई दिने निर्णय गर्‍यो ।

स्विस सिंगापुर ओभरसिज सप्लायर रहेको तथा जोर्डनबाट खरिद गरी ल्याइएको डीएपी मल सुरुमा भारतको कोलकाता बन्दरगाह आएको थियो । समुद्रीमार्गमै रहँदा सन् २०२० को अगस्टको दोस्रो साता बंगालको खाडीमा आएको ‘अफान’ नामक समुद्री आँधीको चपेटमा उक्त मल बोकेको पानी जहाज परेको थियो ।

पानी जहाजमै रहँदा पानी पसेर मल भिजेको थियो । भिजेको मल सप्लायरले कोलकाताबाट वीरगन्जसम्म ल्याएपछि त्यतिबेला सुक्खा बन्दरगाह भन्सार कार्यालयले जाँचपास गर्न मानेको थिएन ।

त्यतिबेला साल्टले कुल २५ हजार टन डीएपी मल आयात गरेकोमा त्यसमध्ये पछिल्लो लटको दुईवटा रेल्वे र्‍याकमा आएको २ हजार ५ सय टनमध्ये आधा अर्थात् १ हजार २ सय २५ टन डीएपी मल काम नलाग्ने थियो ।

प्रकाशित : माघ २०, २०७८ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?