कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
सहिद दुर्गानन्द झा ५८ औं स्मृति दिवस

जसको हत्या गर्न मुलुकी ऐन नै संशोधन गरियो

श्यामसुन्दर शशि

धनुषा — मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुनुभन्दा ४७ वर्षअघि राजामाथि बम प्रहार गरी गणतान्त्रिक नेपालको शंखघोष गर्ने सहिद दुर्गानन्द झाको ५८ औं स्मृति दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

जसको हत्या गर्न मुलुकी ऐन नै संशोधन गरियो

तत्कालीन शाहीसत्ताले मुलुकी ऐन संशोधन गरेर मृत्युदण्ड दिने सम्भवतः उनी एक्लो सहिद हुन् । निर्वाचित संविधानसभाको पहिलो बैठकबाट विसं २०६५ साल जेठ १५ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो । तर सहिद दुर्गानन्द झाले जनकपुर भ्रमणमा आएका राजा महेन्द्रमाथि २०१८ साल माघ ९ गते जानकी मन्दिर प्रांगणमा बम प्रहार गरेका थिए ।

यद्यपि बम प्रहारबाट राजा महेन्द्रलाई केही हानी भएन । बरु उनको गाडीमा मात्र क्षति पुगेको थियो । तैपनि घटना भएको दुई वर्षपछि २०२० साल माघ १५ गते उनलाई सुन्धारास्थित केन्द्रीय कारागारमा फाँसीमा झुण्ड्याई हत्या गरिएको थियो ।

सहिद झा पारम्परिक मैथिल ब्राह्मण समाजका थिए । धनुषाको सीमावर्ती जटही गाउँमा विसं १९९४ वैशाख १४ गते जन्मिएका उनलाई राज्यसत्ताले फाँसी दिँदा उनी २१ वर्षका मात्र थिए ।

त्यसबेला मुलुकी ऐन १९१० अनुसार ब्राह्मणलाई मृत्यु दण्ड दिन नपाइने व्यवस्था थियो । ब्राह्मणलाई मृत्युदण्ड नदिने व्यवस्थाकै कारण विसं १९९७ सालमा टंकप्रसाद आचार्य र रामहरि शर्मालाई मृत्यृदण्ड नदिई आजीवन कारावासको सजाय सुनाइएको थियो । दुर्गानन्द झाको हकमा भने राजा महेन्द्र अत्यन्तै निर्मम देखिएका थिए ।

वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार झालाई मृत्युदण्ड दिन विसं २०२० भदौ १ गते मुलुकी ऐनमा संशोधन गरिएको थियो ।

सहिद झाका बालसखा तथा प्रतिनिधिसभा सांसद स्मृतिनारायण चौधरीका अनुसार दुर्गानन्द झाकी आमा सुकुमारी देवीले राजा महेन्द्रसमक्ष छोरालाई माफ गरिदिन लिखित उजुरीसमेत दिएकी थिइन् । तर राजा महेन्द्रले स्वीकार गरेनन् । लेखपढ र खेलकुदमा अब्बल दुर्गानन्द झा भारतीय गाउँ उमगांवमा अध्ययनरत थिए । २०१५ सालको प्रथम आमनिर्वाचनमा उनले नेपाली कांग्रेसको लागि चुनाव प्रचारसमेत गरेका थिए ।

नेपाली कांग्रेसको औपचारिक निर्णय अनुसार राजा महेन्द्रमाथि बम प्रहार गरिएको सांसद चौधरीको भनाइ छ । ‘२०१७ सालमा जननिर्वाचित कांग्रेस सरकारलाई अपदस्थ गरेपछि कांग्रेसले आन्दोलन घोषणा गरेको थियो । नेपाली कांग्रेसकै नेताहरूले दुर्गानन्द झा र अरविन्द ठाकुरलाई बम उपलब्ध गराएको थिए,’ सांसद स्मृतिनारायण चौधरीले कान्तिपुरसँग भने ।

राजा महेन्द्रमाथि बम प्रहार गर्ने घटनामा सहभागी अरविन्द ठाकुर पनि उनीसँगै केन्द्रीय कारागारमा थिए । दिवंगत हुनुअघि ठाकुरले कान्तिपुरसँगको कुराकानीमा भनेका थिए 'दुर्गानन्दजीलाई जेलभित्रकै एउटा रुखको हांगामा पासो लगाइएको थियो तर हांगा भाचियो अनि गोली ठोकी हत्या गरियो ।’

२०१७ साल पुस १ गते बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गरेपछि नेपाली कांग्रेस आन्दोलित बनेको थियो र राजतन्त्रात्मक व्यवस्थाको विरोधमा जनकपुरका दुर्गानन्द झा र अरविन्द ठाकुरले राजामाथि बम प्रहार गर्ने जिम्मा लिएका थिए ।

आमा बुबाको एकमात्र सन्तान दुर्गानन्द झालाई २१ वर्षको अल्पायुमा मृत्युदण्ड दिइएको थियो । छोराको मृत्युपछि आमा सुकुमारी देवी र श्रीमति काशी देवी अत्यन्तै कष्टमय जीवन बिताएका थिए । पहिलो संविधानसभामा तराई मधेस लोकतान्त्रिक पार्टीले काशी देवी झालाई समानुपातिक सांसद तथा कानुन राज्यमन्त्री बनाए पनि नेपाली कांग्रेसले उनको लागि खासै केही गर्न सकेको छैन ।

प्रकाशित : माघ १५, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?