कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वीरगन्जमा २ दिनमा ३ संक्रमितको मृत्यु 

शंकर आचार्य

पर्सा — जिल्लामा कोरोना संक्रमण दैनिक ओरालो लागि रहँदा संक्रमितको मृत्युको दर भने बढ्दो छ । शुक्रबार र शनिबार गरी वीरगन्जमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

नारायणी अस्पतालमा उपचाररत २ संक्रमितको शनिबार र एकको शुक्रबार मृत्यु भएको हो । अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार शनिबार बिहान साढे ५ बजे वीरगन्ज प्रगतिनगर घर भएका ७५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । उनी अस्पतालमा शुक्रबार मात्र भर्ना भएका थिए । भेन्टीलेटरमा राखेर उपचार गरिएका उनी मुटु रोगीसमेत थिए । उनले कोभिसिल्डको दुई डोज लिएका थिए ।

अन्य अस्पतालले रिफर गरेपछि उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यसैगरी, शनिबार बिहान साढे ७ बजे अस्पतालमै अर्का एक संक्रमित पुरुषको मृत्यु भएको छ । बारा कलैया उमनपा– ५ घर भएका ६५ वर्षीय ती पुरुषलाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त उनमा मधुमेह लगायत अन्य स्वास्थ्य समस्यासमेत थियो । उनले भेरोसेलको २ डोज लगाएका थिए ।

यस अघि शुक्रबार बिहान अस्पतालमा थप एक संक्रमितको उपचारको क्रममा मृत्यु भएको थियो । वीरगन्ज मनपा – २७ घर भएकी ६५ वर्षीया महिलाको मृत्यु भएको थियो । निमोनियाले ग्रस्त ती महिलाले पनि भेरोसेलको दुई डोज खोप लगाएकी थिइन् ।

कोरोनाको तेश्रो लहरमा शनिबार सम्ममा गरी वीरगन्जका विभिन्न अस्पतालमा ६ कोरोना संक्रमतिको मृत्यु भएको छ । ती मध्ये ४ बारा र २ पर्साका हुन् ।

मृत्युदर बढ्दो क्रममा रहेपनि नारायणी अस्पतालकै प्रयोगशालाको नतिजाले जिल्लामा कोरोना संक्रमण दर भने घट्दो क्रममा रहेको देखाई रहेको छ । अस्पतालमा शुक्रबार ५० जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि भएका मध्ये ८ मात्र पर्साका हुन् । बिहीबार ३५ जनाको स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती मध्ये ८ पर्साका हुन् । त्यस अघि बुधबार ४१ जनाको स्वाब परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती मध्ये १० पर्साका हुन् ।

मंगलबार ५६ जनाको स्वाब परीक्षण गर्दा २७ जनामा र सोमबार ४२ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तुलनात्मक रुपमा हेर्दा बुधबार देखि संक्रमण दर ओरालो लागी रहेको डा. सिंह बताउँछन् । मंगलबार सम्म ५० प्रतिशत भन्दा माथि रहेको संक्रमण दर बुधबार यता भने २५ देखि ३० प्रतिशतको बीचमा झरेको छ ।

प्रकाशित : माघ १५, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?