१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वन्यजन्तु मार्न सिकारी सक्रिय

नीलगाई, बँदेल, हरिणलगायत वन्यजन्तु मारेर मासु बिक्री हुने गरेकोबारे जानकार रहे पनि वन कार्यालय मौन
शिव पुरी

रौतहट — डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरअन्तर्गत जंगलसैया सेक्टरको देबाही गोनाहीस्थित बकैया खोलानजिक बिहीबार बिहान घाइते नीलगाई फेला पर्‍यो । वन कार्यालयले प्रहरीको सहयोगमा तत्कालै उद्धार गरेर पर्सा राष्ट्रिय निकुञ्जमा उपचारका लागि पठायो ।

बकैयानजिक खेतमा चर्न आएको नीलगाईलाई सिकारीले भाला रोपेर मार्ने प्रयास गरेका थिए । आक्रमणबाट गाईको आँखा र ढाडमा गम्भीर चोट लागेको छ ।

पछिल्लो समय बकैया नदीछेउका खेतमा गहुँ, मसुरो, तोरी खान आउने नीलगाई, बँदेल, हरिणलगायत वन्यजन्तु मार्न सिकारी सक्रिय भएका छन् । वन्यजन्तुको बाटो ढुकेर बस्ने सिकारीले बन्दुक, भाला र जाल प्रयोग गर्ने गरेको पाइएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘त्यस क्षेत्रमा सिकारी हाबी भएको सुराकी पाएका छौं,’ कार्यालयका निमित्त प्रमुख अमरदेव यादवले भने, ‘वन्यजन्तुको संरक्षणका लागि गस्ती र निगरानी बढाउन भनेको छु ।’

नदी छेउको वन सयौंको सख्यामा नीलगाईको बसोबास रहेको क्षेत्र हो । नीलगाई मारेर हरिणको मासु भन्दै बिक्री गर्न थालिएको जानकारी पाएको यादवले सुनाए । डेढ साताअघि जंगलबाट बँदेल मारेर भागबन्डा गर्दैगर्दा चेतनगर क्षेत्रमा वनको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । वनको टोली आएको थाहा पाएपछि हतियारसहित बसेका सिकारी भागेका थिए ।

स्थानीयका अनुसार जुडिबेला र चन्द्रनिगाहपुरको पश्चिमपट्टिको जंगल क्षेत्रमा पनि सिकारी सक्रिय छन् । वन्यजन्तुलाई सिकारीबाट जोगाउन वनका गस्ती टोली खटिने गरे पनि प्रभावकारी हुन सकेको छैन । यादवले सिकारीविरुद्ध कडाइ गरिने दाबी गरे । हिउँदयाममा नीलगाई, बँदेल, हरिणलगायत वन्यजन्तु हरियो खान जंगलबाहिर निस्कन्छन् । यसैको मौका छोपेर सिकारीको चंगुलमा पर्छन् । नागरिक समाजका अगुवा सपुतबहादुर कार्कीले वन्यजन्तु राष्ट्रकै गहना भएकाले यिनको संरक्षणमा गम्भीरताका साथ लाग्नुपर्ने बताए । ‘दिनहुँ वन्यजन्तु मारिएका छन् । गाउँघरमा खुलेआम मासु बिक्री भइरहेको छ,’ उनले भने, ‘वन कार्यालय सिकारीविरुद्ध कडा रूपमा प्रस्तुत हुन सकेन भने यो क्रमलाई नियन्त्रण गर्न सकिँदैन ।’

केही समयअघि चन्द्रनिगाहपुरमा चोरी सिकार नियन्त्रणसम्बन्धी गोष्ठी आयोजना गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा सिकारीविरुद्ध कडा रूपमा प्रस्तुत हुन सुझाव दिइएको थियो । तर ती सुझाव कार्यान्वयन नभएपछि सिकारी हाबी भएको एक सुरक्षा अधिकृतले सुनाए । ‘सबैभन्दा पहिले सिकारीको पहिचान गर्न जरुरी छ । त्यसपछि उनीहरूको निगरानी बढाउनुपर्छ,’ उनले भने, ‘राज्यले चाह्यो भने नियन्त्रण गर्न सम्भव छ । त्यसका लागि गाउँघरका अवैध हतियार नियन्त्रणमा लिन जरुरी छ ।’

एक महिनाअघि चोचा र बलरीखोर राष्ट्रिय वन क्षेत्रबाट सिकारीको ३ थान बन्दुक बरामद गरिएको थियो । गस्ती टोलीलाई देखेपछि सिकारी बन्दुक छाडेर भागेका थिए । गएको वैशाख २ मा पनि यही क्षेत्रमा ३ थान बन्दुक बरामद भएको थियो । वनमा डढेलो लागेको समय र हिउँदयाममा सिकारी बढी सक्रिय हुने गरेको वन कर्मचारीहरू बताउँछन् । जिल्लाको चोचा, चन्द्रपुर, गैडाटार, रंगपुर, बलरी क्षेत्रमा वन्यजन्तु मार्ने क्रम कायम रहेको स्थानीय बताउँछन् ।

‘धेरैका घरघरमै अवैध हतियार भेटिन्छन् । यस्ता हतियार सिकार गर्नमा प्रयोग हुने गरेका छन्,’ बलरीका एक स्थानीयले भने, ‘जंगलबाट सिकार गरी मारेको वन्यजन्तुको मासु लुकाएर गाउँघरमा बिक्री हुने गर्छ ।’

प्रकाशित : माघ १५, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?