कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

परीक्षण नै गराउँदैनन् बिरामी

ज्वरो र खोकीसहित कोरोनाको लक्षण भएका बिरामी घरघरै
सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिबास–३ का ललित बुढाथोकीले कोरोनाको जस्तै लक्षण देखिएपछि चार दिनसम्म घरमै आराम गरे । उनको परिवारमा सबैलाई ज्वरो आयो । कोरोना संक्रमणकै जस्तो लक्षण देखियो । तर उनी कोरोना हो कि हैन भन्ने परीक्षण गर्न अस्पताल गएनन् । घरमै सबै सावधानी अपनाएर ठीक भएको उनले बताए । 

परीक्षण नै गराउँदैनन् बिरामी

बुढाथोकीको जस्तै अहिले धेरै परिवार कोरोना संक्रमणजस्तै लक्षणसहित बिरामी परेका छन् । गाउँमा ज्वरो र खोकीसहित कोरोनाको लक्षण भएका बिरामी धेरै भएका तर डराउने र सतर्कता अपनाउने व्यक्तिहरू भने कमै भएको बुढाथोकीले बताए । ‘पहिलेजस्तो अहिले मानिसहरू कोरोनाबाट डराएकै छैनन्,’ उनले भने, ‘गाह्रै भएका बिरामी पनि अस्पताल गएका छैनन्, गाउँघरमै हिँडिरहेका छन् ।’

जिल्लाका स्वास्थ्य संस्थामा आउने ५० प्रतिशत बिरामी अहिले ज्वरोकै हुने गरेको स्वास्थ्य संस्थाले जनाएका छन् । बर्दिबास अस्पतालमा बिरामीको खासै चाप नभए पनि आएका बिरामीमा आधामा कोरोनाको मिल्दोजुल्दो लक्षण भएको अस्पतालका स्वास्थ्यकर्मी जीवनाथ पोखरेलले बताए । स्वास्थ्य कार्यालय महोत्तरीले पनि संक्रमित व्यक्तिहरू स्वास्थ्यकर्मीको सम्पर्क बाहिर गएर स्वास्थ्य मापदण्ड विपरीतका कार्य गरेको जनाएको छ । पहिलेजस्तो संक्रमितलाई राख्ने आइसोलेसन वार्ड अहिले जिल्लामा कतै पनि छैन ।

जिल्लाको मुख्य सीमानाकामै कडाइ नहुँदा भारतबाट महोत्तरी आउनेजानेको संख्या पनि बाक्लै छ । जिल्लाको प्रमुख भिट्टामोड नाकाबाट अहिले पनि दैनिक ५ सयभन्दा बढी मानिसहरू वारपार गर्छन् । भिट्टामोड नाकामा हेल्थडेक्स राखिएको भए पनि जिल्लाको अन्य ११ वटा सीमानाकामा आवतजावतमा कडाइ र हेल्थडेक्स छैन । हेल्थडेक्कमा परीक्षण गर्दा एन्टिजेन पोजिटिभ देखिएका व्यक्ति पनि स्वास्थ्यकर्मीलाई झुक्याउँदै स्वास्थ्य मापदण्डअनुरूप होम आइसोलेसनमा बसेका छैनन् । महोत्तरीका कोभिड फोकल पर्सन गिरेन्द्र झाले संक्रमित धेरै व्यक्ति घर गएपछि सम्पर्कमै नआउने गरेको र मापदण्डविपरीत कार्य गरेकाले कोभिड नियन्त्रणमा चुनौती थपिँदै गएको बताए ।

स्वास्थ्य कार्यालयले जिल्लाका १५ वटै पालिकामा एन्टिजेन किट उपलब्ध गराएको छ । अहिले मुस्किलले ५ वटा पालिकामा पनि किट प्रयोगमा नआएको झाले बताए । कोभिडको तेस्रो लहरलाई नियन्त्रण र रोकथाम गर्न स्थानीय पालिका र स्वास्थ्य शाखाहरू सक्रिय नभएको उनले बताए । जलेश्वर नगरपालिका र बर्दिबास नगरपालिकामा किट बढी प्रयोगमा आएको छ । तर पोजिटिभ देखिएका व्यक्ति सुरक्षित बसेका छन् कि छैनन् भन्ने विषयमा भने पालिकाको स्वास्थ्य शाखाले पनि बेवास्ता गरेको छ ।

बर्दिबास अस्पतालमा अहिले दैनिक ३० जनाभन्दा बढी व्यक्तिले एन्टिजेन जाँच गराउने गरेकोमा ५० प्रतिशत व्यक्तिमा रिपोर्ट पोजिटिभ देखिने गरेको बर्दिबास नगरपालिकाका कोभिड फोकल पर्सन रामबाबु यादवले बताए ।

महोत्तरीमा कोभिडको तेस्रो लहरमा ओमिक्रोन भन्ने पुष्टि र पहिचान नभए पनि २ सयभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ । गत बिहीबार औरही नगरपालिका ५ श्रीपुरका २६ वर्षका युवाको मृत्यु भएको हो । महोत्तरीमा कोभिडबाट अहिलेसम्म ९२ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : माघ १५, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?