१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पर्सामा ओरालो लाग्दै कोरोना संक्रमण

शंकर आचार्य

पर्सा — नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार ३५ जनाको स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यसअघि बुधबार ४१ जनाको स्वाब परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

पर्सामा ओरालो लाग्दै कोरोना संक्रमण

त्यसभन्दा पहिले मंगलबार ५६ जनाको स्वाब परीक्षण गर्दा २७ जनामा र सोमबार ४२ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तुलनात्मक रुपमा सोमबार र मंगलबारभन्दा बुधबार र बिहीबारको प्रयोशालाको नतिजाले जिल्लामा कोरोना संक्रमण ओरोला लागेको संकेत गरेको छ ।

सोमबार र मंगलबारसम्म ५० प्रतिशत हाराहारी रहेको संक्रमण दर बुधबार र बिहीबारको नतिजाले ५० प्रतिशतभन्दा तल झरेको देखिन्छ । अस्पतालमा स्वाब परीक्षण गराउन आउनेहरूको संख्या पनि घट्दो क्रममा छ ।

अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंह पनि पछिल्लो नतिजाले जिल्लामा कोरोना संक्रमण दर दैनिक घट्दो क्रममा रहेको देखिएको बताउँछन् । ‘हाम्रो अनुमान पनि यही थियो,’ उनले भने, ‘माघ १ गतेतिर उच्च बिन्दुमा पुगेको कोरोना संक्रमण माघको दोश्रो साताको अन्त्यतिर ओरालो लाग्दै जान्छ भन्ने हाम्रो अनुमान थियो ।’

संक्रमण घट्दै गएकाले पीसीआर परीक्षण गराउन आउनेहरूको संख्या पनि घटदैगएको उनको बुझाइ छ । ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरू अस्पतालमा स्वाब परीक्षण गराउन आउने हुन्,’ उनले भने, ‘संक्रमण घट्दै गएपछि परीक्षण गराउन आउनेहरू पनि घट्दै जानु स्वाभाविक नै हो ।’

संक्रमण दर घट्दो क्रममा रहे पनि गम्भीर संक्रमित भने थपिने क्रम बढेको डा सिंह बताउँछन् । ‘केही दिन यता संक्रमण दर घटेको छ तर गम्भीर संक्रमित बढेका छन्,’ उनले भने, ‘नारायणी अस्पतालमै हाल १२ कोरोना संक्रमित उपचाररत छन्, तीमध्ये ३ जनालाई अक्सिजन दिएर राखिएको छ भने १ जना भेन्टिलेटरमा छन् ।’ साताअघि सम्म कोरोना तेश्रो लहरमा गम्भीर संक्रमित कम थिए ।

जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या तीन सयमाथि पुगेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवका अनुसार, बिहीबार सम्ममा जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४५ पुगेको छ ।

सीमावर्ती जिल्ला र नेपालकै प्रमुख नाका रहेकाले पनि कोरोनाको तीन वटै लहरमा पर्सामा सबैभन्दा पहिले र बढी संक्रमण दर देखिने गरेको छ । पहिलो र दोश्रो लहरको तुलनामा तेश्रो लहरमा कोरोना संक्रमितको मृत्यु दर भने कम छ । कोरोना तेश्रो लहरमा हालसम्म नारायणी र वीरगन्जकै अन्य अस्पतालमा गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरू सबै छिमेकी बारा जिल्लावासी हुन् । उनीहरू सबैले कोरोना विरुद्धको खोप लगाएका थिएनन् ।

प्रकाशित : माघ १४, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?