विद्यालयको ३८ लाख ‘हिनामिना’

लेखापरीक्षणमा बक्यौता देखिएपछि १० वर्षदेखि रकम तिर्न ताकेता तर प्रधानाध्यापक, शिक्षक र लेखापालद्वारा आलटाल
कागजात मगाएर छानबिन गर्दै अख्तियार
शिव पुरी

रौतहट — जिल्लाको दुर्गाभगवती गाउँपालिकास्थित सरस्वती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र लेखापालले विभिन्न शीर्षकको करिब ३८ लाख रुपैयाँ १० वर्षदेखि बक्यौता राखेको खुलेको छ । उनीहरूविरुद्ध जिल्ला प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विद्यालयले रकम बुझाउन पटक–पटक ताकेता गरे पनि उनीहरूले अहिलेसम्म बुझाएका छैनन् ।

विभिन्न शीर्षकमा विद्यालयलाई प्राप्त रकम तत्कालीन पदाधिकारीले हिनामिना गरेको र लेखा परीक्षणमा समेत बेरुजु ठहर भई असुलउपर गर्न औंल्याइए पनि सम्बद्ध पदाधिकारीले नबुझाएपछि कारबाहीको मागसहित अख्तियारको हेटौंडा कार्यालयमा उजुरी परेको थियो । त्यसपछि कार्यालयले छानबिन गरेको हो । यसअघि २०७५ माघमा प्रधानाध्यापक तेजनारायण साहले उक्त बक्यौता रकम असुलउपर गराइदिन भन्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए । निवेदनमा खेलकुद सामग्री र शिक्षण अभ्यास, कम्पाउन्ड वाल, छात्रवास र महिला शौचालय, छात्रवृत्ति अनुदान र भ्रमण शीर्षकमा आएको रकम हिनामिना भएको दाबी गरिएको छ ।

निवदेनमा आर्थिक वर्ष २०६८/०६९ देखि २०७४/०७५ सम्मको लेखा परीक्षणअनुसार विद्यालयका तत्कालीन लेखापाल तथा शिक्षक उमेश्वरप्रसाद सिंहमाथि १३ लाख ९८ हजार, प्रधानाध्यापक नवीनकुमार पाण्डेमाथि १० लाख ५३ हजार ४ सय ५५, लेखापाल तथा शिक्षक कामेश्वरप्रसाद महतोमाथि ७ लाख ८४ हजार २ सय ४२, प्रधानाध्यापक रवीन्द्र झामाथि ५ लाख ७ सय ६८ र खरिदार संगीता झामाथि ११ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख छ । लेखापाल महतो अहिले पनि विद्यालयमै कार्यरत छन् ।

अन्य सेवानिवृत्त भइसकेका छन् । महतोले भने कसैको नाममा पनि बक्यौता नरहेको दाबी गरे । तत्कालीन प्रधानाध्यापक झाले कम्पाउन्ड वाल लगाउँदा खर्चको इस्टिमेटमा त्रुटि भएकाले आफ्नो नाममा पैसा बक्यौता देखिएको बताए । ‘मैले विद्यालयको एक रुपैयाँ पनि हिनामिना गरेको छैन । लेखा परीक्षण गर्दा त्रुटि भएको हो,’ उनले भने, ‘रकम हिनामिना र बाँकी बक्यौता भनेर मलाई मानसिक तनाव दिने मात्र काम भइरहेको छ ।’

विद्यालयका निमित्त प्रधानाध्यापक यदुनी दासले अहिलेसम्म कसैले पनि रकम जम्मा नगराएको बताए । ‘अहिलेसम्म विद्यालयको खातामा रकम जम्मा भएको छैन,’ उनले भने, ‘सम्बन्धित गाउँपालिका र अख्तियारलाई पत्र पठाइसकेका छौं ।’ उनले आफ्नो पालामा रकम हिनामिना नभएको दाबी गरे । ‘तत्कालीन प्रअ साहको पालामा उक्त रकम हिनामिना भएकाले धेरै कुरा मलाई जानकारीमा छैन । तर यत्ति कुरा थाहा छ कि असुलउपर गर्नुपर्ने भन्ने छ,’ उनले थपे । उनले लेखा परीक्षणसहित आवश्यक कागजात पालिकामार्फत अख्तियारमा पठाएको बताए । बक्यौता रकम नबुझाएकै कारण तत्कालीन लेखापाल सिंहको अहिलेसम्म पेन्सनपट्टासमेत बन्न सकेको छैन ।

विद्यालयले पेन्सनपट्टाका लागि सिफारिस नदिएको भन्दै उनले प्रशासनमा निवेदनसमेत दिएका थिए । तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यसबारे विद्यालयका पदाधिकारी र सिंहलाई राखेर पटक–पटक छलफलसमेत गराएका थिए । ‘पालिकाले पनि असुलीमा त्यति चासो नदेखाएको र तिनुपर्ने पक्षले समेत बेवास्ता गरेपछि त्यत्तिकै सेलाएको हो,’ प्रजिअ यादवले भने, ‘अहिले अख्तियारले छानबिन गरिरहेको छ । केही न केही उपलब्धि हुन्छ होला ।’ उनका अनुसार त्यतिबेला प्रशासनले विद्यालयको बक्यौता रकम तत्काल बुझाई पेन्सनपट्टाको सिफारिस दिन भनेको थियो । तर सिंहले अहिलेसम्म रकम बुझाएका छैनन् ।

अख्तियारले बक्यौता नबुझाएकोबारे आवश्यक कारबाही गर्न दुर्गा गाउँपालिका कार्यालयलाई पत्राचार गरेको छ । गत कात्तिक १४ मा पठाइएको पत्रमा सरस्वती उच्च माविका शिक्षक र लेखापालको मिलेमतोमा विभिन्न शीर्षकमा ३८ लाख रुपैयाँ हिनामिना भएको र उक्त रकम लेखा परीक्षणका क्रममा बेरुजु देखिएपछि असुलउपर गर्न भनिए पनि हालसम्म असुल नभएकाले आवश्यक कारबाही गर्न भनिएको छ ।

अध्यक्ष साहले उक्त विषयको यथार्थ विवरण विद्यालयबाट मागेर प्रतिवेदन अख्तियारको हेटौंडा कार्यालयमा पठाइसकेको जनाए । ‘बक्यौता नबुझाउनेलाई ताकेता गर्न विद्यालय प्रशासनलाई भनेको छु,’ उनले थपे ।

प्रकाशित : माघ १४, २०७८ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?