दुर्घटनामा दाजुभाइको मृत्यु 

लक्ष्मी साह

बारा — कलैया-वीरगन्ज सडक खण्डको सिसहनियास्थित विजय आयलस्टोर छेउमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ । 

प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार कलैया-५ का ५५ वर्षीय शीतल साह तेली र ४० वर्षीय नरेश साह तेलीको मृत्यु भएको हो । दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो ।

त्यहाँबाट थप उपचारको लागि वीरगन्ज मेडिकल अस्पताल लगिएको थियो । उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दाजुभाइ हुन् । दुवै जना सिसहनियास्थित आफ्नो राइसमिलबाट कलैयामा रहेको घरतिर फर्किँदै थिए ।

सिसहनियाबाट कलैया तर्फ आउँदै गरेको दाजुभाइ चढेको ना८प ८८६३ नम्बरको मोटरसाइकललाई कलैयाबाट सिसहनियातर्फ जाँदै गरेको भारतीय बीआर ०५ एआर ५१५१ नम्बरको जिपले ठक्कर दिएको थियो । जिप चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १३, २०७८ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?