२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

जोखिम क्षेत्रमै खोला दोहन

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दी नगरपालिकास्थित लखन्देही खोलामा यस वर्ष पनि मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । गत वर्षको उत्खननले वर्षाका बेला लखन्देही खोलामा आएको बाढीले वन क्षेत्र कटान गर्दै नवलपुरको बस्ती नै जोखिममा पारे पनि जनप्रतिनिधिको ध्यान पुग्न सकेको छैन । लगातारको अवैध उत्खननमा नियमन गर्ने निकाय पनि मौन छ ।

जोखिम क्षेत्रमै खोला दोहन

लखन्देहीमा गत वर्ष असारमा आएको बाढीले लालबन्दी–१ नवलपुरस्थित नन्देश्वर सामुदायिक वनको झन्डै २.५ हेक्टर क्षेत्र कटान गरेको थियो । वनमा लगाइएको झन्डै १० हजार बिरुवा पनि बगाएर लगेको थियो । नवलपुर बस्ती नै बाढीको उच्च जोखिममा परेको थियो । जनप्रतिनिधिको मिलेमतोमा लखन्देहीमा अवैध उत्खननले सिंगो नवलपुर बस्ती यस पटक पनि जोखिममा परेको स्थानीय रोशन न्यौपानेले आरोप लगाए ।

सामुदायिक वनका अध्यक्ष उदयबहादुर कार्कीले खोलामा अवैध उत्खननको मार सामुदायिक वनसहित नागरिकले खेप्नुपरेको गुनासो पोखे । ‘खोलामा अवैध उत्खननको मार गत वर्ष सामुदायिक वनले खेप्नुपर्‍यो, त्यतिमात्र हैन वनले नवलपुर बस्ती त्यतिबेला जोगाइदियो,’ न्यौपानेले भने, ‘जनप्रतिनिधि जिम्मेवार नबन्दा नागरिकले क्षति व्यहोर्नुपर्ने अवस्था आइलागेको छ ।’

खोला उत्खननमा स्थानीय तहको निगरानी हुन नसक्दा ठेकेदारको मनपरी बढिरहेको छ । सामान्यतया ५ फिटसम्म उत्खननका लागि ठेक्का पाएको ठेकेदारले गत वर्ष १० देखि १५ फिटसम्म गहिरो खाडल खनेर मापदण्डविपरीत नदीजन्य पदार्थ निकालेका थिए । यस वर्ष २० देखि २५ फिटसम्म गहिरो खाडल खनिरहेका छन् ।

लखन्देही खोलाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख भएअनुसार लालबन्दी–११ स्थित खोलाको बाहुने नाका, हीरापुर नाका र हीरापुर कोइरीटोल नाकाबाट १.५ मिटर अर्थात् ५ फिट गहिराइमा ६ लाख ४१ हजार ३ सय ५४ घनमिटर गिट्टी/बालुवा निकाल्न मिल्ने गरी गएको असोज २२ गते २५ लाख रुपैयाँमा जलकेश्वर कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो । तर त्यो सम्झौताको पाँच गुणा बढी परिमाणमा ठेकेदारले गिट्टी/बालुवा निकालिरहेका छन् ।

गत असोजमा नदीजन्य पदार्थ उत्खननको ठेक्का लागेको लखन्देहीमा अहिलेसम्म कति परिमाणमा गिट्टी तथा बालुवा उत्खनन भयो भन्ने तथ्यांक नगरसँग छैन । ठेक्का सम्झौतापश्चात् नगरबाट कुनै पनि प्राविधिक खोलामा जान सकेका छैनन् । नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाले उत्खनन परिमाणबारे आफूलाई जानकारी नभएको बताए । लालबन्दीका इन्जिनियर रोशन पण्डितले खोला अनुगमनका लागि एक टोली गठन भएको र त्यो टोलीले बिहीबार अनुगमन गरेर शुक्रबारसम्म यथार्थ सार्वजनिक गरिने जानकारी दिए ।

‘खोला अनुगमनका लागि टोली बनाइएको छ, त्यो टोलीले भोलि अनुगमन गरेर पर्सि यथार्थ सार्वजनिक गर्छ,’ उनले भने, ‘त्यसपछि हामीले कति परिमाणमा नदीजन्य पदार्थ निकालेको भन्ने थाहा हुन्छ ।’ लालबन्दीका नगर प्रमुख मानबहादुर खड्काले मापदण्डविपरीत ठेकेदारले नदीजन्य पदार्थ निकालेको फेला परे कारबाही गरिने जानकारी दिए । उनले अनुगमन टोलीले रिपोर्ट बुझाएको आधारमा पालिकाले निर्णय गर्ने बताए ।

नगर प्रमुखले खड्काले स्थानीयले लगाएको आरोप जस्तो आफूहरूको कुनै संलग्नता नरहेको दाबी गरे । ‘अनुगमन टोलीले बुझाएको रिपोर्टअनुसार हामी एक्सनमा जान्छौं,’ उनले भने, ‘स्थानीयले लगाएको आरोप जस्तो हाम्रो संलग्नता छैन ।’

प्रकाशित : माघ १३, २०७८ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?