३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महिलालाई समान ज्याला

भरत जर्घा मगर

सिरहा — सिरहा कल्याणपुर नगरपालिका–३ का महिलाले संगठित भएर आवाज उठाएपछि पुरुषसरह ज्याला पाउन थालेका छन् । सँगै काम गरेका पुरुषले ५ सय पाउने तर महिलाले भने ३ सय रुपैयाँमै चित्त बुझाउनुपर्थ्यो । समान ज्याला दिनुपर्ने मागसहित ‘काम बन्द’ आन्दोलन गरेपछि आफूहरूको माग पूरा भएको उनीहरूले बताए ।

महिलालाई समान ज्याला

मुक्ति नेपाल गोलबजारले कल्याणपुर–३ पर्साहीका दलित महिलाहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि ‘नागरिक सक्रियता’ परियोजनाअन्तर्गत महिलाहरूलाई संगठित गर्न सामुदायिक संवाद केन्द्र गठन गरेको थियो । केन्द्रमार्फत जनचेतनाका विषयमा छलफल चलाएपछि ज्यालाको विषयमा कुरा उठेको केन्द्रका अध्यक्ष पानो देवी सदा बताउँछिन् ।

‘केन्द्रमा महिला हिंसा, अपांगता भएकाहरूको समस्या, नागरिकता समस्या, विभिन्न सरकारी निकायले प्रवाह गर्ने सेवा सुविधा र त्यसमा पहुँच, शिक्षा, स्वास्थ्यमा पहुँचको विषयमा छलफल चल्यो,’ उनले भनिन् ‘छलफल चलिरहेकै बेला एक दिन ज्यालाको विषयमा पनि कुरा उठ्यो, ज्यालामा विभेद भएको जानकारी पायौं, त्यसपछि हामी महिला संघर्षमा उत्रियौं ।’

संघर्ष घोषणा गरे पनि आन्दोलन लम्बिए कसरी छाक टार्ने भन्ने पिरलो उनीहरूलाई थियो । ‘त्यही दिनदेखि हामीले २० महिला एकताबद्ध भई मुठी संकलन गरी आन्दोलन तयारी कोष खडा गर्‍यौं,’ आशा सदाले भनिन्, ‘त्यसपछि मात्र ज्याला वृद्धिको मागसहित संघर्षमा उत्रियौं ।’ महिलाले ज्याला वृद्धि नगरेसम्म काममा नजाने जनाएपछि ज्याला वृद्धि गर्न गिरहत (साहु) तयार भए । आशाका अनुसार अहिले घर निर्माण, माटो बोक्ने, लिपपोत गर्ने र खेतीपातीका काममा पुरुषसरह ज्याला पाउने गरेका छन् ।

कामको चटारो हुने बेला धान रोप्ने समय छानेर गत असारमा एक सातासम्म महिलाहरूले काम बन्द संघर्ष चलाएका थिए । ‘किसानहरूलाई पनि खेतमा काम गर्न जान दिएनौं र छिमेकका गाउँहरूमा पनि हाम्रो योजनाबारे सुनाएर काममा आउन दिएनौं । एक साताकै अवधिमा गिरहत ज्याला समान गर्न सहमत भए,’ आशाले भनिन्, ‘अब बराबर ज्याला पाउँछौं ।’ ज्याला वृद्धि संघर्षको प्रभाव छिमेकी गाउँहरूमा समेत पर्‍यो । त्यही प्रभावले वरपरका वडा तथा गाउँहरूमा पनि ज्याला वृद्धि भएको छ ।

महिला संगठित हुन थालेपछि सुरुमा पीपलको रूखमुनि बैठक गर्ने गरेका दिनाभद्री डिहीबार संवाद केन्द्रका महिलाहरू अहिले आफ्नै भवनमा बैठक गर्छन् । उनीहरूले नगरपालिकासँग बजेट माग गरी बैठक, छलफल र बिहेबटुलमा आउने पाहुना राख्ने घर बनाएका छन् । नगरपालिकाको आर्थिक सहयोग र संवाद केन्द्रको सक्रियतामा भवन निर्माण भएको संवाद केन्द्रकी सदस्य जहरी सदाय बताउँछिन् । यसमा उनीहरूलाई गाउँका पुरुषहरूले पनि साथ दिएका छन् ।

केन्द्रमा उनीहरूले शिक्षा र स्वास्थ्यका विषयमा पनि सुधार ल्याउने प्रयास गरेका छन् । आफ्नै छोराछोरी पढ्ने विद्यालय कहिल्यै नजाने यहाँका अभिभावकहरू बेलाबेला विद्यालय पुग्न थालेका छन् । संवाद केन्द्रमा आबद्ध महिलाहरूले नियमित एक रुपैयाँ बचत गर्छन् ।

संवाद केन्द्रले विभिन्न समस्याका कारण जन्मदर्ता गराउन नसकेका बालबालिकाको जन्मदर्ता, नागरिकता बन्न नसकेकाहरूलाई वडा कार्यालयसम्म पुगेर नागरिकता बनाउन सहयोग पुर्‍याउँदै आएको बताउँछन् मुक्ति नेपालका कार्यक्रम निर्देशक अशोककुमार कामती । उनका अनुसार केन्द्रमा आबद्ध भएपछि महिलाहरू सबैसँग सहजै आफ्ना कुरा राख्न सक्ने भएका छन् ।

प्रकाशित : माघ ११, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?