कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सामा ३ सय नाघे सक्रिय कोरोना संक्रमित

शंकर आचार्य

काठमाडौँ — कोरोनाको तेस्रो लहरमा पर्सामा सक्रिय संक्रमितको संख्या ३ सय नाघेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार सोमबार दिउसो २ बजेसम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ८ रहेको छ ।

पर्सामा ३ सय नाघे सक्रिय कोरोना संक्रमित

कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार सक्रिय संक्रमितको संख्या दैनिक थपिँदैछ । नारायणी अस्पतालको प्रयोगशाला र नेपाल-भारत सीमामा रहेको हेल्थ डेस्कमा दैनिक भइरहेको पीसीआर र एन्टिजेन परीक्षणबाट संक्रमित थपिँदैछन् ।

सक्रिय संक्रमितमध्ये ६ जनामात्र अस्पताल भर्ना भएको श्रीवास्तवले बताए । भर्ना रहेका संक्रमितहरू सबै नारायणी अस्पतालमा उपचाररत रहेको उनले बताए । त्यस बाहेक ३ सय २ सक्रिय संक्रमित होम आइसोलेसनमै रहेको पनि उनले बताए ।

जिल्लामा आइतबार एकै दिन ४३ संक्रमित थपिएका छन् । नारायणी अस्पतालमा आइतबार गरिएको प्रयोगशाला परीक्षणबाट ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहका अनुसार आइतबार ७६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१५ देखि ८० वर्ष उमेर समूहका संक्रमितमध्ये २४ पुरुष र १९ महिला छन् । कुल संक्रमित पुष्टि भएका मध्ये २७ जना पर्साका स्थायी बासिन्दा हुन् । १२ जना बाराका तथा १/१ जना रौतहट, महोत्तरी, चितवन र काठमाडौं घर भई अस्थायी रुपले पर्सामा बस्दै आएकाहरू हुन् ।

उता नेपाल-भारत सीमास्थित हेल्थ डेस्कमा आइतबार एकै दिन ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डेस्ककी प्रमुख डा अनिशा महतोका अनुसार आइतबार कुल ३ सय ८५ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये १३ जना भारतीय नागरिक थिए ।

सोमबार दिउँसो २ बजेसम्म १ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : माघ १०, २०७८ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?