कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सम्पत्ति करमा ५० प्रतिशत छुट माग

पर्सा — वीरगन्जका होटल तथा पर्यटन व्यवसायीले होटलको सम्पत्ति करमा ५० प्रतिशत छुटको माग गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले आइतबार वीरगन्ज महानगरका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

सम्पत्ति करमा ५० प्रतिशत छुट माग

संघका अध्यक्ष हरि पन्त नेतृत्वको व्यवसायीको टोलीले सरावगीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा कोभिड–१९ को महामारीबाट सबैभन्दा बढी होटल तथा पर्यटन व्यवसाय प्रभावित भएको जनाइएको छ । संघ सरकारले समेत होटल तथा पर्यटन व्यवसायलाई अति प्रभावित व्यवसायमा वर्गीकरण गरी केन्द्रीय बजेट एवं मौद्रिक नीति तथा कार्यक्रममार्फत विभिन्न किसिमका बैंकिङ सुविधाहरू उपलब्ध गराइएको ज्ञापनपत्रमा स्मरण गराइएको छ ।

व्यवसायीहरूले स्थानीय सरकारबाट पनि आवश्यक सुविधा प्राप्त गर्न महानगरको नगर परिषद् बैठकअघि नै प्रमुख सरावगीको ध्यानाकर्षण गराएको जनाएका छन् । महानगरको नीति तथा कार्यक्रममा व्यवसायीका समस्याहरू समेट्नुपर्ने उनीहरूको माग छ । यस्तै, महानगरले आफ्नो राजस्व नीतिमा आफूहरूको समस्यालाई समेटे पनि पछि उक्त बुँदाबाट होटल तथा पर्यटन शब्द छुट्न गएकाले समस्यामा परेको व्यवसायीको भनाइ छ । अन्य कोभिड प्रभावित क्षेत्रले पाएको सुविधा होटल तथा पर्यटन क्षेत्रलाई पनि उपलब्ध गराइदिन ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख सरावगीले होटल तथा पर्यटन व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको र सक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता जनाए । ‘आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को सम्पत्ति करमा ५० प्रतिशत छुट गराउन मेरो हरसम्भव प्रयास हुने छ,’ उनले भने, ‘तर यो कर आउँदो चैत मसान्तभित्र व्यवसायीले बुझाइसक्नुपर्छ र यस अवधिको जरिवानासमेत नलिने गरी व्यवस्था मिलाउन प्रयास गर्नेछु ।’

प्रकाशित : माघ १०, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?