२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पुल निर्माणको आश्वासन मात्र

ठेकेदारको लापरबाहीले ग्रामीण बस्ती जोड्ने दर्जन पुल अलपत्र
शिव पुरी

रौतहट — निर्माणाधीन अवस्थामै अलपत्र छोडिएको गौर नगरपालिका–४ स्थित टिकुलिया घाटको पुल हेर्न बिहीबार संघीय सरकारकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव पुगिन् ।

पुल निर्माणको आश्वासन मात्र

२०७१ सालबाट निर्माण थालेको पप्पु कन्स्ट्रक्सनले बीचमै छाडेपछि पुल अलपत्र छ । मन्त्री यादवले चाँडै काम थाल्न ठेकेदारलाई दबाब दिने र त्यसो नगरे कारबाही गर्ने आश्वासन दिएर हिँडिन् ।

यसरी पुल हेरेर गाउँलेलाई आश्वस्त पार्ने उनी एक मात्र मन्त्री होइनन् । सरकारका आधा दर्जन मन्त्री यहाँ आएर पुल हेरेपछि आश्वासन दिएर गइसकेका छन् । पुलसित सम्बन्धित मन्त्री आएपछि स्थानीयले ठेकेदारको लापरबाहीले मर्कामा परेको पीडा सुनाए । गाउँलेको भनाइ थियो, ‘वर्षामा डुंगाकै भर पर्नुपर्छ । जोखिम मोलेर खोला वारपार गर्नुपर्छ । ठेकेदारले कामै नगरी हिँड्यो । अव कसरी चाँडो बन्छ पहल गर्नुपर्‍यो ।’ मन्त्री यादवले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसादलाई ठेकेदारसित छलफल गरेर तत्कालै निर्माण थाल्न र अटेर गरे कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइन् ।

मन्त्री यादवले रौतहट र सर्लाहीलाई जोड्ने वाग्मती नदीको बडहर्वा घाटको पुल, सरुअठास्थित झाझ नदीको पुल, पचरुखी छतौनामा निर्माणाधीन पुलसहित जिल्लाका साना–ठूला गरी विभिन्न नदीमा लामो समयदेखि अलपत्र परेका पुलको स्थलगत अनुगमन गरेकी थिइन् । यी पुल निर्माण सुरु भएयता देशमा ४ प्रधानमन्त्री फेरिए । एक दर्जनभन्दा बढी भौतिक पूर्वाधारमन्त्री भए । उनीहरू पुल हेर्दै फर्किने गरेको स्थानीयको आरोप छ । केही दिनअघि संसद्को विकास समिति सभापति कल्याणी खड्कासमेत टिकुलिया पुगेर चाँडै काम सुरु गर्न पहल थाल्ने भनेर गाउँलेलाई आश्वासन दिएर फर्किइन् ।

२०७५ भदौ ९ गते साँझ खेतमा काम गरेर फर्केकाहरू सबार डुंगा त्यही पुलको पिलरमा ठोक्किएर पल्टिँदा ५ जनाको ज्यान गएको थियो । डुंगामा सबार २४ जनाले पौडिएर ज्यान जोगाए । घटनालगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पुल हेर्न टिकुलिया पुगे । ठेकेदारको लापरबाहीले घटना भएको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति र अलपत्र पुल निर्माणको काम चाँडै सक्न पहल थाल्ने आश्वासन दिएर हिँडे । त्यसअघि तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ पनि पुल हेर्न टिकुलिया पुगेका थिए । पुलको अवस्था हेरेपछि उनले ठेकेदारलाई कडाइ गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिए । उनले पनि गाउँलेलाई पुल निर्माणको काम थाल्न पहल गर्छु भनेर हिँडेको वडाअध्यक्ष भुवनेश्वर शाहीले बताए । ‘सरकारका मन्त्री र सासंदलगायत अलपत्र पुल हेर्ने अनि चाँडै निर्माणको काम थाल्न पहल गर्छु भनेर हिँड्ने गरेका छन्,’ उनले भने, ‘अव त पुल हेर्न आउने मन्त्रीहरू देखेर पनि दिक्क लाग्न थाल्यो । पुल हेर्ने आश्वासन दिने मात्र काम भयो ।’

गतवर्ष तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ पनि पुल हेरेर फर्किएका थिए । उनको आश्सावन पनि पहिले आउने जानेभन्दा कम थिएन् । मन्त्री नेम्वाङले पनि पुल निर्माणमा किन ढिला भएको हो भन्ने यथार्थ बुझ्ने र काम अघि बढाउन पहल थाल्ने भनेर हिँडेको सडक डिभिजनका कर्मचारी सुनाउँछन् । डिभिजन प्रमुख दरोगाप्रसाद पनि ७ वर्षमा पुल निर्माण आधा पनि नभएको बताए । ‘ठेकेदारलाई बोलाएर छलफल गर्न र चाँडै काम थाल्न पहल गर्नुस् भनेर अहिलेका मन्त्रीज्यूको निर्देशन छ,’ उनले भने, ‘ठेकेदारलाई जतिसुकै दबाब दिए पनि उसले काम गर्न चासो देखाउँदैन् ।’ सडकले पप्पु कन्स्ट्रसनलाई कारबाहीको प्रक्रिया अघि बढाउन लाग्दा अदालतमा मुद्दा परेको छ । त्यसपछि कारबाही ओझेलमा परेको हो ।

ठेकेदार कम्पनीले २०७१ सालमा सम्झौता गर्दा ०७४ माघ २९ मा काम सम्पन्न गर्ने तय भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन ंसडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर ३ वर्षभित्र निर्माण काम पूरा गर्ने पप्पु कन्स्ट्रक्सनले जनाएको थियो । पुलको पश्चिमतिरको दुईवटा गडरको काम भए पनि गुणस्तरहीन भएको सडकको ठहर छ । पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, बैरिया, अकोलवा, रामपुरखापलगायत दर्जनौं गाउँका बासिन्दलाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ ।

ठेकेदारले ठेक्का सकारेर समयमा सम्पन्न नगरेपछि जिल्लाभित्रका झन्डै एक दर्जन पुल अलपत्र छ । सम्झौता सकेर पटकपटक म्याद थपे पनि ठेकेदारले कामै नगरेको सडक डिभिजन कार्यालयले जनायो । सडक डिभिजनका अनुसार राजपुर तुलसिस्थित मृत सञ्जिवनी निर्माण सेवाले ठेक्का सकार गरेको झाझनदी पुल २०७३ जेठ २१ गते सम्पन्न गरिसक्नुपर्ने थियो । २०७१ असार २२ गते सम्झौता भए पनि हालसम्म पुल अधुरै छ । त्यस्तै गौर पिप्रास्थित झाझपुलको निर्माणका लागि नीलगिरि/नेसनल क्यानोन जेभीसँग २०७१ असार २९ गते सम्झौता भएको थियो । २०७३ असार २८ मा पुल बनिसक्नुपर्नेमा हालसम्म अलपत्र छ ।

पथरा बुधरामपुरस्थित भकुवा नदीमा पुल निर्माणको ठेक्का पाएको रोशन कन्स्ट्रक्सन जनकपुरले २०७३ असोज २० गते सम्झौता गरे पनि अहिलेसम्म सम्पन्न गरेको छैन । विश्रामपुर हजरियास्थित चाँदी नदीमा निर्माणाधीन पुल सपना निर्माण सेवाले २०७३ साउन १० गते सम्झौता गरेर अधुरो छाडेको छ । चन्द्रपुर ३ स्थित चाँदी नदीमा पप्पु कन्स्ट्रक्सन र शिवशंकरको जेभीले २५ करोड ३६ लाखमा पुल निर्माणको ठेक्का सकार गरेको थियो । २०७६ असार ३१ गते सम्झौता हुँदा पुल २०७६ असार ३१ मा निर्माण सक्ने भनिएको थियो । अहिलेसम्म अधुरै रहेको सडक डिभिजनले जनाएको छ ।

प्रकाशित : माघ ९, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?