मधेस प्रदेशमा संक्रमण उच्च, सतर्कता छैन- मधेस - कान्तिपुर समाचार

मधेस प्रदेशमा संक्रमण उच्च, सतर्कता छैन

परीक्षण गरिएका आधाजसोमा संक्रमण पुष्टि, स्वास्थ्य मापदण्ड पालनामा नियामककै हेलचेक्य्राइँ
सन्तोष सिंह, शंकर आचार्य

धनुषा, पर्सा — प्रदेशमा कोरोना भाइरसको संक्रमण तीव्र फैलिरहे पनि जनकपुरबाट चल्ने सार्वजनिक यातायातमा यात्रु खचाखच छन् । कमै यात्रुले मात्र मास्क लगाएको देखिन्छ । यहाँका निजी स्वास्थ्य संस्था र क्लिनिकमा पनि भीड बढ्दो छ तर मास्क, भौतिक दूरीको पालनालगायत मापदण्ड पालनामा कसैको ध्यान छैन । दिनहुँ लाग्ने हटिया बजारमा पनि उस्तै दृश्य देखिन्छ ।

सरकारले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरे पनि यहाँका निजी विद्यालयहरू सञ्चालनमै छन् । संक्रमण उकालो लागिरहँदा विभिन्न पार्टीका अधिवेशन, राजनीतिक सभा– सम्मेलन निर्बाध भइरहेका छन् । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरे पनि नियम उल्लंघन गर्नेमा मन्त्री, सांसद तथा स्थानीय प्रशासक नै अघि देखिएका छन् । संघीय मन्त्रीहरू र प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू सभा–सम्मेलन गर्दै अन्य पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउन तँछाडमछाड गरिरहेका छन् । समग्रमा दिनहुँ संक्रमण हुनेको संख्या उच्च भइरहे पनि स्वास्थ्य मापदण्ड पालनामा कसैको ध्यान गएको छैन ।

कोरोनाविरुद्धको खोप लगाउन आएकाहरू स्वास्थ्य कार्यालय धनुषामा स्वास्थ्यकर्मी नभेटिएपछि त्यसै फर्किएका छन् । बुधबार प्रदेशमा सार्वजनिक बिदा दिइए पनि कर्मचारीको व्यवस्थापन नगर्दा सर्वसाधारणले खोप लगाउन नपाएका हुन् । यसअघि खोप लगाउन डराएकाहरू अहिले सरकारी सेवाका लागि खोप कार्ड अनिवार्य गरेपछि र जोखिमसमेत बढेपछि अहिले खोप केन्द्रमा पुग्न थालेका छन्, जसले भीड बढेको छ । तर खोप केन्द्र नियमित सञ्चालन नहुँदा समस्या भएको सेवाग्राहीको गुनासो छ ।

धनुषामा कोरोनाविरुद्धको खोप लगाउन सिरिन्जको समेत अभाव भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । नियमित र बुस्टर डोज लगाउन पनि सिरिन्ज अभाव भएको उनले बताए । ‘धनुषामा बिहीबारदेखि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतलाई बुस्टर डोज दिइँदै छ,’ प्रजिअ पौडेलले भने, ‘तर सिरिन्ज पर्याप्त छैन । केही दिनभित्रै सिरिन्ज व्यवस्थापन भए सबैलाई बुस्टर डोज लगाइनेछ ।’ उनका अनुसार पहिलो र दोस्रो चरणको अभियानमा खोप लगाउन छुटेका सर्वसाधारणका लागि स्थानीय तह र स्वास्थ्य कार्यालयमा खोप केन्द्र राखिएको छ ।

सरकारी सेवाप्रवाहमा खोप कार्ड अनिवार्य गरेपछि जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायत कार्यालयमा समेत खोप केन्द्र राख्ने तयारी गरिएको छ । ‘खोप कार्ड देखाउनुपर्ने वा खोप लगाएर मात्रै कार्यालयमा प्रवेश दिइएको छ,’ उनले भने, ‘सरकारी कार्यालयमा सेवा लिन आउनेका लागि सरकारी कार्यालयमै खोप लगाउने व्यवस्था गर्न लागिएको हो ।’

खुला सिमाना हुँदै भारतबाट आवतजावत गर्नेको केही नाकामा मात्रै स्वास्थ्य परीक्षण भइरहेको छ । पर्साको वीरगन्ज, रौतहटको गौर, महोत्तरीको भिठामोड र सिरहाको माडरमा हेल्थ डेस्क स्थापना गरी भारतबाट नेपाल प्रवेश गर्नेको एन्टिजेन परीक्षण भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख विजय झाले जानकारी दिए । नेपाल भित्रिनेमा संक्रमण पुष्टि भए नेपालीलाई होम आइसोलेसनमा बस्न लगाउने र भारतीय भए उतै फर्काउने गरिएको उनको भनाइ छ । प्रदेशका बाँकी ४ जिल्लास्थित नाकामा भने परीक्षणको व्यवस्था छैन ।

प्रदेशभर हाल दिनमा ६ सयभन्दा धेरै व्यक्तिको पीसीआर परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवण मिश्रले बताए । ‘प्रदेश प्रयोगशालामा २ सय र जिल्लाहरूबाट दैनिक ५०/६० वटासम्म नमुना आइरहेको छ,’ निर्देशक मिश्रले भने, ‘स्वास्थ्यमा समस्या देखिएर आफैं परीक्षण गराउन आएकामध्ये संक्रमित हुनेहरूको संख्या अधिक छ । कोरोना पुष्टि भएपछि अधिकांश संक्रमित होम आइसोलेसनमा छन् ।’

कोरोनाविरुद्धको खोप अभियान, स्वास्थ्य परीक्षण, भारतीय सीमामा हेल्थ डेस्क सञ्चालन गर्न स्थानीय तहलाई प्रदेश सरकारले पत्राचार गरेको छ । तर, अधिकांश स्थानीय तहले भारतीय सिमानामा हेल्थ डेस्क स्थापना र स्वास्थ्य परीक्षण गर्ने कार्य थालेका छैनन् । स्थानीय तहले स्वास्थ्य संस्थामार्फत खोप अभियान मात्रै सञ्चालन गर्दै आएका छन् ।

एकै दिन ४५ जनामा संक्रमण

वीरगन्ज नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेमध्ये एकै दिन ४५ जनामा संक्रमण पुष्टि भएको छ । सीमास्थित हेल्थ डेस्क प्रमुख डा. अनिशा महतोका अनुसार बुधबार ४ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको छ । संक्रमित अधिकांश भारतीय नागरिक हुन् । वीरगन्ज, नारायणगढ, काठमाडौं लगायत सहरमा मजदुरी गर्न आउने, भारतस्थित माइती गएर फर्किने तथा नेपालस्थित आफन्तको घरमा पाहुना लाग्न आएकाहरू थिए । उनीहरूलाई भारत नै फर्काइएको डा. महतोले बताइन् ।

पुस ८ देखि दैनिक १/२ जनामा संक्रमित पुष्टी हुन थालेकोमा पुस २० देखि यो संख्या १० भन्दा बढी हुन थालेको थियो । सीमास्थित हेल्थ डेस्कमा पुसमा मात्रै १ सय ५६ जनामा संक्रमण पुष्टी भएको डा. महतोले जानकारी दिइन् । माघ लागेपछि संक्रमित बढी फेला पर्न थालेका छन् । बिहीबार अपराह्नसम्म २ सय ३९ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पाइएको छ । ‘भारतमा समुदाय स्तरमै संक्रमण विस्तार भइसकेको छ,’ उनले भनिन्, ‘अब नेपालमा पनि त्यस्तै अवस्था हुन सक्छ, सक्दो सावधानी अपनाउनु नै बेस हुन्छ ।’

यता, नारायणी अस्पतालमा दैनिक भइरहेको परीक्षणका आधारमा हेर्दा ५० प्रतिशतभन्दा धेरैमा संक्रमण पाइएको अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताए । उनका अनुसार बुधबार ९४ नमुनाको पीसीआर परीक्षण गर्दा ५५ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । तीमध्ये ३४ जना पर्साका छन् ।

प्रकाशित : माघ ७, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्

चिसोले हिमाली बस्ती सुनसान

‘भेडाबाख्रालाई चरन पनि बेंसीतिर पाइने भएकाले बर्सेनि जाडोमा बेंसी झर्ने गर्छौं’
तुलाराम पाण्डे

कालीकोट — जाडो बढ्दै गएपछि नरहरिनाथ–८ लालुका नमराज विष्ट अघिल्लो बुधबार बस्तुभाउ र लालाबालासहित औल (खुलालु) झरे । उनी वर्षामा लेकाली बस्तीमा लगाइएका मकै, आलु कुर्न र बस्तुभाउ चराउन जेठमा लेकको बस्ती उक्लिएका थिए । खाडाचक्र–३ ताडीका पुलाचन्द्र पाण्डे पनि एक साताअघि औंलको बस्ती सियाला झरेका छन् ।

ताडी सदरमुकाम मान्म बजारको आसपासमा पर्छ भने सियाला कर्णाली नदीको छेउतिर छ । ‘हिउँद लाग्यो, जाडोबाट बच्न औल झरे,’ उनले भने, ‘भेडाबाख्रालाई चरन पनि बेंसीतिर पाइने भएकाले बर्सेनि जाडोमा बेंसी झर्ने गर्छौं ।’ नमराज र र पुलाचन्द्र मात्र होइन, यहाँका अधिकांश गाउँबस्तीका बासिन्दाहरू गर्मीमा लेक र जाडोमा औल (मौसमी बसाइँसराइ गर्ने बस्तीमा) बसाइँसराइ गर्छन् । गाउँका मूल घरमा चैत, वैशाख, असोज र कात्तिक गरी ४ महिना बस्ने स्थानीयले जेठ, असार, साउन र भदौ लेकका खर्कमा बिताउने गर्छन् । जाडो सिजनका मंसिर, पुस, माघ र फागुन गरी चार महिना औल (बेंसी) का गोठ खर्कमा बस्ने गर्छन् ।

जाडो बढेसँगै कालीकोटका लेकाली बस्तीका बासिन्दा भेडा, बाख्रासहित औल झरेका हुन् । अधिकांश पुरुष व्यापार, ज्यालामजदुरीका लागि जिल्ला छाडेर सहर र भारत जान थालेका छन् । ‘कोरोनाले यस वर्ष पोहोर/परार सालभन्दा कमै छ,’ खाडाचक्र नगरप्रमुख जसीप्रसाद पाण्डेले भने, ‘पशुचौपाया धेरै हुनेले लेक औल गर्ने र नहुनेले ज्याला मजदुरीका लागि कालापहाड (भारत) पस्ने चलन छ ।’ खाडाचक्रको ताडीबाट सियाला, बदालकोटबाट रेगिंल, लालुबाट खुलालु, स्युना बड्डालाबाट सान्नीगाड, फुकोटबाट भात्तडीलगायत औलका बस्तीमा स्थानीय झर्ने गरेका छन् । ३ महिना हिउँ जम्ने फोइमहादेव, राचुली, रतडा, चिल्खाया, रुरुलगायतका गाउँका अधिकांश भेडाबाख्रा पालक कृषकहरू लुकालमा सामान बोकेर औल झरेका छन् ।

अन्य गाउँमा पनि हिउँदको जाडो छल्न कृषकहरू माथिल्लो बस्तीबाट तिला र कर्णाली नदी छेउछाउका बस्तीमा झर्ने गरेका छन् । कालीकोटको हावापानी विविध खालको भएकाले हिउँदमा औल र वर्षामा लेकका बस्तीमा बसोबास हुने गरेको कृषिविज्ञ पर्शुराम काफ्लेले बताए । उनले पशुपालक कृषकहरू सबै औलका बस्तीमा सरिसकेको बताए । ‘सडक नहुँदासम्म त अधिकांश भेडाबाख्रापालक कृषकहरू नुन, तेल, चामल ल्याउन हिउँद सिजनमा सुर्खेत, कैलालीको चिसापानी जान्थे,’ उनले भने ‘सडक पुगेपछि जिल्ला बाहिरबाट भेडाबाख्रामा नुन र चामल ल्याउन छुटेको छ ।’ उनीहरू फागुनसम्म जाडो कटाएर चैतमा आआफ्नो थालथलो पुग्ने गर्छन् ।

भेडाबाखा र घोडासँगै स्कुले बालबालिका पनि सँगै आउने गरेका छन् । बालबालिका पनि औंल झरेपछि यस वर्ष पढाइ प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेश देवकोटाले बताए । उनका अनुसार ३ ठाउँमा बस्ती हुँदा बालबालिकाको शिक्षा, खोप, पोषण, सामाजिक सुरक्षालगायत काममा पनि असर हुने गरेको छ ।

प्रकाशित : माघ ७, २०७८ १२:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×