४ दिनदेखि शीतलहर, मारमा विपन्न वर्ग- मधेस - कान्तिपुर समाचार

४ दिनदेखि शीतलहर, मारमा विपन्न वर्ग

शरीर ढाक्ने न्यानो कपडा र ओढ्ने–ओछ्याउने नहुँदा परालको भरमा जाडो छल्नुपर्ने बाध्यता
अजित तिवारी, ओमप्रकाश ठाकुर

जनकपुर, सर्लाही — करिब सातायता घाम नलाग्ने र बिहानैदेखि चल्ने शीतलहरले मधेस प्रदेशको जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र निरन्तर चलिरहेको सिरेटोका कारण जाडो बढ्दा स्थानीय दैनिक जीवनयापन गर्नै समस्यामा परेका हुन् ।

माघको सुरुदेखि नै तापक्रम लगातार ओरोलो लाग्दा अत्याधिक चिसो महसुस भइरहेको हो । बढ्दो शीतलहरले सहरी क्षेत्रमा मानिसको चहलपहल पातलिएको छ । बजार, पसल, व्यवसाय पनि कमै मात्र खुलेका छन् ।

शीतलहर बढेपछि बजारमा दाउरा बालेर आगो ताप्ने क्रम पनि बढेको छ । बुधबार बिहान जनकपुरको तापक्रम ११ डिग्री सेल्सियस थियो । दिउँसो तापक्रम बढेर २१ डिग्री सेल्सियस पुगे पनि ठिहिर्‍याउने क्रम उस्तै छ । प्रदेशको अर्को ठूलो सहर वीरगन्जको तापक्रम पनि घट्दो छ । बुधबार बिहान वीरगन्जको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बाराको कलैयाको तापक्रम पनि वीरगन्जजस्तै छ । बर्दिवासको तापक्रम बुधबार न्यूनतम ११ र अधिकतम २१ डिग्री सेल्सियस मापन गरिएको छ । लहानको तापक्रम पनि घट्दो छ । बुधबार लहानको तापक्रम न्यूनतम ११ र अधिकतम २१ डिग्री सेल्सियस मापन गरिएको छ । राजविराजमा पनि तापक्रम कम र शीतलहर बढ्दो छ । घाम नलाग्दा शीतलहरको प्रभाव बढी परेको हो । बाक्लो हुस्सु र शीतलहरकै कारण ‘भिजिबलिटी’ कम हुँदा प्रदेशका तीनवटै विमानस्थल जनकपुर, सिमरा र राजविराजबाट हुने नियमित हवाई सेवा पनि प्रभावित बनेको छ ।

लुगलुग काम्ने चिसोले सर्लाहीको जनजीवन प्रभावित बनेको छ । यहाँ ४ दिनयता घाम लागेको छैन । सडक र बजारमा चहलपहल घटेको छ । चिसोबाट अति विपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबैभन्दा बढी प्रभावित भइरहेका छन् । मजदुरहरू ज्यालादारीमा फर्किन पाएका छैनन् ।

अत्याधिक चिसोले काममा जान नपाउँदा बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन नसकिएको ईश्वरपुर नगरपालिका–२ राइटरखोरका स्थानीय जनक माझीले बताए । उनले शरीर ढाक्ने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा परालको भरमा जाडो झेलिरहेको गुनासो पोखे । ‘अत्याधिकच सिोले घरबाट बाहिर काममा जान पाएका छैनौं । काममा नगएका कारण आम्दानी गुम्दा छोराछोरीलाई पोसिलो खानेकुरा पनि दिन सकिएको छैन,’ उनले भने, ‘घरमा जे छ, त्यही खाएर बसिरहेका छौं । हाम्रा लागि अहिले आगो नै सहारा बनेको छ ।’

सिरहाको गौतारी मुसहर बस्तीमा शीतलहरबाट आगो ताप्दै स्थानीय । तस्बिर : भरत जर्घा मगर/कान्तिपुर

विपन्न परिवार जाडो छल्न अधिकांश मसय आगो तापेर बसिरहेका छन् । कतिपय पराल र पातलो ओढ्नेकै भरमा शीतलहर झेलिरहेका छन् । अति विपन्न, मुसहर तथा डोम समुदायले जाडो छल्न जुटको बोरा जोडेर भित्र पराल हाली सिरक तथा डसना बनाएर गुजारा गरिरहेको बताउँछन् । तर ४ दिनदेखि घाम नलागेकाले पराल सुकाउन समेत नसकिएको स्थानीय दुखिया माझीले बताइन् । उनले घाममा पराल सुकाएर लगाएको बिस्तरामा जाडो कम हुने बताइन् । ‘चिसोले ओछ्यानमा हालेको पराल पनि चिसिएको छ, घाम नलागेकाले सुकाउन सकिएको छैन,’ उनले भनिन्, ‘दिउँसोभन्दा राति धेरै चिसो महसुस हुन्छ ।’

सर्लाहीमा शीतलहरबाट प्रभावितहरूका लागि हरिवन नगरपालिकाबाहेक अन्य १९ स्थानीय तहले कुनै प्रबन्ध मिलाएका छैनन् । हरिवन नगरपालिकाले भने बस्ती–बस्तीमा दाउरा उपलब्ध गराएको छ । स्थानीय अगुवा पाचुलाल माझीका अनुसार चुनावमा भोट बैंकको रूपमा मात्र प्रयोग हुँदै आएको मुसहर तथा विपन्न परिवारको समस्या स्थानीय सरकारको प्राथमिकतामै परेको छैन । ‘मुसहर तथा विपन्न परिवार स्थानीय सरकारको प्रथमिकतामै परेको छैन । आफूहरू जहिल्यै भोट बैंकको रूपमा मात्र प्रयोग हुँदै आएका छौं,’ उनले भने, ‘चिसोमा हाम्रा नागरिकको अवस्था कस्तो छ भनेर कोही बुझ्न पनि आउँदैनन् ।’

निरन्तरको हावा र चिसो स्याँठले काम विशेषले घरबाहिर निस्कनुपर्नेहरू पनि प्रभावित बनेका छन् । चिसो स्याँठ र बाक्लो कुहिरोका कारण प्रदेशका सबैजसो अस्पतालमा चिसोका बिरामी बढेका छन् । कतिपय बिरामी कोरोना संक्रमणको डरले स्वास्थ्य संस्थामा जान मानिरहेका छैनन् । चिसोको असर पशुचौपाया तथा हिउँदे बालीमा समेत परेको छ ।

जाडोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खानेकुरा खान र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन स्वास्थ्य कार्यालयले अनुरोध गरिरहेका छन् । बाक्लो हुस्सुले भिजिबिलिटी कम भएपछि पूर्व–पश्चिम राजमार्गसहित भित्री सडकमा हरेका सवारीसाधन बत्ती बालेर गुडिरहेका छन् । ट्राफिक प्रहरीले पनि यस्तो मौसममा सावधानी अपनाएर सवारीसाधन गुडाउन अनुरोध गरिरहेको छ ।

प्रकाशित : माघ ६, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

राउटेका बुहारीलाई नागरिकताको पिरलो

डीआर पन्त

जोगबुढा, डडेलधुरा — उनको समुदायका धेरैले ३/३ महिनामा सामाजिक सुरक्षाभत्ता थाप्छन् । तर राजमती राउटेले भने विवाह भएर आएको ४ वर्ष बितिसक्दा पनि सामाजिक सुरक्षाभत्ता पाउन सकेकी छैनन् ।सामाजिक सुरक्षाभत्ता मात्र होइन उनले सरकारी तहबाट पाउने अधिकांश सुविधाबाट पनि वञ्चित हुनुपरेको छ । कारण हो, उनको नागरिकता नहुनु ।

दुई वर्षअघि विवाह भएर आएकी सत्याले पनि अहिलेसम्म नागरिकता पाउन नसक्दा विभिन्न सरकारी सेवावाट वञ्चित हुनुपरेको छ । विभिन्न खाले सीपमूलक तालिम, स्वास्थ्य सेवाका विभिन्न कार्यक्रम र स्थानीय तहबाट सञ्चालन हुने महिलासम्बन्धी कार्यक्रमसँगै गैरसरकारी संस्थाले चलाउने कार्यक्रममा पनि नागरिकता नभएका कारण उनले सहभागी हुन पाएकी छैनन् ।

नागरिकता नभएका कारण राउटे समुदायमा समस्यामा परेका महिला यी दुई मात्रै होइनन् । डडेलधुराको परशुराम नगरपालिकामा राउटेका दुई बस्ती छन् । यिनमा अधिकांश राउटे महिला नागरिकताविहीन छन् । यसले उनीहरूलाई धेरैजसो अवसरवाट वञ्चित पारेको छ । सरकारले लोपोन्मुख जातिको सूचीमा राखेका राउटे समुदायका अधिकांश महिलाहरू परम्परागत रूपमा भारतको उत्तराखण्ड राज्यका विभिन्न क्षेत्रबाट विवाह भएर आएकै कारण उनीहरूले नागरिकता पाउन नसकेका हुन् ।

‘राउटे समुदायका पुरुषहरूले आफ्नो समुदायबाहेक अन्यत्रबाट विवाह गर्दैनन्,’ स्थानीय परशुराम रेडियोका प्रमुख पदम जोराले भने, ‘पहिलेदेखि नै भारतको उत्तराखण्ड राज्यको बालुवाकोट, जोलजिवी, धारचुलालगायत क्षेत्रमा रहेका राउटे समुदायबाट उनीहरूको विवाह हुने भएकाले नागरिकताको समस्या देखिएको हो ।’

परशुराम नगरपालिकाका राउटे बस्तीहरू वडा १२ को आमपानी र वडा ५ को रज्यौडामा नागरिकता नपाएका यस्ता धेरै महिला रहेको पनि जोराले बताए ।

विदेशी महिलाले विवाह गरेर ल्याएका राउटेहरू आफैं नागरिकताको खोजी गरिदिँदैनन् । श्रीमान्ले प्रक्रिया झन्झटिलो भन्दै ध्यान नदिँदा महिलाहरू नागरिकताबाट वञ्चित हुनुपरेको हो । ‘उनीहरूबाट जन्मेका छोराछोरीले सामाजिक भत्ता पाउँछन्, नागरिकता पाउँछन् तर उनीहरूको भने नागरिकता छैन,’ स्थानीय पदम जोशीले भने, ‘स्थानीय तहको सिफारिसपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन सक्ने भए पनि वडा कार्यालयले ध्यान दिँदैनन्, जसलाई चाहिने हो उनीहरू पनि अघि सर्दैनन् । त्यसैले नबनेको हो ।’

डडेलधुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले भने स्थानीय तहले सिफारीस गरी पठाएपछि सहज रूपमा नागरिकता पाउन सक्ने अवस्था रहेको बताउँछन् । ‘वडाको सिफारिस, विवाह दर्ता प्रमाणपत्र र श्रीमान्ले आफ्नो नागरिकतासहित सनाखत गर्न आए जुनसुकै समयमा पनि नागरिकता दिन कुनै समस्या छैन,’ उनले भने । भारतको नागरिकता त्याग गरेको प्रमाणका रूपमा त्यागपत्र पठाएको प्रतिलिपि भए पनि नागरिकता दिनमा कुनै समस्या नहुने उनले बताए । ‘कुरा नबुझेर नागरिकता लिन नआएका हुन्,’ उनले भने, ‘अब वडा र इलाका प्रशासन कार्यालयलाई निर्देशन दिएर नागरिकता दिने व्यवस्था मिलाउँछौं ।’

वैवाहिक अंगीकृत नागरिकताका हकमा प्रजिअले नै नागरिकता दिन सक्ने भएकाले यो ठूलो समस्या नभएको पनि उनले बताए । ‘तराईका कैलाली र कञ्चनपुरमा पनि दैनिक ५/७ जनाले यसरी वैवाहिक अंगीकृत नागरिकता लिइरहेका हुन्छन्,’ उनले भने । परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले पनि जानकारीको अभावमा यस्तो भएको हुन सक्ने बताए ।

‘राउटे समुदायलाई वडा प्रतिनिधिहरूले कुरा बुझाउन नसकेका कारण यस्तो भएको हुन सक्छ,’ उनले भने, ‘नागरिकता नपाएका कति महिला छन् यकिन तथ्यांक लिएर अविलम्ब पाउने व्यवस्था मिलाउन वडाहरूलाई निर्देशन गइसकेको छ ।’

प्रकाशित : माघ ६, २०७८ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×