राजस्व असुली लक्ष्य पूरा भएन

नारायणी अस्पतालमा ५३ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण 
शंकर आचार्य

पर्सा — सर्वाधिक राजस्व संकलन गर्ने वीरगन्जस्थित २ भन्सार कार्यालय पुस महिनामा भने मासिक राजस्व असुली लक्ष्य भेट्टाउन असफल भएका छन् । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार यो लक्ष्य भेट्टाउन असफल भएका हुन् ।

राजस्व असुली लक्ष्य पूरा भएन

पुस महिनामा १७ अर्ब ६० करोड ९० लाख ९ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको वीरगन्ज भन्सार कार्यालयले १७ अर्ब २० करोड ९१ लाख ३४ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सक्यो जुन लक्ष्यको ९८ प्रतिशत हो ।

यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले पुस महिनामा ४ अर्ब ४५ करोड ६६ लाख ४८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकामा ४ अर्ब २४ करोड ८६ लाख १३ हजार रुपैयाँ मात्र राजस्व असुल गरेको छ जुन लक्ष्यको ९५ दशमलव ३३ प्रतिशत हो ।

दुवै भन्सारले चालु आवमा पुस महिनासम्ममा पाएको राजस्व असुली लक्ष्य भने भेट्टाएका छन् । वीरगन्ज भन्सार कार्यालयले चालु आवमा पुस महिनासम्ममा १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकामा १ खर्ब ५९ करोड ८३ लाख ३५ हजार रुपैयाँ असुली गरेको छ जुन लक्ष्यको १ सय ६ प्रतिशत हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवमा पुस महिनासम्ममा २५ अर्ब १९ करोड ६५ लाख ७० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकामा २५ अर्ब ४२ करोड ५३ लाख ९ हजार रुपैयाँ राजस्व असुली गरेको छ जुन लक्ष्यको १ सय दशमलव ९१ प्रतिशत हो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले सामान्यतया पुस र माघ महिनामा आयात–निर्यात कारोबार नै घट्ने प्रवृत्ति रहेकाले बर्सेनि यी दुई महिनामा राजस्व असुली लक्ष्य भेट्टाउन समस्या हुने गरेको बताए । ‘यी दुई महिनामा बर्सेनि राजस्व असुली लक्ष्य भेट्टाउन समस्या हुन्छ,’ उनले भने, ‘चाडपर्व सक्किएका बेला र बजार बुम हुने अन्य कारण पनि यी महिनामा हुँदैनन् ।’

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले पनि पुस र माघमा बर्सेनि यसरी मासिक राजस्व असुली लक्ष्य भेट्टाउन सकस हुने गरेको बताए । यी दुई महिनामा आयात नै कम हुने र चीनमा १ महिना लामो नयाँ वर्षको बिदा पनि पर्ने गरेकाले राजस्व असुलीमा त्यसको प्रभाव पर्ने गरेको उनले बताए ।

यसबाहेक सुक्खा बन्दरगाहबाट खाली कन्टेनर कोलकाता र विशाखापटनम बन्दरगाह लग्न भइरहेको ढिलाइले पनि आयात–निर्यात कारोबार केही प्रभावित भई राजस्व असुलीमा त्यसको प्रभाव पर्न गएको उनले बताए । चिनियाँ नयाँ वर्ष माघभरि चल्ने भएकाले माघमा त्यस्तै असर देखिने उनले बताए ।

प्रकाशित : माघ ५, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?