कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विपन्नले पाए पक्की घर

शिव पुरी

रौतहट — फुसको घरमा वर्षा र हिउँद कटाएका मौलापुर नगरपालिका–१ मर्यादपुरका ४५ वर्षीय जगदेव राम पक्की घरमा बस्न पाएपछि दंग छन् । नगरपालिकाले मर्यादपुर एकीकृत दलित बस्तीमा २५ वटा पक्की घर बनाइदिएको छ । राम मर्यादपुरका पुराना बासिन्दा हुन् ।

विपन्नले पाए पक्की घर

विपन्नताका कारण फुसको घरमा जीवन बिताउँदै आएका उनीलगायत बस्तीका दलित परिवार अब पक्की घरमा बस्न थाले । ‘निकै खुसी लागेको छ । जीवनमा पक्की घरमा बस्न पाइन्छ भनेर कल्पनासमेत गरेका थिएनौं,’ उनले भने, ‘सोच्दै नसोचेको खुसी पाएँ ।’ शनिबार जगदेव पक्की घरमा सरेका हुन् ।

बस्तीका झन्डै १ सय ७० परिवार पक्की घरमा बस्न पाएका छन् । नगरपालिकाले दुईकोठे पक्की घर, धारा, ग्यास चुल्हो र विद्युत्का समान जडान गरिदिएको छ । बस्तीको चारैतिर बलियो ग्रिलसहितको पर्खाल लगाइएको छ । मुख्य प्रवेशद्वारमा फलामे आधुनिक गेट निर्माण गरिएको छ । एउटा घर निर्माण गर्न नगरपालिकाले ७ लाख ५० हजार खर्चेको नगरप्रमुख रिनादेवी साहले बताइन् । ‘राम्रो बास नभएर गरिबहरू कष्ट भोगिरहेका थिए । वर्षा र हिउँदमा हेर्नै नसक्ने अवस्था थियो,’ उनले भनिन्, ‘कम्तीमा गरिबले राम्ररी सुत्न पाऊन् । राम्रो बासको आस गरेका थिए ।’

नगर गौरव आयोजनाअन्तर्गत नगरपालिकाले मर्यादपुर, चिरचिरिया, महम्मदपुर, पतौरा, मौलापुर, पथराबुधराम र नन्कार टोलमा गरिब विपन्न आवास, एकीकृत बस्ती आवास र डोमबस्ती आवास गरी ७ सय ९६ वटा पक्की घर निर्माण गरेको नगरप्रमुख साहले जानकारी दिइन् । प्रमुख साहका अनुसार उक्त घर निर्माण गर्न नगरपालिकाले ७ करोड १२ लाख ९० हजार खर्चेको छ । फुसको झुपडीमा दिन बिताउँदै आएका दलित बस्तीका स्थानीय अहिले पक्की घरमा सरेपछि मख्ख छन् ।

उक्त बस्ती शनिबार एमाले नेता प्रदीप ज्ञावलीले हस्तान्तरण गरे । दलितका लागि जमिन किनेर नगरपालिकाले सुविधासम्पन्न पक्की घर निर्माण गरेको हो । माघे संक्रान्तिको अवसर पारेर दलितलाई स्वामित्व हस्तान्तरण गरेको एमाले नेता प्रभु साहले बताए । ‘दलित बस्ती निर्माण गरेर नगरपालिकाले प्रशंसनीय एवं प्रेरणादायक अनुकरणीय कार्य गरेको छ,’ उनले भने, ‘मानवीय सेवा भनेकै यही हो । अब नगरक्षेत्रमा कुनै पनि दलित वा विपन्न परिवारले बासका लागि कष्ट भोग्नु पर्दैन ।’ मौलापुर नेता साहकै निर्वाचन क्षेत्र पनि हो । साहले त्यस क्षेत्रका दलितलाई प्राथमिकतामा राखेको सुनाउँदै आएका छन् ।

पक्की घरमा बस्न पाएपछि आफूहरूको आत्मसम्मान बढेको स्थानीय गुल्टीदेवी रामले बताइन् । ‘घर, बास नहुँदा सधैं पीडा बोध हुन्थ्यो,’ उनले भनिन्, ‘अब हामीसित पनि पक्की घर छ । बासको चिन्ता छैन । अब पक्की घरको मालिक भयौं ।’ नगरपालिकाले एक परिवारका लागि ७ देखि ९ धुर जम्म खरिद गरी पक्की घर बनाएको थियो । बस्ती हस्तान्तरण कार्यक्रमका लागि बस्तीका अधिकाशले आँगनमा दियो बालेर अतिथिको सत्कार गरेका थिए । उनीहरूले आँगनमा थरीथरीका चित्रसमेत कोरेका थिए । त्यस क्षेत्रका अधिकांश दलितलाई व्यवस्थित बासको व्यवस्था गर्ने नगरपालिकाले योजना अघि सारेको छ ।

प्रकाशित : माघ ५, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?